काठमाडौं । नेपाल आउने विदेशी पर्यटकले इतिहासकै सबैभन्दा लामो समय बस्न थाले पनि उनीहरूको दैनिक औसत खर्च भने लगातार घट्दै गएको देखिएको छ। सरकारी तथ्यांकले पर्यटकको बसाइ अवधि बढे पनि त्यसलाई पर्यटन आम्दानीमा रूपान्तरण गर्न नेपाल अझै असफल रहेको संकेत गरेको छ।
पर्यटन मन्त्रालयका अनुसार सन् २०२५ मा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको औसत बसाइ अवधि १६.३४ दिन पुगेको छ, जुन अहिलेसम्मकै उच्च हो। तर उनीहरूको औसत दैनिक खर्च ३३.०९ अमेरिकी डलरमा सीमित भएको छ। यो इतिहासकै दोस्रो न्यून स्तर हो। तुलना गर्दा दक्षिण एसियाली मुलुकहरूमा विदेशी पर्यटकको औसत दैनिक खर्च १०० देखि १५० अमेरिकी डलरसम्म रहने गरेको छ।
मन्त्रालयका अनुसार सन् २००३ मा नेपाल आउने पर्यटकको दैनिक औसत खर्च ७९.१ अमेरिकी डलरसम्म पुगेको थियो। त्यसयता खर्च क्रमशः घट्दै आएको छ। इतिहासकै सबैभन्दा कम दैनिक खर्च सन् १९९६ मा ३१.९ अमेरिकी डलर थियो।
पर्यटन मन्त्रालयले सन् २०२५ देखि केन्द्रीय विद्युतीय पर्यटन व्यवस्थापन सूचना प्रणालीमार्फत पर्यटकको बसाइ अवधि गणना गर्न थालेपछि तथ्यांक अझ विश्वसनीय बनेको जनाएको छ। मन्त्रालयका अनुसार प्राकृतिक तथा सांस्कृतिक गन्तव्यमा पर्यटकले बढी समय बिताउन थालेका कारण बसाइ अवधि बढेको हो।
यद्यपि पर्यटन व्यवसायीहरूका अनुसार लामो बसाइले अपेक्षित आर्थिक लाभ भने दिन सकेको छैन। सामान्यतः पर्यटक धेरै दिन बस्दा आवास, खानपान, यातायात र अन्य सेवामा खर्च बढ्ने अपेक्षा गरिए पनि नेपालमा त्यसको प्रत्यक्ष लाभ देखिएको छैन।
होटल व्यवसायी योगेन्द्र शाक्यका अनुसार नेपालको हवाई तथा सडक यातायातको सुरक्षाप्रति अन्तर्राष्ट्रिय स्तरमा रहेको चिन्ताका कारण उच्च खर्च गर्ने पर्यटक नेपाल आउन हिच्किचाउने गरेका छन्। उनका अनुसार लक्जरी होटल र रिसोर्ट विस्तार भए पनि सुरक्षित यातायात, गुणस्तरीय सेवा र अन्तर्राष्ट्रिय विश्वास अभावका कारण सम्पन्न पर्यटक आकर्षित गर्न कठिन भइरहेको छ।
नेपाल सन् २०१३ देखि युरोपेली आयोगको हवाई सुरक्षा ‘ब्ल्याकलिस्ट’मा रहेकाले नेपाली वायुसेवा कम्पनीले युरोपमा उडान गर्न पाएका छैनन्। पर्यटन व्यवसायीहरूका अनुसार बारम्बार हुने विमान दुर्घटना, कमजोर सडक पूर्वाधार, राजनीतिक अस्थिरता तथा अन्तर्राष्ट्रिय प्रवर्द्धनको कमजोरीले नेपालको प्रतिस्पर्धात्मक क्षमता कमजोर बनाएको छ।
सन् २०२५ मा नेपालमा करिब १५ लाख विदेशी पर्यटक आएका थिए। तीमध्ये ९१ प्रतिशत हवाई मार्गबाट आएका थिए भने १ लाख ४६ हजार ६३० जना स्थलमार्गबाट नेपाल प्रवेश गरेका थिए। लगातार तेस्रो वर्ष १० लाखभन्दा बढी पर्यटक भित्रिए पनि कोभिड–१९ महामारीअघि सन् २०१९ मा रहेको आगमनको स्तर अझै भेटिएको छैन।
पछिल्ला वर्षहरूमा शिन्तामणि मुस्ताङ, दुसित थानी हिमालयन रिसोर्ट एन्ड स्पा, द टेरेसेस रिसोर्ट एन्ड स्पा तथा काव्य रिसोर्टजस्ता उच्चस्तरीय होटल सञ्चालनमा आएका छन्। काठमाडौंमा रिट्ज–कार्लटनसहितका अल्ट्रा–लक्जरी होटल निर्माणाधीन छन्। तर व्यवसायीहरूका अनुसार यस्ता होटलले अपेक्षित अकुपेन्सी हासिल गर्न सकेका छैनन्।
नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ कमजोर हुँदा नेपाल विदेशीका लागि तुलनात्मक रूपमा सस्तो गन्तव्य बनेको छ। साथै होटल तथा रिसोर्टको संख्या तीव्र रूपमा बढेसँगै मूल्य प्रतिस्पर्धा बढेकाले पनि पर्यटकको औसत दैनिक खर्च घटेको देखिएको उनले बताए।
पर्यटन क्षेत्रका जानकारहरूका अनुसार नेपालमा लक्जरी पर्यटनको पर्याप्त सम्भावना भए पनि सुरक्षित हवाई तथा सडक यातायात, राजनीतिक स्थायित्व, प्रभावकारी अन्तर्राष्ट्रिय प्रवर्द्धन र उच्चस्तरीय सेवा सुनिश्चित गर्न नसकेसम्म पर्यटकको बसाइ लम्बिए पनि पर्यटनबाट हुने आम्दानी उल्लेख्य रूपमा बढाउन चुनौती रहनेछ।








