नेपाली कांग्रेसको संस्थापन इतर पक्षले काठमाडौंको महाराजगन्जस्थित चुनदेवीमा सम्पर्क कार्यालय स्थापना गर्दै १५औँ महाधिवेशनको तयारीलाई तीव्र बनाएको छ । उक्त कार्यालयलाई इतर पक्षले आगामी महाधिवेशनका गतिविधि सञ्चालन गर्ने केन्द्रका रूपमा प्रयोग गर्ने जनाएको छ ।
कांग्रेस रामेछापका निलम्बित सभापति कान्छाराम (पूर्णबहादुर) तामाङको अग्रसरतामा दुईतले भवन भाडामा लिएर सम्पर्क कार्यालय स्थापना गरिएको हो । यसअघि नयाँ बानेश्वरमा कार्यालय खोल्ने तयारी भए पनि भवनको ‘वास्तु नमिलेको’ निष्कर्ष निकाल्दै चुनदेवीस्थित भवन रोजिएको नेताहरूले बताएका छन् ।
साढे दुई रोपनी क्षेत्रफलमा फैलिएको उक्त भवनको मासिक भाडा साढे तीन लाख रुपैयाँ रहेको छ । भवनमा १२ वटा कोठा, दुई वटा हल तथा १५–२० वटा सवारी साधन पार्किङ गर्न मिल्ने सुविधा रहेको बताइएको छ ।
कान्छाराम तामाङले यो पार्टीको आधिकारिक कार्यालय नभई महाधिवेशनको तयारीका लागि सम्पर्क कार्यालय मात्र भएको बताएका छन्स्प । “यो पार्टी कार्यालय होइन, सम्पर्क कार्यालय हो । १५औँ महाधिवेशनको तयारीका लागि सञ्चालन गर्न लागिएको हो,” उनले बताए ।
गत सातामात्र इतर पक्षका शीर्ष नेताहरूको उपस्थितिमा कार्यालय स्थापना गर्ने निर्णय भएको थियो । बैठकमा प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, एनपी साउद, रमेश लेखकलगायत नेताहरू सहभागी भएका थिए ।
कांग्रेस नेता मीन विश्वकर्माले नियमित महाधिवेशनको तयारीका लागि सम्पर्क कार्यालय खोलिएको बताए । उनका अनुसार संस्थापन पक्षसँग सहमति भए साझा महाधिवेशन हुने, अन्यथा छुट्टै महाधिवेशनका लागि यही कार्यालयबाट तयारी अघि बढाइनेछ ।
कार्यालयमा पछिल्ला तीन दिनदेखि सुरक्षा गार्डसमेत राखिएको छ भने भवनको रङरोगन, सरसफाइ र मर्मत कार्य जारी छ। पेन्टरहरूका अनुसार सबै काम सम्पन्न हुन अझै करिब एक साता लाग्नेछ।
विश्वकर्माले पूर्वपदाधिकारी तथा पूर्वकेन्द्रीय सदस्यहरूको आर्थिक सहयोगबाट कार्यालय सञ्चालन गरिएको जानकारी दिए।
नेता विमलेन्द्र निधिले हालसम्म साझा महाधिवेशनकै पक्षमा आफूहरू रहेको उल्लेख गर्दै सहमति हुन नसके छुट्टै महाधिवेशनको तयारी अघि बढ्ने बताए ।
नेता पूर्णबहादुर खड्काले पनि आफू निकट नेताहरूसँग संस्थापन पक्षसँग सहमति नभए अन्तिम रूपमा टुंगो लगाइएका करिब ९ लाख १३ हजार क्रियाशील सदस्यकै आधारमा छुट्टै महाधिवेशनमा जाने तयारी भइरहेको बताएका छन् ।
यसबीच नेता शशांक कोइरालाको सक्रियता पनि बढेको छ। सोमबार आफ्नै निवासमा आयोजित दही–चिउरा कार्यक्रममा उनले पार्टी एकताको पक्षमा आफू दृढ रहेको दोहोर्याउँदै आवश्यक जिम्मेवारी र त्याग गर्न तयार रहेको बताएका थिए।
उता संस्थापन पक्षबाट महामन्त्री गुरुराज घिमिरेले इतर पक्षका नेताहरूसँग संवादलाई तीव्र बनाएका छन्। उनले नेता शेखर कोइराला, पूर्णबहादुर खड्का र कृष्णप्रसाद सिटौलासँग भेटवार्ता गरी महाधिवेशनमा सबै पक्षको सहभागिता सुनिश्चित गर्ने वातावरण बनाउने विषयमा छलफल गरेको बताएका छन्।
घिमिरेका अनुसार पार्टीभित्र देखिएको विवाद समाधान गरी साझा महाधिवेशन गर्ने विषयमा छलफल सकारात्मक ढंगले अघि बढिरहेको छ। यद्यपि, सहमति हुन नसके दुवै पक्ष आफ्नो-आफ्नो रणनीतिअनुसार अघि बढ्ने संकेत देखिएको छ।









