९ जेष्ठ २०८३, शनिबार | Sat May 23 2026

नेपाली फिल्मलाई बिश्व प्रसिद्ध कान्स फेस्तिबलमा पाए जुरी पुरस्कार



इलेफेन्ट्स इन द फोगले विश्वप्रसिद्ध कान्स फिल्म फेस्तिबलमा पुरस्कार जित्दै नेपाली चलचित्र इतिहासमा नयाँ कीर्तिमान कायम गरेको छ ।

निर्देशक अविनाशबिक्रम शाहको डेब्यु फिचर फिल्म ‘एलिफेन्ट्स इन द फग’ले कान्स फिल्म फेस्टिभलको ‘अन सर्टेन रिगार्ड’ विधाअन्तर्गत जुरी पुरस्कार प्राप्त गरेको हो । यससँगै यो कान्समा पुरस्कार जित्ने पहिलो नेपाली फिचर फिल्म बनेको छ ।

फिल्म ‘अन सर्टेन रिगार्ड’ विधामा छनोट हुने पहिलो नेपाली फिल्मसमेत हो । उक्त विधामा विश्वभरका फरक विषयवस्तु, शैली र प्रयोगात्मक कथावाचन भएका फिल्मलाई समेटिने गरिन्छ ।

फिल्मले नेपालको तराई क्षेत्रको सामाजिक परिवेशलाई पृष्ठभूमि बनाएर कथा प्रस्तुत गरेको छ । समाजको सीमान्तमा रहेका ट्रान्सजेन्डर महिलाहरूको जीवन र संघर्षलाई केन्द्रमा राखिएको फिल्मकी मुख्य पात्र ‘पिरती’ किन्नर समुदायकी अगुवा हुन् । उनी आफूले प्रेम गर्ने व्यक्तिसँग नयाँ जीवन सुरु गर्न चाहन्छिन् । तर समुदायकी एक युवती हराएपछि उनी व्यक्तिगत चाहना र समुदायप्रतिको जिम्मेवारीबीच संघर्ष गर्न बाध्य हुन्छिन् ।

पुरस्कार ग्रहण गर्दै निर्देशक शाहले सीमान्तकृत समुदायको कथा विश्वमाझ पुर्‍याउन पाएकोमा खुशी व्यक्त गरेका थिए ।

फिल्ममा पुष्पा थिङ, दीपिका यादव, जस्मिन विश्वकर्मा, शान्ति गिरी, गौरी मल्ल, माओत्से गुरूङ, सञ्जय गुप्ता दुरा, महिमा नवबाग र आकांक्षा कार्कीको अभिनय रहेको छ ।

यो फिल्म नेपालसहित फ्रान्स, जर्मनी, ब्राजिल र नर्वेका निर्माण संस्थाको सहकार्यमा निर्माण गरिएको हो ।

निर्देशक शाह यसअघि पनि अन्तर्राष्ट्रिय मञ्चमा परिचित भइसकेका छन् । उनको छोटो फिल्म लोरीले कान्स फिल्म फेस्टिभलको ७५औँ संस्करणमा विशेष सम्मान प्राप्त गरेको थियो । उक्त सम्मान पाउने ‘लोरी’ पहिलो नेपाली छोटो फिल्म बनेको थियो ।

प्रकाशित मिति : ९ जेष्ठ २०८३, शनिबार  १० : ४७ बजे