५ असार २०८३, शुक्रबार | Sat Jun 20 2026

१२ कक्षाको नतिजा ४० दिनमै सार्वजनिक



राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष कक्षा १२ को नतिजा परीक्षा सम्पन्न भएको ४० दिनमै सार्वजनिक गर्दै विगतको तुलनामा छिटो नतिजा प्रकाशन गरेको छ । यससँगै विद्यार्थीको उत्तीर्णदरमा पनि सुधार देखिएको छ ।

बोर्डका अनुसार नियमित र आंशिकतर्फ गरी समग्रमा ६४.१३ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’ अर्थात् उत्तीर्ण भएका छन् । गत वर्ष यो दर ६१.१७ प्रतिशत रहेको थियो भने २०८० सालमा ५२.१५ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका थिए ।

बोर्डकी प्रवक्ता जयन्ती सत्यालका अनुसार नियमिततर्फ ६९.७५ प्रतिशत र आंशिकतर्फ ४२.३८ प्रतिशत विद्यार्थी माथिल्लो तहको अध्ययनका लागि योग्य भएका छन् । यस वर्ष नियमिततर्फ ३ लाख ३२ हजार २ सय ४१ विद्यार्थी परीक्षामा सहभागी भएकामध्ये २ लाख ३१ हजार ७ सय ७० जनाले ग्रेड प्राप्त गरेका छन् । १ लाख ४ सय ७१ विद्यार्थी भने ‘ननग्रेडेड’ भएका छन् ।

नतिजामा छात्राभन्दा छात्राहरूको प्रदर्शन राम्रो देखिएको छ। परीक्षामा सहभागी छात्रामध्ये ७०.३९ प्रतिशत उत्तीर्ण भएका छन् भने छात्रको उत्तीर्णदर ६९.१७ प्रतिशत रहेको छ। यद्यपि उच्च जीपीए प्राप्त गर्नेमा भने छात्र अगाडि देखिएका छन्। ३.६१ देखि ४.०० सम्म जीपीए ल्याउने १७ हजार ७ सय ८६ विद्यार्थीमध्ये १० हजार ६७ छात्र र ७ हजार ७ सय १९ छात्रा छन्।

बोर्डका अनुसार नियमिततर्फ उत्तीर्ण हुनेमध्ये १७ हजार ७ सय ८६ जनाले ३.६१ देखि ४.०० सम्म जीपीए प्राप्त गरेका छन्। ६४ हजार ८ सय २१ जनाले ३.२१ देखि ३.६०, ९४ हजार २ सय ४९ जनाले २.८१ देखि ३.२० तथा ५० हजार ५ सय ९७ जनाले २.४१ देखि २.८० सम्म जीपीए प्राप्त गरेका छन्। २.०१ देखि २.४० सम्म जीपीए ल्याउने विद्यार्थीको संख्या ४ हजार ३ सय ८ रहेको छ भने १.६१ देखि २.०० सम्म जीपीए प्राप्त गर्ने विद्यार्थी केवल ९ जना छन्।

आंशिकतर्फ ८५ हजार ९ सय २९ विद्यार्थी परीक्षामा सहभागी भएकामध्ये ३६ हजार ४ सय २० जना अर्थात् ४२.३८ प्रतिशत ‘ग्रेडेड’ भएका छन्। नियमिततर्फका ३० र आंशिकतर्फका १० गरी ४० परीक्षार्थीको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ।

बोर्डले ‘ननग्रेडेड’ भएका नियमिततर्फका विद्यार्थीका लागि साउन २ र ३ गते ग्रेडवृद्धि (मौका) परीक्षा सञ्चालन गर्ने भएको छ। सैद्धान्तिकतर्फ अन्य सबै विषयमा डी वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बढीमा दुई विषयमा मात्र एनजी प्राप्त गरेका वा दुई विषयसम्म अनुपस्थित भएका विद्यार्थीले उक्त परीक्षामा सहभागी हुन पाउनेछन्। आवेदन दिन चाहने विद्यार्थीले असार १९ गतेभित्र अनलाइन आवेदन दिनुपर्नेछ। परीक्षा शुल्क ८ सय रुपैयाँ तोकिएको छ। नतिजामा चित्त नबुझेका विद्यार्थीले १ हजार रुपैयाँ शुल्क तिरेर पुनर्योगका लागि आवेदन दिन सक्नेछन्।

प्रदेशगत रूपमा हेर्दा बागमती प्रदेशको नतिजा सबैभन्दा उत्कृष्ट देखिएको छ। बागमतीका ७८.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् भने ११ हजार ५२ जनाले ३.६१ देखि ४.०० सम्मको उच्च जीपीए प्राप्त गरेका छन्। विपरीत रूपमा कर्णाली प्रदेशको नतिजा सबैभन्दा कमजोर देखिएको छ। त्यहाँ केवल ६२.१७ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका छन् र उच्च जीपीए ल्याउने विद्यार्थीको संख्या २ सय ५२ मात्र रहेको छ।

मध्यपश्चिम विश्वविद्यालयका पूर्वउपकुलपति ध्रुवकुमार गौतमले कर्णालीमा शैक्षिक पूर्वाधार, विषयगत शिक्षक र जनशक्ति विकासमा राज्यको लगानी न्यून रहेकाले नतिजा कमजोर देखिएको टिप्पणी गरेका छन्। निजी विद्यालयको संख्या कम हुनु र उत्कृष्ट विद्यार्थी अध्ययनका लागि अन्य सहरमा जाने प्रवृत्तिले पनि कर्णालीको नतिजामा प्रभाव पारेको उनको भनाइ छ।

सरकारले ४५ दिनभित्र नतिजा प्रकाशन गर्ने लक्ष्य लिएकोमा बोर्डले ४० दिनमै नतिजा सार्वजनिक गर्न सफल भएको छ। परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार उत्तरपुस्तिका परीक्षण केन्द्र २८ बाट बढाएर ४२ पुर्‍याइएको थियो। उत्तरपुस्तिका परीक्षण, सम्परीक्षण र नतिजा तयारीका काम समानान्तर रूपमा अघि बढाइएकाले छिटो नतिजा प्रकाशन सम्भव भएको उनले बताए। यसअघि बोर्डले सामान्यतः ७० दिनभित्र नतिजा सार्वजनिक गर्दै आएको थियो।

बोर्डले नतिजा कमजोर भएका प्रदेश, जिल्ला, स्थानीय तह र विद्यालयको पहिचान गरी सुधार कार्यक्रम अघि बढाइएको जनाएको छ। कमजोर नतिजा भएका विद्यालयमा शैक्षिक सुधारका लागि स्थानीय तहसँग सहकार्य गर्दै विज्ञ परिचालन गर्ने तयारीसमेत गरिएको बोर्डको भनाइ छ।

प्रकाशित मिति : ५ असार २०८३, शुक्रबार  १० : १७ बजे