१३ मंसिर २०८३, शनिबार | Sat Nov 28 2026

भोटेकोशी बाढी पीडितलाई घर निर्माण गर्न ६ देखि ८ लाख रुपैयाँसम्म अनुदान दिने सरकारको तयारी



काठमाडौँ । सरकारले रसुवाको भोटेकोशीमा आएको बाढीका कारण घर तथा आवास गुमाएका पीडित परिवारलाई पुनर्निर्माणका लागि आर्थिक अनुदान उपलब्ध गराउने तयारी गरेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बिहीबार बसेको कार्यकारी समितिको बैठकले प्रभावित जिल्लाको वर्गीकरणका आधारमा अनुदान रकम तोकेको हो । निर्णयअनुसार ‘क’ वर्गका जिल्लाका पीडितले प्रतिपरिवार ८ लाख, ‘ख’ वर्गकाले ७ लाख र ‘ग’ वर्गकाले ६ लाख रुपैयाँ अनुदान पाउनेछन् ।

विपद्‍बाट पूर्ण रूपमा घर क्षति भएका परिवारलाई एकपटकका लागि यो अनुदान प्रदान गरिनेछ । अनुदान वितरणको बाटो खोल्न विद्यमान कार्यविधि संशोधन गरिने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणको उक्त बैठकमा पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, गृहमन्त्री सुधन गुरुङ, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल र स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको सहभागिता थियो ।

पूर्वाधार विकास मन्त्रालय स्रोतका अनुसार प्राधिकरणको निर्णयबमोजिमको प्रस्ताव मन्त्रिपरिषद्‍मा लैजाने तयारी पूरा भइसकेको छ । “बाढीपीडितलाई घर निर्माण गर्न रकम दिने प्रस्ताव तयार भइसकेको छ,” मन्त्रालय स्रोतले भन्यो, “मन्त्रिपरिषद्को आगामी बैठकबाट यो निर्णय पारित गर्ने तयारी छ ।”

यस निर्णयबाट रसुवा, नुवाकोट र धादिङलगायतका प्रभावित जिल्लाका बाढीपीडित लाभान्वित हुनेछन् । सरकारको योजनाअनुसार:

Bullet जग्गा हुनेका हकमा: सम्बन्धित जिल्लाभित्रै आफ्नो जग्गा भएका पीडितले सोही जग्गामा घर निर्माण गर्न अनुदान रकम प्राप्त गर्नेछन् ।

Bullet जग्गा गुमाएकाका हकमा: बाढीले घरसँगै जग्गा पनि बगाएका वा भूमिहीन बनेका पीडितलाई ‘एकीकृत आवास कार्यक्रम’मा समेटेर स्थायी बसोबासको व्यवस्था मिलाइनेछ ।

गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको थियो । बाढीबाट घरबारविहीन भई विस्थापित जीवन बिताइरहेका नागरिकलाई लक्षित गर्दै सरकारले स्थायी आवास पुनर्निर्माणको यो योजना अगाडि सारेको हो ।

प्रकाशित मिति : १३ मंसिर २०८३, शनिबार  १२ : २२ बजे