८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

गाइड पादावा शेर्पा एकै सिजनमा दोस्रो पटक सगरमाथ चढ्न जाँदै



सगरमाथा आरोहण इतिहासमा अनुभवी शेर्पा गाइड पादावा (पासाङदावा) शेर्पाले अर्को ऐतिहासिक उपलब्धि थपेका छन् । उनले शुक्रबार बिहान ४:२० बजे विश्वको सर्वोच्च शिखर सगरमाथा ३१औं पटक सफलतापूर्वक आरोहण गरेका हुन् ।

ट्याग नेपाल एक्सपिडिसन प्रालिका प्रबन्ध निर्देशक सागरकुमार पौडेलका अनुसार पादावा शेर्पाले यही सिजनमै दोस्रो पटक शिखर चुमेका हुन् । यसअघि उनले ४ जेठमा ३०औं पटक सगरमाथा आरोहण पूरा गरेका थिए । आधार शिविर फर्किएपछि पुनः आरोहणमा निस्किएका उनले छोटो अवधिमै अर्को सफलता हात पारेका हुन् ।

३१औं सफल आरोहणसँगै ४९ वर्षीय पादावा शेर्पा सर्वाधिक सगरमाथा आरोहण गर्ने व्यक्तिको सूचीमा दोस्रो स्थानमा कायम रहेका छन् । हाल सर्वाधिक आरोहणको विश्व कीर्तिमान ३२ पटक सगरमाथा आरोहण गरेका कामीरिता शेर्पाको नाममा छ । पादावा शेर्पा अब उक्त कीर्तिमानको निकै नजिक पुगेका छन् ।

सोलुखुम्बुको पाङ्बोचे निवासी पादावा शेर्पाले सन् १९९८ मा पहिलो पटक सगरमाथा आरोहण गरेका थिए । त्यसयता उनी निरन्तर उच्च हिमाली गाइडका रूपमा सक्रिय रहँदै आएका छन् । कठिन र जोखिमपूर्ण हिमाली क्षेत्रमा लामो अनुभव बनाएका उनी विश्वकै अनुभवी शेर्पा गाइडमध्ये एक मानिन्छन् ।

एकै सिजनमा दुई पटक शिखर चुम्दै ३१औं आरोहण पूरा गरेपछि पादावा शेर्पाको उपलब्धिले अन्तर्राष्ट्रिय पर्वतारोहण क्षेत्रमा फेरि ध्यान तानेको छ । हिमाली पर्यटन र आरोहण इतिहासमा यस उपलब्धिलाई महत्वपूर्ण मानिएको छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०८३, शुक्रबार  ११ : ३५ बजे