११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

उच्च अदालत पाटनले दुर्गा प्रसाईंलाई ३ लाख रुपैयाँ धरौटीमा रिहा



मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनासम्बन्धी आपराधिक उपद्रवको मुद्दामा सरकारी पक्षले विश्वासयोग्य प्रमाण पेश गर्न नसकेको उच्च अदालत पाटनले ठहर गरेको छ । अदालतले सोमबार प्रसाईंलाई ३ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

उच्च अदालतका न्यायाधीश टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले दिएको आदेशमा उल्लेख छ, “प्रसाईंको उपस्थितिमा वा निर्देशनमा सो कार्य (उपद्रव) भएको भन्ने प्रमाण विश्वसनीय देखिँदैन ।”

यससँगै मुद्दाका अन्य प्रतिवादीहरू सुशील बराल, दण्डपाणी रेग्मी र तारा राजावादी भनिने सरोज गौतमलाई क्रमशः ५० हजार, १० हजार र ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिइएको छ ।

प्रसाईंले सोमबार नै धरौटी बुझाएका थिए । उनी यसअघि जिल्ला अदालत काठमाडौंबाट जेठ २९ गते पुर्पक्षका लागि थुनामा पठाइएका थिए । तर उच्च अदालतले सो आदेश बदर गर्दै उनीविरुद्ध पेश भएका प्रमाण अपर्याप्त भएको ठहर गर्दै रिहा आदेश दिएको हो ।

सरकारी वकिल कार्यालयले प्रसाईंविरुद्ध संगठित अपराध, राज्यविरुद्धको कसुर, ज्यान मार्ने उद्योग, कर्तव्य ज्यान र आपराधिक उपद्रवसम्बन्धी आरोपसहित मुद्दा दायर गरेको थियो । तर, अदालतले प्रसाईंसहित अन्य प्रतिवादीले आपराधिक समूह सञ्चालन गरेको भन्ने स्पष्ट प्रमाण नदेखिएको उल्लेख गरेको छ ।

सरकारी पक्षले ‘अनवरत तत्पर फौज’, ‘नागरिक प्रतिरक्षा बल’, ‘रोयल टाइगर फोर्स’ लगायतका समूहलाई आपराधिक समूह ठहर गर्दै अभियोग लगाएको थियो । तर अदालतले ती समूहका कार्यालयबाट केवल केही लाठी बरामद भएको आधारमा आपराधिक समूहको गठन प्रमाणित गर्न नसकिने बताएको छ ।

इजलासले प्रसाईंले व्यक्त गरेका विचार र अभिव्यक्तिलाई राष्ट्रद्रोह जस्तो गम्भीर कसुरको आधार मान्न नमिल्ने स्पष्ट पारेको छ । आदेशमा भनिएको छ, “नागरिकले व्यक्त गरेका विचार र अभिव्यक्ति मात्र गम्भीर आपराधिक मुद्दाको आधार बन्न सक्दैन ।”

चैत १५ गते संयुक्त जनआन्दोलन समितिको नेतृत्वमा तीनकुनेमा भएको प्रदर्शनमा दुर्गा प्रसाईं कमाण्डर घोषित थिए । सो दिनको प्रदर्शन हिंसात्मक बनेपछि ढुंगामुढा, आगजनी र तोडफोडका घटना भएका थिए । पत्रकार सुरेश रजकको आगलागीमा र सविन महर्जनको गोली लागेर मृत्यु भएको थियो ।

प्रसाईंसहितका विरुद्ध कर्तव्यज्यान र ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा पनि दायर भएको थियो । तर, अदालतले ती घटनामा कसले के गर्‍यो भन्ने स्पष्ट विवरण अभियोगमा नआएको भन्दै ती मुद्दा पनि कमजोर ठहर गरेको छ ।

प्रदर्शनका क्रममा प्रसाईंले प्रहरीमाथि गाडी चलाएको आरोपसहित ज्यान मार्ने उद्योगको मुद्दा पनि दायर गरिएको थियो । तर अदालतले घाइतेसम्बन्धी कुनै चोटपटक प्रतिवेदन वा प्रमाण नभएको भन्दै उक्त आरोप पनि कमजोर देखिएको ठहर गरेको छ ।

दुई फरक मुद्दामा अदालतले छुट्टाछुट्टै धरौटी माग गरेअनुसार प्रसाईंले कुल २८ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् । उच्च अदालत पाटनमा बैंकिङ कसुरसम्बन्धी मुद्दामा २५ लाख र काठमाडौं जिल्ला अदालतमा तीनकुने घटनासम्बन्धी मुद्दामा ३ लाख रुपैयाँ धरौटी बुझाइएको हो ।

प्रकाशित मिति : २० श्रावण २०८२, सोमबार  ११ : ०९ बजे