२१ असार २०८३, आइतबार | Mon Jul 6 2026

सरकारका १०० दिन : गगन थापाले औंल्याए पाँच प्रवृत्ति, ‘लाइफभन्दा लाइक’ मा केन्द्रित भएको आरोप



 प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारको पहिलो १०० दिनको कार्यशैलीको समीक्षा गर्दै सरकार लोकप्रियतामुखी, प्रक्रियाविहीन र संस्थामाथि कमजोर प्रतिबद्धतासहित अघि बढिरहेको आरोप लगाएका छन् ।

आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित सरकारको १०० दिनसम्बन्धी समीक्षात्मक कार्यक्रममा थापाले सरकारका पाँच प्रमुख प्रवृत्ति औंल्याउँदै आलोचना गरेका हुन् । उनले सरकारलाई सकारात्मक काममा समर्थन गर्ने तर कमजोरीमा प्रश्न उठाउने कांग्रेसको भूमिका रहने बताए ।

थापाले प्रधानमन्त्री शाहले सिंहदरबार केन्द्रित भएर कार्यकारी जिम्मेवारी निर्वाह गर्न खोजेको पक्षलाई सकारात्मक रूपमा उल्लेख गरे । विगतका प्रधानमन्त्रीहरू गठबन्धन व्यवस्थापन र दलगत राजनीतिमा बढी केन्द्रित हुने गरेको स्मरण गराउँदै उनले वर्तमान प्रधानमन्त्रीको प्रशासनिक कामप्रतिको ध्यान प्रशंसायोग्य रहेको बताए ।

तर त्यसपछि सरकारको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै उनले पहिलो प्रवृत्तिका रूपमा ‘जनताको जीवनभन्दा सामाजिक सञ्जालको लाइकलाई बढी महत्त्व दिएको’ आरोप लगाए। भूमिहीन तथा अव्यवस्थित बसोबासीको समस्या कानुनी र नीतिगत रूपमा समाधान गर्न सकिने अवस्था हुँदाहुँदै सरकारले डोजर प्रयोग गरेर लोकप्रियता खोजेको उनको आरोप थियो। दलितसँग माफी माग्ने प्रतिबद्धता पूरा नभएको र विद्यार्थीका वास्तविक समस्याभन्दा छिटो नतिजा सार्वजनिक गरेर प्रचारमा केन्द्रित भएको उनले टिप्पणी गरे ।

दोस्रो प्रवृत्तिका रूपमा उनले ‘प्रक्रियाभन्दा परिणामलाई प्राथमिकता दिने’ शैलीप्रति चिन्ता व्यक्त गरे । लोकतन्त्रमा परिणामसँगै विधि र प्रक्रिया पनि उत्तिकै महत्त्वपूर्ण हुने उल्लेख गर्दै उनले सरकारले कानुनी प्रक्रिया कमजोर बनाएर प्रशासन सञ्चालन गर्न खोजेको आरोप लगाए। उनले यसलाई २०७४ सालपछिको शासनशैलीसँग तुलना गर्दै ‘रूल अफ ल’ भन्दा ‘रूल बाइ ल’ को मानसिकता देखिएको टिप्पणी गरे ।

तेस्रो बुँदामा थापाले अर्थतन्त्रमा संकुचन र निजी क्षेत्रको घट्दो आत्मविश्वासलाई सरकारको प्रमुख कमजोरीका रूपमा औंल्याए । बैंकमा पर्याप्त तरलता हुँदाहुँदै पनि लगानीकर्ता र व्यवसायीले नयाँ लगानी गर्न नसकेको, सरकारले निजी क्षेत्रमाथि अविश्वासको वातावरण सिर्जना गरेको र यसले अर्थतन्त्रलाई थप सुस्त बनाएको उनको भनाइ थियो ।

चौथो प्रवृत्तिका रूपमा उनले संविधान र संस्थाप्रतिको कमजोर निष्ठा रहेको आरोप लगाए। संविधान संशोधन वा पुनरावलोकन गर्न सकिने भए पनि त्यसलाई हल्का रूपमा प्रस्तुत गर्नु र संवेदनशील विषयमा गैरजिम्मेवार अभिव्यक्ति दिनु उचित नभएको उनले बताए। संविधान निर्माणका क्रममा भएका कठिन राजनीतिक सहमति र संवेदनशीलताप्रति वर्तमान सरकारले पर्याप्त सम्मान नदेखाएको उनको भनाइ थियो।

पाँचौं बुँदामा थापाले भूराजनीति र परराष्ट्र नीतिलाई आन्तरिक राजनीतिक लोकप्रियताको विषय बनाइएको आरोप लगाए। छिमेकी राष्ट्र तथा अन्तर्राष्ट्रिय सम्बन्धजस्ता संवेदनशील विषयमा दीर्घकालीन राष्ट्रिय हितभन्दा क्षणिक राजनीतिक लाभ खोज्ने प्रवृत्ति देखिएको भन्दै उनले सरकारले परराष्ट्र नीतिमा बढी गम्भीर हुनुपर्ने सुझाव दिए।

थापाले सरकारले १०० दिनको समीक्षा आफैं सार्वजनिक गरेकाले प्रतिपक्षका रूपमा समीक्षा गर्नु स्वाभाविक भएको उल्लेख गर्दै कांग्रेसले राजनीतिक स्थिरता चाहेको र सरकार सही दिशामा अघि बढे सहयोग गर्न तयार रहेको बताए। साथै, गलत नीति र प्रवृत्तिमाथि भने संसद् र सार्वजनिक रूपमा निरन्तर प्रश्न उठाइरहने स्पष्ट पारे।

प्रकाशित मिति : २१ असार २०८३, आइतबार  ९ : ५६ बजे