७ मंसिर २०८३, आइतबार | Sun Nov 22 2026

प्रधानमन्त्री बालेन्द्र शाह दुई दिने भ्रमणका लागि भारतमा, भारतीय विदेशमन्त्री जयशंकरसँग भेटवार्ता



भारतको दुई दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह र भारतका विदेशमन्त्री एस. जयशंकरबीच आइतबार साँझ नयाँ दिल्लीस्थित होटल ताज महलमा शिष्टाचार भेटवार्ता भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा आइतबार नयाँ दिल्ली पुगेका प्रधानमन्त्री शाहले भ्रमणको पहिलो दिनमै उच्चस्तरीय कूटनीतिक भेटवार्ता तथा आर्थिक छलफललाई तीव्रता दिएका हुन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार विदेशमन्त्री जयशंकरसँगको भेटवार्तामा नेपाल–भारत सम्बन्धका विविध आयामहरूमाथि विस्तृत छलफल भएको छ । विशेषगरी दुई देशबीचको कनेक्टिभिटी, व्यापार, पारवहन तथा वाणिज्य, ऊर्जा सहकार्य, संस्कृति, शिक्षा र जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा दुवै नेताबीच सकारात्मक कुराकानी भएको छ । भेटपछि सामाजिक सञ्जाल ‘एक्स’ मार्फत प्रतिक्रिया दिँदै विदेशमन्त्री जयशंकरले भारतले नेपालसँगको विशेष मित्रतालाई उच्च महत्त्व दिने उल्लेख गरेका छन् । साथै, उनले सोमबार हुने प्रधानमन्त्री शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीचको भेटघाट तथा अन्य कार्यक्रमहरूको प्रतीक्षामा रहेको समेत बताएका छन् ।

भ्रमणकै अवसरमा आइतबार साँझ होटल ताज महलमा ‘नेपाल–इन्डिया बिजनेस राउन्डटेबल’ समेत सुरु भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र भारतको कन्फेडेरेसन अफ इन्डियन इन्ड्रस्ट्री (सीआईआई) को संयुक्त आयोजनामा सुरु भएको उक्त छलफलमा द्विपक्षीय व्यापार, लगानी प्रवर्द्धन र आर्थिक साझेदारी विस्तारका विषयमा विमर्श भइरहेको छ । राउन्डटेबलमा नेपालका तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र एफएनसीसीआईका अध्यक्ष अन्जन श्रेष्ठ तथा भारतका तर्फबाट उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसाद, सीआईआई इन्टरनेसनलका सहसंयोजक एवं सन इन्टरनेसनलका अध्यक्ष विक्रमजित सिंह साहनीलगायतका उच्च अधिकारी तथा उद्योगीहरूको सहभागिता रहेको छ ।

भ्रमणको दोस्रो दिन सोमबार प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रोपदी मुर्मू र प्रधानमन्त्री नरेन्द्र मोदीसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । सोही क्रममा प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीले नयाँ दिल्लीबाटै डिजिटल माध्यममार्फत ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको संयुक्त रूपमा शिलान्यास गर्नेछन् । एसजेभीएन तल्लो अरुण पावर डेभलपमेन्ट कम्पनी (एसएलपिडिसी) का प्रमुख कार्यकारी अधिकृत पंकज चौधरीका अनुसार डिजिटल शिलालेख अनावरणको प्रत्यक्ष प्रसारण संखुवासभास्थित आयोजनास्थलमा गरिनेछ र त्यसको सम्पूर्ण तयारी पूरा भइसकेको छ ।

संखुवासभाको चिचिला गाउँपालिका र खाँदबारी नगरपालिकामा मुख्य संरचना रहने उक्त आयोजनाको अनुमानित लागत ९२ अर्ब ६७ करोड रुपैयाँ रहेको छ । निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादनपछि निस्कने पानीलाई खाँदबारी–२ चेवाबेसीमा करिब १७.३ किलोमिटर लामो सुरुङमार्फत विद्युत् गृहमा लगेर तल्लो अरुणबाट बिजुली उत्पादन गरिनेछ । २०८० जेठ १८ गते लगानी बोर्ड नेपाल र एसएलपिडिसीबीच भएको आयोजना विकास सम्झौता (पीडीए) अनुसार निर्माण, स्वामित्व, सञ्चालन र हस्तान्तरण (बुट) ढाँचामा पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ । सम्झौताअनुरूप नेपालले कुल उत्पादित विद्युत्को २१ प्रतिशत निःशुल्क प्राप्त गर्नेछ भने व्यापारिक उत्पादन सुरु भएको २५ वर्षपछि चालु हालतको आयोजना नेपाल सरकारलाई निःशुल्क हस्तान्तरण हुनेछ । आयोजनाबाट प्रत्यक्ष प्रभावित २६८ घरपरिवारमध्ये हालसम्म २५३ परिवारलाई करिब एक अर्ब रुपैयाँ मुआब्जा वितरण भइसकेको र कुल एक अर्ब ४० करोड रुपैयाँ वितरण गरिने जनाइएको छ ।

प्रधानमन्त्री शाहको नेतृत्वमा रहेको ३५ सदस्यीय नेपाली प्रतिनिधिमण्डलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, मुख्यसचिव गोविन्दबहादुर कार्की, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह तथा सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्र सहभागी छन् । त्यसैगरी परराष्ट्र सचिव अमृतबहादुर राई, उद्योग वाणिज्य तथा आपूर्ति सचिव रुद्रसिंह तामाङ, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत याङ्की उक्याब, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक मुकेश डंगोल, विभिन्न मन्त्रालयका सहसचिव तथा उपसचिवहरू, प्रधानमन्त्रीका निजी सचिवालयका अधिकारीहरू, सुरक्षाकर्मी तथा सरकारी सञ्चारमाध्यमका प्रतिनिधिहरू भ्रमण दलमा संलग्न छन् । सोमबारका औपचारिक कार्यक्रमहरू सम्पन्न गरी प्रधानमन्त्री शाह साँझ स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : ७ मंसिर २०८३, आइतबार  ९ : ३३ बजे