११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

२४ घण्टामा काठमाडौँ उपत्यकाबाट १ लाख ११ हजार बढी बाहिरिए



दसैँ मनाउन उपत्यकाबाहिर जाने यात्रुको चाप दिनप्रतिदिन बढ्दै गएको छ। पछिल्लो २४ घण्टामा मात्र १ लाख ११ हजार ६३९ जना यात्रु काठमाडौँ उपत्यकाबाट बाहिरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीका अनुसार घटस्थापनादेखि आज फूलपातीसम्म ८३ हजार ८७ सवारीसाधनमार्फत कम्तीमा ४ लाख ६७ हजार ९७७ जना यात्रु उपत्यका छाडेका छन्।

यस अवधिमा ६१ हजार ७८१ सवारीसाधनमार्फत २ लाख ५२ हजार ७५५ जना काठमाडौँ उपत्यकाभित्रिएकासमेत प्रहरीले जनाएको छ।

दसैँ नजिकिँदै जाँदा गाउँ फर्किने यात्रुको चाप बढेकाले उपत्यकाभन्दा बाहिरी राजमार्गहरूमा सवारीसाधनको भीड बढेको प्रवक्ता सुवेदीले बताए।

पछिल्लो २४ घण्टामा मात्र उपत्यकाबाट १८ हजार ६१३ सवारीसाधन बाहिरिएका छन् भने १३ हजार ९२९ सवारीसाधनमार्फत ६१ हजार ८२२ जना यात्रु उपत्यका भित्रिएका छन्।

प्रकाशित मिति : १३ आश्विन २०८२, सोमबार  ११ : ०८ बजे