२४ जेष्ठ २०८३, आइतबार | Sun Jun 7 2026

परराष्ट्रमन्त्री खनाल र समकक्षी जयशंकरबीच भेटवार्ता, परिणाममुखी सहकार्यमा जोड



परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल सरकारले भारतसँग ठोस, परिणाममुखी र उद्देश्यपूर्ण सहकार्य गर्न चाहेको बताएका छन् । भारत भ्रमणका क्रममा नयाँ दिल्लीमा शनिबार भारतीय विदेशमन्त्री एस. जयशंकरसँग भएको भेटवार्तामा उनले नेपाल–भारत सम्बन्धलाई उच्च प्राथमिकतामा राखिएको स्पष्ट पारे ।

भेटवार्ताका क्रममा मन्त्री खनालले नेपालका लागि भारत सबैभन्दा महत्वपूर्ण साझेदार रहेको उल्लेख गर्दै वर्तमान सरकार द्विपक्षीय सम्बन्धलाई नयाँ ऊर्जा र विश्वासका साथ अगाडि बढाउन प्रतिबद्ध रहेको बताए ।

“नेपालले भारतसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राखेको छ । बालेन नेतृत्वको सरकार दिल्लीसँग ठोस र उद्देश्यपूर्ण रूपमा सहकार्य गर्न तयार छ,” उनले भने ।

खनालले मध्यपूर्वमा जारी द्वन्द्वका कारण विश्वव्यापी आपूर्ति प्रणाली प्रभावित भएको अवस्थामा पनि नेपालमा इन्धन र रासायनिक मलको आपूर्ति निरन्तर कायम राख्न भारतले गरेको सहयोगप्रति आभार व्यक्त गरे ।

उनले वर्तमान सरकार विगतका राजनीतिक बोझ र विवादभन्दा माथि उठेर व्यावहारिक र परिणाममुखी सम्बन्ध निर्माण गर्न इच्छुक रहेको बताए ।

“हामीसँग विगतका कुनै बोझ छैनन् । हाम्रो सबैभन्दा महत्वपूर्ण साझेदार भारतसँग वास्तविक र रूपान्तरणकारी सम्बन्ध निर्माण गर्न नेपाल सरकार दृढ संकल्पित छ,” खनालले भने ।

परराष्ट्रमन्त्री खनालले वर्तमान सरकारले सुशासन, आर्थिक रूपान्तरण तथा परिणाममुखी कूटनीतिलाई प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गर्दै सोही आधारमा भारतसँगको सहकार्यलाई थप सुदृढ बनाइने बताए ।

भेटवार्तामा भारतीय विदेशमन्त्री एस. जयशंकरले नेपाल र भारतबीचको सम्बन्ध विशेष र ऐतिहासिक रहेको उल्लेख गर्दै आवश्यकता पर्दा दुवै देश एकअर्काको साथमा उभिँदै आएको बताए ।

“मध्यपूर्वको युद्धका बीच पनि हामीले नेपालमा इन्धनको निरन्तर आपूर्ति सुनिश्चित गरेका छौँ,” जयशंकरले भने, “हामी आवश्यकता परेको बेला एकअर्काको साथमा उभिएका छौँ ।”

जयशंकरले आगामी दिनमा कृत्रिम बौद्धिकता (एआई), स्टार्टअप, सूचना प्रविधि, नवीकरणीय ऊर्जा तथा आर्थिक सहकार्यका क्षेत्रमा नेपालसँगको सम्बन्धलाई अझ विस्तार गर्ने भारतको उद्देश्य रहेको बताए ।

उनले भारत सरकार नेपालको नयाँ सरकारसँग नजिकबाट सहकार्य गर्न तथा द्विपक्षीय सम्बन्धलाई थप उचाइमा पुर्‍याउन तयार रहेको पनि उल्लेख गरे ।

नेपालमा नयाँ सरकार गठन भएपछि भएको यो उच्चस्तरीय भेटवार्तालाई दुई देशबीचको सम्बन्धलाई नयाँ ढंगले अघि बढाउने प्रयासका रूपमा हेरिएको छ । दुवै पक्षले आर्थिक, व्यापारिक, ऊर्जा तथा प्रविधि क्षेत्रमा सहकार्य विस्तार गर्दै पारस्परिक हितका विषयमा संवादलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २३ जेष्ठ २०८३, शनिबार  ११ : ०९ बजे