१९ असार २०८३, शुक्रबार | Fri Jul 3 2026

प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस, दुई निर्वाचन आयुक्तका लागि पनि नाम प्रस्ताव



काठमाडौं । संवैधानिक परिषद्ले प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्की (मोरङ)लाई नियुक्तिका लागि सिफारिस गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार बसेको परिषद्को बैठकले कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो।

परिषद्का सदस्य तथा प्रतिनिधिसभाकी उपसभामुख रुवीकुमारी कर्णका अनुसार बैठकले रिक्त रहेको निर्वाचन आयुक्त पदमा राजीव सुब्बा (काठमाडौं) र आगामी असार २३ गतेदेखि रिक्त हुने निर्वाचन आयुक्त पदमा गुरुप्रसाद वाग्ले (ओखलढुंगा)लाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय पनि गरेको छ।

सुब्बा नेपाल प्रहरीका पूर्व डीआईजी हुन् भने वाग्ले अवकाशप्राप्त सरकारी वकिल हुन्।

संवैधानिक व्यवस्थाअनुसार प्रमुख निर्वाचन आयुक्त तथा निर्वाचन आयुक्तसहित विभिन्न संवैधानिक निकायका रिक्त पदमा नियुक्तिका लागि योग्य व्यक्तिको नाम सिफारिस गर्ने जिम्मेवारी संवैधानिक परिषद्को हुन्छ। परिषद्को सिफारिसपछि संवैधानिक प्रक्रियाअनुसार नियुक्ति प्रक्रिया अघि बढ्नेछ।

प्रकाशित मिति : १९ असार २०८३, शुक्रबार  ९ : ५७ बजे