नेपालभर क्यान्सर उपचारमा प्रयोग हुने अत्यावश्यक औषधि अभाव भएपछि अस्पतालहरूमा उपचार सेवा गम्भीर रूपमा प्रभावित भएको छ ।
किमोथेरापीमा व्यापक प्रयोग हुने जीवनरक्षक औषधि ‘कार्बोप्लाटिन’ र ‘सिस्प्लाटिन’ नपाइएपछि चिकित्सकहरूले यसलाई सार्वजनिक स्वास्थ्य संकटको अवस्था बताएका छन् ।
वीर अस्पताल की क्यान्सर रोग विशेषज्ञ डा. सन्धा चापागाईंले यी औषधिको अभावले देशभरका क्यान्सर बिरामीको जीवन नै जोखिममा परेको बताइन् ।
उनका अनुसार ‘सिस्प्लाटिन’ र ‘कार्बोप्लाटिन’ अधिकांश प्रकारका क्यान्सरमा प्रयोग हुने अनिवार्य किमोथेरापी औषधि हुन् । नेपालमा यी औषधि उत्पादन नहुने भएकाले पूर्ण रूपमा विदेशबाट आयात गर्नुपर्छ ।
“यी औषधि सबै प्रकारका क्यान्सरमा प्रयोग हुन्छन्, यसको विकल्प छैन,” डा. चापागाईंले भनिन्, “क्यान्सर निको पार्ने उद्देश्यले गरिने उपचारमा यी औषधि जीवनरक्षक नै हुन् ।”
वीर अस्पतालमा मात्रै दैनिक करिब ४५ जना बिरामीलाई यी औषधि आवश्यक पर्ने गरेको छ । औषधि नियमित उपलब्ध नभए क्यान्सर तीव्र रूपमा फैलिने जोखिम रहने चिकित्सकहरू बताउँछन् ।
पाटन अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीले पनि दुई सातादेखि अस्पतालहरूमा ‘कार्बोप्लाटिन’ र ‘सिस्प्लाटिन’ को हाहाकार रहेको बताए ।
उनका अनुसार क्यान्सरका ६० प्रतिशतभन्दा बढी बिरामीलाई यी औषधि आवश्यक पर्छ । फोक्सो, अण्डासय, पेट, स्तन, ठूलो तथा सानो आन्द्रालगायत विभिन्न प्रकारका क्यान्सर उपचारमा प्लाटिनम समूहका यी औषधि अत्यन्त आवश्यक मानिन्छन् ।
औषधि अभाव भएपछि कतिपय अस्पतालले बाध्य भएर वैकल्पिक औषधिको प्रयोग गरिरहेका छन् । तर त्यसको प्रभावकारिता पर्याप्त प्रमाणित नभएको चिकित्सकहरू स्वीकार गर्छन् ।
भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा. उज्ज्वल चालिसेले यी औषधि दशकौँदेखि सबैभन्दा प्रभावकारी र तुलनात्मक रूपमा सस्ता क्यान्सर औषधिमध्ये पर्ने बताए ।
उनका अनुसार भक्तपुर क्यान्सर अस्पतालमा दैनिक ८० जनासम्म बिरामीले किमोथेरापी सेवा लिन्छन्, जसमध्ये ५० जनालाई प्लाटिनम समूहका औषधि आवश्यक पर्छ ।
“यो औषधि नपाएपछि उपचार नै रोकिन्छ,” डा. चालिसेले भने, “त्यसपछि कालोबजारी, अनधिकृत आयात र ठगीको जोखिम बढ्छ । बिरामीका परिवार जसरी पनि औषधि खोज्न बाध्य हुन्छन् ।”
किन भयो औषधि अभाव ?
औषधि आयातकर्ताहरूका अनुसार खाडी क्षेत्रमा बढेको द्वन्द्व, कच्चा पदार्थको मूल्यवृद्धि तथा उत्पादन लागत बढेका कारण आपूर्ति संकट सिर्जना भएको हो ।
प्लाटिनम समूहका औषधि उत्पादनमा प्रयोग हुने कच्चा पदार्थको अन्तर्राष्ट्रिय मूल्य अत्यधिक बढेपछि उत्पादक कम्पनीहरूले उत्पादन घटाएका छन् । भारतमा समेत उत्पादकहरूले औषधि उत्पादन कम गरेपछि त्यसको प्रत्यक्ष असर नेपालमा परेको बताइएको छ ।
तर आयातकर्ताहरूले मुख्य समस्या सरकारी मूल्य नियन्त्रण नीतिलाई मानेका छन् । औषधि आयातकर्ता संघका अध्यक्ष पवन आचार्यका अनुसार सरकारले २०७२ सालपछि औषधिको मूल्य समायोजन नगर्दा आयातकर्ताले घाटा व्यहोर्नुपरेको छ ।
“भारतमा उत्पादन हुने औषधि त्यहाँभन्दा सस्तो मूल्यमा नेपालमा बेच्नुपर्ने अवस्था छ,” उनले भने, “भारतले हरेक वर्ष मूल्य समायोजन गर्छ, तर नेपालमा ११ वर्षसम्म मूल्य परिमार्जन भएन ।”
औषधि व्यवस्था विभागले पनि अन्तर्राष्ट्रिय बजारमा मूल्य बढे पनि नेपालमा पुरानै मूल्य कायम रहेकाले आयात प्रभावित भएको स्वीकार गरेको छ ।
विभागका सूचना अधिकारी किरणसुन्दर बज्राचार्यले मूल्य समायोजनका लागि स्वास्थ्य मन्त्रालयमा पत्राचार भइसकेको जानकारी दिएका छन् ।
यसबीच देशभर औषधिको हाहाकार भएपछि स्वास्थ्य मन्त्रालयमा समाधान खोज्न छलफल सुरु भएको छ । तर, तत्काल आपूर्ति सहज नहुँदा हजारौँ क्यान्सर बिरामी उपचारको प्रतीक्षामा पीडित बन्न बाध्य भएका छन् ।









