राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनको भरतपुर मा हुने भएको छ। महाधिवेशनका लागि पार्टीले १९ वटा फरक प्रक्रियामार्फत झण्डै ३ हजार प्रतिनिधि छनोट गर्ने व्यवस्था गरेको छ ।
रास्वपाले सार्वजनिक गरेको महाधिवेशन प्रतिनिधि छनोट कार्यविधिअनुसार पार्टीको केन्द्रीय समिति, संसद्, विभिन्न आयोग, विभाग, प्रदेश तथा जिल्ला संरचनादेखि प्रवास नेपाली सम्पर्क विभागसम्मका प्रतिनिधिहरू महाधिवेशनमा सहभागी हुनेछन् ।
कार्यविधिअनुसार पार्टीका हाल रहेका ८६ जना केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुनेछन्। त्यस्तै प्रतिनिधिसभाका १८१ सांसद पनि स्वतः प्रतिनिधि बन्ने व्यवस्था गरिएको छ। केन्द्रीय सदस्य र सांसद दुवै जिम्मेवारीमा रहेका ४२ जना भने दोहोरो रूपमा प्रतिनिधि सूचीमा परेका छन् ।
पार्टीका सल्लाहकार परिषद्, अनुशासन आयोग, निर्वाचन आयोग तथा लेखा आयोगका पदाधिकारी र सदस्यहरू पनि प्रतिनिधि हुनेछन्। अद्यावधिक विवरणअनुसार सल्लाहकार परिषद्बाट ८, अनुशासन आयोगबाट ११, निर्वाचन आयोगबाट १० तथा लेखा आयोगबाट २ जना प्रतिनिधि रहनेछन्।
विभागबाट मात्रै ४१८ प्रतिनिधि
रास्वपाका ३८ वटा विभागमध्ये प्रत्येक विभागबाट ११ जनाका दरले ४१८ प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन्। यस्तै प्रदेश समितिका सबै सदस्यलाई प्रतिनिधि बनाउने व्यवस्था गरिएको छ।
पार्टी विधानअनुसार कोशीमा ६१, मधेशमा ५९, बागमतीमा ६५, गण्डकीमा ४७, लुम्बिनीमा ५७, कर्णालीमा ४१ र सुदूरपश्चिममा ४३ सदस्यीय प्रदेश समिति रहने व्यवस्था छ। मधेश प्रदेशको अधिवेशन हुन नसकेकाले त्यहाँको तदर्थ समितिका सात पदाधिकारी मात्र प्रतिनिधि बन्न पाउनेछन्।
यसअनुसार अधिवेशन सम्पन्न भएका ६ प्रदेशबाट ३१४ र मधेशबाट ७ गरी कुल ३२१ प्रतिनिधि प्रदेश समितिबाट सहभागी हुनेछन्।
प्रदेशस्तरीय अनुशासन, निर्वाचन र लेखा आयोगबाट पनि प्रत्येक प्रदेशमा ९ जनाका दरले कुल ५६ प्रतिनिधि महाधिवेशनमा सहभागी हुने व्यवस्था गरिएको छ ।
जिल्ला तहबाट ४ सयभन्दा बढी प्रतिनिधि
रास्वपाले प्रत्येक जिल्ला समितिबाट सभापतिसहित पाँच जना प्रतिनिधि सहभागी गराउने व्यवस्था गरेको छ। डोल्पा, हुम्ला, रुकुम पूर्व, मनाङ, मुस्ताङ, धनुषा, सप्तरी, बारा, सर्लाही, सिन्धुपाल्चोक, सिराहा, महोत्तरी, रौतहट, कैलाली र बागलुङसहित १५ जिल्लामा अधिवेशन सम्पन्न नभएकाले त्यहाँका तदर्थ समितिबाट तीन–तीन जना प्रतिनिधि सहभागी हुनेछन् ।
तदर्थ समिति रहेका जिल्लाबाट ४५ तथा अधिवेशन सम्पन्न भएका ६२ जिल्लाबाट ३१० प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन्।
त्यसैगरी जिल्ला–काठमाडौं सम्पर्क विभागका प्रमुखहरूलाई समेत प्रतिनिधि बनाइएको छ।
प्रवासबाट पनि सहभागिता
रास्वपाले हालसम्म ४० देशमा प्रवास नेपाली सम्पर्क विभाग गठन गरेको छ। सदस्य संख्याको आधारमा प्रतिनिधि छनोट गर्ने व्यवस्था गरिएको छ। भारत, कतार, साउदी अरेबिया, दुबई र मलेसियाबाट अधिकतम ११ जनासम्म प्रतिनिधि सहभागी हुन सक्नेछन् ।
प्रति १०० सदस्य बराबर एक प्रतिनिधि थपिने व्यवस्था भए पनि कुनै पनि देशबाट ११ जनाभन्दा बढी प्रतिनिधि चयन गर्न नपाइने कार्यविधिमा उल्लेख छ।
पराजित उम्मेदवार र मनोनीत प्रतिनिधि पनि सहभागी
रास्वपाले २०८२ सालको प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेर पराजित भएका ३८ जनालाई पनि महाधिवेशन प्रतिनिधि बनाउने निर्णय गरेको छ । त्यस्तै २०७९ सालको निर्वाचनमा उम्मेदवार बनेका सबैलाई प्रतिनिधि बन्ने व्यवस्था गरिएको छ। त्यसबेला पार्टीले १११ जना उम्मेदवार उठाएको थियो ।
संघीय निर्वाचन क्षेत्रबाट संयोजकसहित दुई जना, गाउँपालिकाबाट एक जना, नगरपालिकाबाट दुई जना, उपमहानगरपालिकाबाट तीन जना र महानगरपालिकाबाट चार जना प्रतिनिधि सहभागी हुनेछन्। संघीय नेतृत्व मञ्चका २४ सदस्य पनि स्वतः प्रतिनिधि बनेका छन् ।
यसबाहेक केन्द्रीय समितिले २०० जना प्रतिनिधि मनोनयन गर्न सक्ने व्यवस्था गरिएको छ ।
रास्वपाको निर्वाचन आयोग प्रमुख भुवन केसी का अनुसार विभिन्न संरचना, आयोग, विभाग र मनोनयन प्रक्रियामार्फत महाधिवेशनमा झण्डै ३ हजार प्रतिनिधिको सहभागिता रहनेछ ।
पार्टी स्थापनापछि पहिलोपटक हुन लागेको महाधिवेशनले नयाँ नेतृत्व चयन, संगठनात्मक संरचना सुदृढीकरण तथा आगामी राजनीतिक दिशा तय गर्ने अपेक्षा गरिएको छ ।








