६ मंसिर २०८३, शनिबार | Sun Nov 22 2026

‘ट्रम्प–क्लास’ युद्धपोतका कारण अमेरिकी नौसेनाको बजेट अर्बौँ डलरले बढ्यो, इरान युद्धले क्षमतामा चरम दबाब



नयाँ ‘ट्रम्प–क्लास’ युद्धपोत (ब्याटलसिप) निर्माण गर्ने निर्णयका कारण अमेरिकी नौसेनाको नयाँ बेडा विस्तार योजनाको लागत अर्बौँ डलरले बढेको अमेरिकी कंग्रेसमा पेस गरिएको एक प्रतिवेदनले देखाएको छ। यता, कार्यवाहक नौसेना सचिव हुङ काओले इरानसँगको युद्धका कारण अमेरिकी नौसेनाको क्षमतामा अत्यधिक दबाब परेको स्वीकार गरेका छन्।

कंग्रेसनल बजेट अफिस (सिबिओ) ले नौसेनाको सन् २०२७ को जहाज निर्माण योजनाबारे गरेको विश्लेषणअनुसार जटिल डिजाइन र विगतमा गरिएका अव्यावहारिक कम लागत अनुमानका कारण आगामी ३० वर्षमा जहाज निर्माणको औसत वार्षिक खर्च ५४ अर्ब डलर पुग्ने देखिएको छ। यो नौसेनाको सुरुवाती अनुमानभन्दा करिब १८ प्रतिशतले बढी हो।

‘ट्रम्प–क्लास’ युद्धपोतमा कंग्रेसको असहमति

आगामी ३० वर्षमा आफ्नो लडाकु जहाजको संख्या २८६ बाट बढाएर ३८१ पुर्‍याउने लक्ष्य राखेको नौसेनाले १५ वटा ठूला र भारी हतियारयुक्त ‘ट्रम्प–क्लास’ युद्धपोत खरिद गर्ने योजना बनाएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले विगतका कुनै पनि युद्धपोतभन्दा १०० गुणा शक्तिशाली हुने दाबी गरेका यी जहाजहरूले शक्तिलाई थोरै जहाजमा केन्द्रित गर्ने र लागत अस्वाभाविक रूपमा बढाउने सिबिओको ठहर छ। यसै साता सिनेटको विनियोजन समितिले चालु आर्थिक वर्षमा यस्ता युद्धपोतको अग्रिम खरिदका लागि नौसेनाले मागेको १ अर्ब डलर बजेट कटौती गरी शून्यमा झार्ने प्रस्ताव गरेको छ।

इरान युद्धले नौसेना ‘अत्यधिक तन्कियो’

बुधबार सिनेटको सुनुवाइका क्रममा कार्यवाहक नौसेना सचिव काओले इरान युद्धले नौसेनामाथि ठूलो दबाब सिर्जना गरेको बताए। सुनुवाइमा डेमोक्रेटिक सिनेटर रिचर्ड ब्लुमेन्थलले युद्धका कारण लागत आकाशिएको, मानवीय क्षति भएको, सहयोगी राष्ट्रहरूसँगको सम्बन्ध बिग्रिएको र नौसेनाको अवस्था खस्किएको भन्दै आलोचना गरे। त्यस्तै, सिनेटर एलिसा स्लटकिनले इरान द्वन्द्वमा अमेरिकाको करिब २६० अर्ब डलर खर्च भइसके पनि समुद्री मार्गको स्वतन्त्रता अझै सुरक्षित हुन नसकेको बताइन्।

गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेयता विश्वकै महत्वपूर्ण समुद्री मार्ग ‘स्ट्रेट अफ हर्मुज’ भएर हुने पानीजहाजको आवागमन युद्धअघिको तुलनामा करिब ६५ प्रतिशतले घटेको छ। एक वर्षअघि उक्त मार्ग पार गर्न व्यावसायिक जहाजको बिमा शुल्क ५४ हजार डलर रहेकोमा अहिले बढेर प्रतिपटक ६ करोड ४० लाख डलर पुगेको काओले जानकारी दिए। यसको प्रत्यक्ष असर विश्वभर इन्धन, रासायनिक मल र खाद्यान्नको मूल्यवृद्धिमा परेको छ।

प्रशान्त क्षेत्र तीन महिना विमानवाहक पोतविहीन

मध्यपूर्वमा खटिएको विमानवाहक युद्धपोत ‘युएसएस जर्ज वासिङ्टन’ बुधबार फर्किएसँगै गत अगस्टदेखि नोभेम्बरसम्म करिब तीन महिना प्रशान्त महासागर क्षेत्रमा अमेरिकाको एउटा पनि विमानवाहक पोत नभएको दुर्लभ अवस्थाको अन्त्य भएको छ। बितेका दुई दशकमा यस्तो अवस्था दोस्रो पटक आएको हो।

युद्ध सुरु भएयता अमेरिकी युद्धपोतहरू सामान्य ७ महिनाको सट्टा १० देखि ११ महिनासम्म समुद्रमै खटिन बाध्य छन्। ‘युएसएस अब्राहम लिङ्कन’ लगातार २६५ दिनसम्म कुनै बन्दरगाह नफर्की समुद्रमै रहेको थियो। लामो खटाइका कारण जहाजहरूको मर्मतसम्भार पछि सारिएको छ भने नाविकहरूमा मानसिक स्वास्थ्य र खानपानको समस्या देखिएको विषय सिनेटमा उठेको छ।

चीनको तीव्र गति र रणनीतिक चुनौती

रोयल युनाइटेड सर्भिसेस इन्स्टिच्युटका प्राध्यापक केभिन रोल्यान्ड्सका अनुसार अमेरिकी नौसेनाको यो अत्यधिक खटाइको दीर्घकालीन असर आगामी दिनमा मर्मतसम्भार र जनशक्तिमा देखिनेछ। इन्डो–प्यासिफिक, अकुस (AUKUS), नेटो र मध्यपूर्वको दोहोरो–तेहोरो जिम्मेवारीका कारण अमेरिकासँग अहिले अतिरिक्त क्षमता शून्यमा झरेको उनले बताए।

अर्कोतर्फ, जहाज निर्माण क्षमतामा चीन अमेरिकालाई पछि पार्दै तीव्र गतिमा अघि बढिरहेको छ। अमेरिकी नौसेनाकै गुप्तचर अनुमानअनुसार चीनको समग्र जहाज निर्माण क्षमता अमेरिकाको तुलनामा करिब २३२ गुणा बढी छ। सन् २०२४ र २०२५ मा चिनियाँ सिपयार्डहरूले अमेरिकी सिपयार्डको तुलनामा दोब्बरभन्दा बढी तौल क्षमताका युद्धपोतहरू निर्माण गरेका छन्।

प्रकाशित मिति : ६ मंसिर २०८३, शनिबार  ९ : ०८ बजे