गायक दुर्गेश थापा र अभिनेत्री प्रियंका कार्की अभिनीत चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीत ‘ताराबाजी लैलै’ विवादमा परेपछि युट्युबबाट हटाइएको छ।
गीत सार्वजनिक भएलगत्तै त्यसमा प्रयोग भएका शब्द र दृश्यले शिक्षक तथा शिक्षण पेसाको गरिमामाथि आघात पुर्याएको भन्दै विभिन्न पक्षबाट विरोध भएको थियो। गीतमा विशेषगरी महिला शिक्षक र समग्र शिक्षण पेसालाई अपमानित गर्ने तथा अमर्यादित र सामाजिक संस्कृतिलाई भड्काउने खालका शब्द प्रयोग गरिएको भन्दै औपचारिक रूपमा आपत्ति जनाइएको थियो।
विवाद चुलिएपछि दुर्गेश थापा र प्रियंका कार्कीले सामाजिक सञ्जालमार्फत छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै क्षमायाचना गरेका छन्। साथै, विवादित गीत युट्युबबाट हटाइएको छ।
यसअघि नेपाल शिक्षक महासंघ र नेपाल राहत शिक्षक राष्ट्रिय समितिले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै गीतले शिक्षक र शिक्षण पेसाको गरिमामा गम्भीर प्रहार गरेको भन्दै तत्काल हटाउन र यस्ता सामग्री पुनः नदोहो¥याउन आग्रह गरेका थिए।
अभिनेत्री प्रियंका कार्कीले आफ्नो विज्ञप्तिमा कला र मनोरञ्जन प्रस्तुत गर्ने क्रममा समाजको सम्मानित पेसाप्रति कुनै पनि प्रकारको नकारात्मक सन्देश दिने उद्देश्य नरहेको स्पष्ट पारेकी छन्।
उनले विज्ञप्तिमा भनिन्, “उक्त गीतमा प्रयोग भएका केही शब्द र दृश्यले सम्मानित शिक्षक–शिक्षिका पेसा र यससँग जोडिएका आदरणीय व्यक्तित्वहरूको गरिमामा आँच पुगेको भन्ने गुनासाहरूलाई मैले अत्यन्तै गम्भीरतापूर्वक लिएकी छु। कला र मनोरञ्जन पस्कने क्रममा समाजको सबैभन्दा सम्मानित पेसा र मार्गदर्शक व्यक्तित्वहरूमाथि कुनै पनि प्रकारको नकारात्मक असर परोस् भन्ने मेरो वा मेरो टिमको मनसाय कदापि थिएन। यद्यपि, हाम्रो प्रस्तुतिले अन्जानमै तपाईंहरूको भावनामा चोट पुगेकोप्रति म व्यक्तिगत रूपमा तथा सम्पूर्ण टिमका तर्फबाट हृदयदेखि नै क्षमायाचना गर्दछु।”
विवादपछि चलचित्रको प्रचार सामग्रीसमेत पुनरावलोकन गरिने संकेत गरिएको छ। गीत हटाइएपछि यस विषयमा चलचित्र निर्माण पक्षले आगामी दिनमा थप सावधानी अपनाउने प्रतिबद्धता जनाएको छ।









