काठमाडौं । एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्दाको नेपाल भ्रमणका क्रममा नेपालले करिब २५ अर्ब रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण लिने सम्झौता गरेको छ ।
सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र एडीबी अध्यक्ष कान्दाको उपस्थितिमा नेपाल सरकार र एडीबीबीच १६ करोड ५० लाख अमेरिकी डलर (करिब २५ अर्ब रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको हो ।
सम्झौतामा नेपाल सरकारका तर्फबाट अर्थसचिव डा. घनश्याम उपाध्याय र एडीबीको नेपालस्थित आवासीय नियोगका देशीय निर्देशक आनो कुश्वाले हस्ताक्षर गरेका छन् ।
यो ऋण एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजना र दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) आपूर्ति व्यवस्थापन सुधार कार्यक्रम (सब–प्रोग्राम–२) मा परिचालन गरिनेछ ।
अर्थ मन्त्रालयका सहसचिव तथा प्रवक्ता अमृत लम्सालका अनुसार खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका लागि ११ करोड ५० लाख अमेरिकी डलर र आपूर्ति व्यवस्थापन सुधार कार्यक्रमका लागि ५ करोड अमेरिकी डलर ऋण लिइएको हो।
खानेपानी तथा ढल व्यवस्थापन आयोजनाअन्तर्गत स्थानीय तहमा एकीकृत खानेपानी तथा ढल व्यवस्थापन पूर्वाधार निर्माण गरिनेछ। एडीबीका अनुसार यस आयोजनाबाट १३ जिल्लाका करिब ८ लाख ५० हजार नागरिक प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्। आयोजना विशेषगरी साना तथा मझौला सहरहरूको खानेपानी पूर्वाधार सुदृढीकरणमा केन्द्रित हुनेछ।
त्यसैगरी, दोस्रो आयोजनाअन्तर्गत नेपालको भन्सार प्रशासनलाई प्रविधिमैत्री बनाउने, जोखिममा आधारित जाँच प्रणाली लागू गर्ने तथा भन्सार प्रक्रियालाई सरलीकरण गर्ने लक्ष्य राखिएको छ । साथै, लजिस्टिक सेवा र नियामकीय संरचनाको आधुनिकीकरणमार्फत आपूर्ति व्यवस्थापन प्रणालीलाई थप प्रभावकारी बनाइनेछ ।
सरकारका अनुसार यस कार्यक्रमले व्यापार लागत घटाउने, सीमापार व्यापारलाई सहज र अनुमानयोग्य बनाउने, आपूर्ति शृङ्खलाको क्षमता अभिवृद्धि गर्ने तथा क्षेत्रीय मूल्य शृङ्खलामा नेपालको सहभागिता बढाउने अपेक्षा गरिएको छ ।
सम्झौता कार्यक्रममा अर्थमन्त्री डा. वाग्लेले नेपालको आर्थिक तथा पूर्वाधार विकासमा एडीबीको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै आगामी दिनमा पनि साझेदारी अझ सुदृढ हुने विश्वास व्यक्त गरे ।
एडीबी अध्यक्ष कान्दाले नेपालसँगको करिब छ दशक लामो सहकार्यलाई अझ प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता जनाउँदै नेपालको विकास प्राथमिकता तथा आर्थिक रूपान्तरणका प्रयासमा एडीबी निरन्तर साझेदार रहने बताए । उनले नेपालको आन्तरिक तथा बाह्य चुनौती सामना गर्न एडीबी आवश्यक सहयोग गर्न तयार रहेको पनि उल्लेख गरे ।
सम्झौता कार्यक्रममा नेपाल सरकार तथा एडीबीका उच्च अधिकारीहरूको सहभागिता रहेको थियो ।









