परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सीमा विवादलाई कूटनीतिक माध्यम र विद्यमान द्विपक्षीय संयन्त्रमार्फत समाधान गरिने बताएका छन् ।
भारतको तीनदिने औपचारिक भ्रमण सम्पन्न गरी आइतबार स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खनालले भ्रमण उपलब्धिमूलक रहेको दाबी गरे । उनले नेपाल–भारत सम्बन्धलाई थप व्यवहारिक र प्रविधिमैत्री बनाउने दिशामा ठोस प्रगति भएको बताए ।
भारतीय विदेशमन्त्री एस नयशंकरसँगको भेटवार्तामा विभिन्न क्षेत्रमा आपसी सहकार्य, कूटनीतिक सम्बन्ध तथा सीमासम्बन्धी विषयमा विस्तृत छलफल भएको जानकारी दिँदै खनालले सीमा समस्याको समाधान संवाद र कूटनीतिक प्रक्रियामार्फत खोजिने बताए ।
“सीमासँग सम्बन्धित विषयलाई कूटनीति र अहिले सञ्चालनमा रहेका संयन्त्रमार्फत समाधान गर्ने भन्ने हाम्रो पहिलेदेखिको धारणा हो। सोहीअनुसार संयन्त्रहरूले काम गरिरहेका छन् र यसपटक पनि कूटनीतिक माध्यमबाट समाधान खोज्ने विषयमा सकारात्मक छलफल भयो,” उनले भने।
भ्रमणका क्रममा नेपाल र भारतबीच डिजिटल तथा वित्तीय सहकार्यलाई विस्तार गर्ने विषयमा समेत सहमति भएको मन्त्री खनालले जानकारी दिए । सन् २०२३ मा नेपाल क्लियरिङ हाउस लिमिटेड र नेशनल पेमेन्ट कर्पोरेशन अफ इण्डियाबीच भएको समझदारीअनुसार व्यक्तिदेखि व्यक्तिसम्म हुने सीमापार भुक्तानी प्रणालीलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन दुवै पक्ष सहमत भएको उनले बताए ।
त्यसैगरी, प्रविधिको क्षेत्रमा काठमाडौं यूनिभर्सिटीको इन्जिनियरिङ बिभाग अन्तर्गतको सेन्टर फर डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर र भारतको डिजिटल इण्डिया बाहिनी डिभिजनबीच ‘भ्वाइस फर्स्ट’ भाषा अनुवाद मञ्च विकासका लागि राष्ट्रिय डिजिटल सार्वजनिक पूर्वाधार सहनिर्माणसम्बन्धी सम्झौतापत्र आदानप्रदान गरिएको पनि उनले जानकारी दिए ।
मन्त्री खनालले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय एयरपोर्ट सञ्चालन तथा अन्तर्राष्ट्रिय उडान विस्तारका विषयमा पनि भारतीय पक्षसँग छलफल भएको उल्लेख गरे । यस विषयमा छिट्टै प्राविधिक समितिको बैठक बस्ने र थप प्रगति हुने अपेक्षा गरिएको उनले बताए ।
परराष्ट्रमन्त्री खनाल भारतीय विदेशमन्त्री जयशंकरको निमन्त्रणामा तीनदिने औपचारिक भ्रमणका लागि भारत गएका थिए । भ्रमणका क्रममा द्विपक्षीय सम्बन्ध, व्यापार, प्रविधि, भुक्तानी प्रणाली, हवाई सेवा तथा सीमा व्यवस्थापनलगायतका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।









