८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

नेपाल किन फेरि ‘गरिब देश’ बन्न खोज्दैछ?



नेपाल सरकारले अतिकम विकसित मुलुक (एलडीसी) बाट विकासशील राष्ट्रमा हुने स्तरोन्नतिलाई फेरि तीन वर्ष पछाडि सार्न संयुक्त राष्ट्रसंघसमक्ष औपचारिक अनुरोध गरेपछि सरकारको नीति र नियतमाथि गम्भीर प्रश्न उठेको छ ।

सन् २०२६ नोभेम्बरमा विकासशील देशको सूचीमा प्रवेश गर्ने ऐतिहासिक अवसर नजिकिँदै गर्दा सरकारले भने “नेपाल अझै तयार छैन” भन्ने तर्क अघि सारेको हो ।

संयुक्त राष्ट्रसंघले सन् २०२५ को मूल्यांकनमा नेपालले स्तरोन्नतिका लागि आवश्यक तीनवटै सूचक पूरा गरिसकेको पुष्टि गरेको थियो । प्रतिव्यक्ति राष्ट्रिय आय १,४०४ अमेरिकी डलर पुगेको, मानव सम्पत्ति सूचकांक ७७.५८ मा उक्लिएको तथा आर्थिक तथा वातावरणीय जोखिम सूचकांक २९.९६ मा सीमित रहेको प्रतिवेदनमा उल्लेख छ । अर्थात् अन्तर्राष्ट्रिय मापदण्डअनुसार नेपाल अब “अतिकम विकसित” श्रेणीमा बस्नुपर्ने अवस्था छैन ।

तर, सरकार भने फेरि नेपाललाई गरिबकै सूचीमा राख्न चाहन्छ ।

परराष्ट्रमन्त्री शिशिर खनाल ले संयुक्त राष्ट्रसंघको कमिटी फर डेभलपमेन्ट पोलिसीलाई पत्र पठाउँदै स्तरोन्नति सन् २०२९ सम्म सार्न आग्रह गरेका छन् । सरकारका अनुसार कमजोर आर्थिक वृद्धि, व्यापारिक सहुलियत गुम्ने जोखिम, संक्रमण रणनीति कार्यान्वयनमा ढिलाइ, जलवायु तथा भूराजनीतिक संकट र पश्चिम एसियाली तनावका कारण नेपाल तत्काल स्तरोन्नतिका लागि तयार छैन ।

तर प्रश्न उठेको छ, यी कारण वास्तवमै बाध्यता हुन् कि सरकारकै असक्षमताको स्वीकारोक्ति?

सरकारले पहिलो कारणका रूपमा कमजोर आर्थिक वृद्धिदर देखाएको छ । विश्व बैंकको २.३ प्रतिशतको प्रक्षेपणलाई आधार बनाइए पनि आफ्नै केन्द्रीय तथ्यांक कार्यालयले भने यस वर्ष ३.८५ प्रतिशत आर्थिक वृद्धि हुने जनाएको छ । यसले सरकारभित्रकै तथ्यांकमा विरोधाभास देखिएको छ ।

दोस्रो तर्क व्यापारिक सहुलियत गुम्ने जोखिम हो । एलडीसीबाट बाहिरिएपछि युरोपियन बजारमा पाइने ‘ड्युटी–फ्री’ र ‘कोटा–फ्री’ सुविधा गुम्ने डर देखाइएको छ । तर, स्तरोन्नतिपछि पनि तीन वर्षको संक्रमणकालीन सुविधा उपलब्ध हुने व्यवस्था थियो । यही अवधिमा निर्यात प्रतिस्पर्धात्मक बनाउन सकिन्थ्यो । विज्ञहरूका अनुसार तयारी गर्नुपर्ने समय सरकारसँग पर्याप्त थियो, तर तयारी नै भएन ।

तेस्रो कारणका रूपमा सरकारले ‘स्मुथ ट्रान्जिसन स्ट्राटेजी’ कार्यान्वयन हुन नसकेको स्वीकार गरेको छ । राष्ट्रिय योजना आयोगले बनाएको रणनीति कागजमै सीमित रह्यो । चीन, अमेरिका, जापान र अस्ट्रेलियासँग व्यापार विस्तार गर्ने योजना पनि अघि बढ्न सकेन ।

चौथो र पाँचौँ कारणमा सरकारले जलवायु संकट, भूराजनीतिक तनाव र पश्चिम एसियामा विकसित युद्धजन्य अवस्थाले रेमिट्यान्स प्रभावित हुने जोखिम उल्लेख गरेको छ । खाडी क्षेत्रमा कार्यरत करिब १७ लाख नेपालीबाट आउने रेमिट्यान्स नेपालको अर्थतन्त्रको आधार भएकाले सरकार जोखिम लिन नचाहेको देखिन्छ ।

तर, पूर्व राष्ट्रिय योजना आयोग उपाध्यक्ष मीनबहादुर श्रेष्ठ जस्ता अर्थविद्हरू भने यो निर्णय अवसर गुमाउने कदम भएको बताउँछन् । उनका अनुसार विकासशील राष्ट्रमा स्तरोन्नति हुँदा विदेशी लगानी, उच्चस्तरीय पर्यटन, अन्तर्राष्ट्रिय विश्वसनीयता र आर्थिक आत्मविश्वास बढ्ने थियो ।

नेपालले यसअघि पनि तीनपटक स्तरोन्नतिको समय सारिसकेको छ । २०१५ को भूकम्प र नाकाबन्दी, त्यसपछि तयारी नपुगेको भन्दै समय थप्दै आएको नेपाल अहिले पनि त्यही चक्रमा फसेको छ ।

यसबीच आलोचकहरूले सरकारमाथि अर्को आरोप पनि लगाएका छन्— नेपाललाई “सधैं सहायता चाहिने देश” को छविमा राखेर विदेशी अनुदान, सहुलियत र कमजोर राजनीतिक उत्तरदायित्वलाई निरन्तरता दिन खोजिएको ।

विकासशील देश बन्ने अवसरलाई आत्मविश्वासका साथ उपयोग गर्नुको सट्टा सरकारले फेरि “हामी अझै गरिब छौँ” भन्ने सन्देश विश्वसमुदायलाई दिएको छ ।

अब प्रश्न केवल स्तरोन्नति सर्ने वा नसर्ने मात्र होइन- नेपाल वास्तवमै विकासतर्फ जान चाहन्छ कि गरिबीको परिचयमै सुरक्षित महसुस गरिरहेको छ?

प्रकाशित मिति : ८ जेष्ठ २०८३, शुक्रबार  १० : १८ बजे