४ असार २०८३, बिहिबार | Fri Jun 19 2026

राहदानी ठेक्का प्रकरणमा बयानका लागि आरजु राणा बोलाइन्, विदेशमै रहेको जानकारी



अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी खरिद ठेक्का प्रकरणमा बयानका लागि तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवा लाई उपस्थित हुन निर्देशन दिएको छ । आयोगको टोलीले बुधबार बुढानीलकण्ठस्थित निवासमा पुगेर तीन दिनभित्र उपस्थित हुनुपर्ने म्याद तामेल गरेको हो ।

राहदानी छपाइसम्बन्धी कार्यमा भ्रष्टाचारजन्य कसुर गरेको भन्ने उजुरीमाथि अनुसन्धानका क्रममा बयान आवश्यक परेकाले अख्तियारले सूचना टाँसेर उपस्थित हुन आग्रह गरेको जनाएको छ ।

तर राणाले इमेलमार्फत आफू उपचारका लागि विदेशमा रहेको र तोकिएको समयभित्र उपस्थित हुन नसक्ने जानकारी आयोगलाई दिएकी छन् । अनुसन्धानमा पूर्ण सहयोग गर्न तयार रहेको उल्लेख गर्दै उनले स्वास्थ्य उपचारका कारण तत्काल नेपाल फर्कन सम्भव नभएको व्यहोरा पठाएको स्रोतले जनाएको छ ।

राहदानी खरिद ठेक्का प्रकरणमा अख्तियारले यसअघि राहदानी विभागका तत्कालीन महानिर्देशक तीर्थराज अर्याल, निर्देशक सुनीलकुमार केसी, जर्मन कम्पनी मुह्रबाउरका नेपाली एजेन्ट मनिन्द्रराज मल्ल तथा विभागका तत्कालीन लेखा अधिकृत तुलसीप्रसाद आचार्यलाई पक्राउ गरिसकेको छ । विशेष अदालतले उनीहरूलाई अनुसन्धानका लागि थुनामा राख्न अनुमति दिएको छ ।

आयोगका अनुसार राहदानी खरिद प्रक्रियामा भएको भनिएको अनियमिततासम्बन्धी अनुसन्धानलाई तीव्र बनाइएको छ । हालसम्म ३५ जनाभन्दा बढी व्यक्तिमाथि विस्तृत छानबिन भइरहेको तथा सरकारी अधिकारी र कम्पनीका प्रतिनिधिसहित २० जनाभन्दा बढीको बयान लिइसकिएको बताइएको छ। अनुसन्धानकै क्रममा अन्य व्यक्तिहरूसँग पनि सोधपुछ जारी रहेको अख्तियार स्रोतले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानबाट राहदानी खरिद प्रक्रियामा करिब ८ अर्ब रुपैयाँ बराबरको अनियमितता भएको देखिएको अख्तियारको दाबी छ । यस विषयमा उजुरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र अख्तियार दुवैमा परेपछि सरकारले समेत चासो देखाएको थियो। त्यसक्रममा प्रधानमन्त्री कार्यालयले राहदानी विभागमा टोली पठाएर ठेक्का प्रक्रिया र मौज्दात राहदानीको अवस्थाबारे अध्ययन गरेको थियो ।

अख्तियारले राहदानी खरिद प्रकरणसँग सम्बन्धित सम्पूर्ण पक्षमाथि अनुसन्धान जारी रहेको जनाएको छ ।

प्रकाशित मिति : ४ असार २०८३, बिहिबार  ७ : ४५ बजे