काठमाडौं । सरकारले बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्ने प्रक्रिया अघि बढाएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले उद्योग सञ्चालनको पूर्वतयारीस्वरूप नेपाली सेनाले परीक्षण उत्पादन गरिरहेको जानकारी दिएका छन् ।
सरकारको सय दिन पूरा भएको अवसरमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सचिव राउतले २०६९ माघ १२ गते मन्त्रिपरिषद्को निर्णयबाट खारेजीमा गएको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि २०८३ असार १८ गतेको मन्त्रिपरिषद् बैठकले परीक्षण उत्पादन गर्न सैद्धान्तिक स्वीकृति दिएको बताए।
उनका अनुसार मन्त्रिपरिषद्को निर्णयपछि अर्थ मन्त्रालयबाट आवश्यक बजेटसमेत निकासा भइसकेको छ। त्यसपछि नेपाली सेनाले परीक्षण उत्पादनको काम अघि बढाएको उनले जानकारी दिए।
सचिव राउतले बन्द भएका तथा रुग्ण उद्योगहरूको दीर्घकालीन व्यवस्थापनका लागि सरकारले सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) को काम पनि अघि बढाइरहेको बताए। हाल सात वटा बन्द तथा रुग्ण उद्योगको डीडीए प्रतिवेदन तयार पार्ने काम जारी रहेको उनले बताए।
उनले डीडीए प्रतिवेदन प्राप्त भएपछि ती उद्योगहरू कुन मोडालिटीमा सञ्चालन गर्ने भन्ने विषयमा सरकारले निर्णय गर्ने स्पष्ट पारे।
“सात वटा बन्द भएका अथवा रुग्ण उद्योगहरूको सम्पत्ति तथा दायित्वको मूल्यांकनको काम जारी छ। डीडीए प्रतिवेदन आएपछि सञ्चालनको मोडालिटी सरकारले तय गरेर प्रक्रिया अगाडि बढाउनेछ,” उनले भने।
यसैबीच, मन्त्रिपरिषद्ले उदयपुर सिमेन्ट उद्योग लिमिटेड को चुनढुङ्गा तथा रातो माटो खानीको लाइसेन्स अवधि थप्ने निर्णय पनि गरेको सचिव राउतले जानकारी दिए ।
उनका अनुसार उद्योग सञ्चालनका लागि आवश्यक चुनढुङ्गा र रातो माटो खानीको लाइसेन्स अवधि सकिएकाले मन्त्रिपरिषद्ले त्यसको अवधि थप्ने निर्णय गरेको हो। यस निर्णयले उदयपुर सिमेन्ट उद्योगको उत्पादन निरन्तरतामा सहयोग पुग्ने सरकारको विश्वास छ ।









