१३ मंसिर २०८३, शनिबार | Sun Nov 29 2026

एमसीए–नेपाल अन्तर्गतका आयोजनाको कार्यान्वयन अवधि एक वर्ष थप्ने सरकारको निर्णय



काठमाडौँ । सरकारले अमेरिकी अनुदानमा सञ्चालित मिलेनियम च्यालेन्ज अकाउन्ट नेपाल (एमसीए–नेपाल) अन्तर्गतका आयोजनाहरूको कार्यान्वयन अवधि एक वर्ष थप गर्ने निर्णय गरेको छ ।

केही साताअघि बसेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकार र अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को संयुक्त लगानीमा सञ्चालित आयोजनासहित अन्य विभिन्न परियोजनाको म्याद थप्ने विषयमा निर्णय गर्ने जिम्मेवारी अर्थ मन्त्रालयलाई दिएको थियो । यद्यपि, मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ताले यस विषयमा जानकारी गराएका थिएनन् ।

एक मन्त्रीका अनुसार आयोजनाको अवधि एक वर्ष थप्ने निर्णयबारे एमसीसीलाई औपचारिक जानकारी गराउने जिम्मेवारी मन्त्रिपरिषद्ले अर्थ मन्त्रालयलाई दिइसकेको छ । म्याद थप भए पनि आयोजनामा कुनै अतिरिक्त व्ययभार (थप खर्च) नलाग्ने र प्रभावकारी कार्यान्वयन अवधि पाँच वर्ष नै कायम रहने ती मन्त्रीले स्पष्ट पारेका छन् ।

यसअघि एमसीए–नेपालले आयोजनाको म्याद थप्न पहल गर्दै गत मे महिनाको मध्यतिर अर्थ मन्त्रालयमा प्रस्ताव पेस गरेको थियो । उक्त प्रस्तावमा ७४ करोड ७० लाख अमेरिकी डलर बराबरको कम्प्याक्ट सम्झौताको अवधि थप्न नेपाल सरकारका तर्फबाट एमसीसीलाई औपचारिक पत्राचार गर्न आग्रह गरिएको थियो ।

एमसीसी परियोजनाअन्तर्गत ३१५ किलोमिटर लामो विद्युत् प्रसारण लाइन निर्माण तथा पूर्व–पश्चिम महेन्द्र राजमार्गको एक खण्ड स्तरोन्नति गर्ने कार्य समावेश छन् ।

नेपाल सरकारले गरेको यो निर्णय अब आगामी डिसेम्बर ८ मा बस्ने एमसीसी बोर्ड बैठकमा पेस गरिनेछ । एमसीसीको आधिकारिक वेबसाइटका अनुसार अमेरिकी विदेशमन्त्री मार्को रुबियो अध्यक्ष रहेको एमसीसी बोर्डको आगामी बैठकले यस विषयमा आवश्यक प्रक्रिया अगाडि बढाउनेछ ।

प्रकाशित मिति : १४ मंसिर २०८३, आइतबार  १२ : ३१ बजे