काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले धुलिखेलस्थित एक रिसोर्टमा करिब २४ घण्टा बसेर आइतबार काठमाडौं फर्किएका छन्। पार्टी र सरकारबीच समन्वय कमजोर बन्दै गएको चर्चा भइरहेका बेला दुई शीर्ष नेताको यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
उनीहरू शनिबार अपराह्न धुलिखेलको दूसित थानी हिमालयन रिसोर्ट पुगेका थिए। रिसोर्टका लगानीकर्तामध्ये अर्थमन्त्री वाग्ले पनि रहेका छन्। दुवै नेता वाग्लेकै लगानी रहेको भिल्लामा बसेका थिए। सभापति लामिछानेसँग उनकी पत्नी निकिता पनि रिसोर्ट पुगेकी थिइन्।
जिल्ला प्रहरी कार्यालयका एक अधिकारीका अनुसार उनीहरू निजी प्रयोजनका लागि रिसोर्ट पुगेका थिए र त्यसबारे प्रहरी–प्रशासनलाई पूर्वजानकारी थिएन।
बजेटपछि बढ्यो प्रधानमन्त्री–अर्थमन्त्री दूरी
रास्वपा स्रोतका अनुसार पछिल्ला दिनमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र अर्थमन्त्री वाग्लेबिच बजेट तथा आर्थिक नीतिलाई लिएर सम्बन्ध चिसिएको छ। विशेषगरी शिक्षा, स्वास्थ्य र विद्युत् जस्ता आधारभूत क्षेत्रमा कर लगाउने निर्णयप्रति प्रधानमन्त्री असन्तुष्ट रहेको बताइएको छ।
सत्तापक्षका एक सांसदका अनुसार प्रधानमन्त्रीले उक्त कर नीतिका कारण जनतामाझ जान कठिन भएको भन्दै आफ्नो असन्तुष्टि पार्टी नेतृत्वसमक्ष पनि व्यक्त गरेका छन्।
रास्वपाका सांसदहरू समेत बजेटका केही कर नीतिप्रति सन्तुष्ट नरहेको बताइएको छ। शिक्षामन्त्री सस्मित पोखरेलले समेत शिक्षामा कर लगाउने विषयमा आफूसँग पर्याप्त परामर्श नगरिएको प्रतिक्रिया दिएका थिए।
अर्थमन्त्रीलाई ‘बाइपास’ गरिएको आरोप
पार्टीभित्र अर्थमन्त्री वाग्लेमाथि प्रधानमन्त्रीले विश्वास नगरेको र व्यवहारमै उनलाई ‘बाइपास’ गरिएको गुनासो पनि उठेको छ।
प्रधानमन्त्रीले अर्थतन्त्र सुधारका लागि उद्योगी–व्यवसायी, नेपाल राष्ट्र बैंक, निर्माण व्यवसायी, होटल व्यवसायी लगायत निजी क्षेत्रसँग उच्चस्तरीय छलफलहरू गरे पनि ती बैठकमा अर्थमन्त्रीलाई सहभागी नगराइएको र उनको स्थानमा रास्वपाकी सांसद विदुषी राणालाई सहभागी गराइएको भन्दै असन्तुष्टि बढेको स्रोतको दाबी छ।
रास्वपाका एक पदाधिकारीका अनुसार प्रधानमन्त्रीले अर्थ मन्त्रालयसँग सम्बन्धित विषयमा समेत अर्थमन्त्रीलाई पर्याप्त भूमिका नदिँदा वाग्ले असहज महसुस गरिरहेका छन्।
सरकार–पार्टीबीच समन्वय कमजोर
पार्टीका नेताहरूले सरकार र पार्टीबीच आवश्यक समन्वयको अभाव देखिएको बताएका छन्। उनीहरूका अनुसार सरकारले गरेका निर्णयबारे पार्टी नेतृत्व समयमै जानकारी नपाउने र पार्टीका धारणा पनि सरकारसम्म प्रभावकारी रूपमा नपुग्ने अवस्था बनेको छ।
बजेटका कारण निर्वाचन क्षेत्रमा जनतासामु जान कठिन भएको भन्दै सांसद तथा तल्लो तहका कार्यकर्ताले नेतृत्वमाथि दबाब बढाइरहेको पनि नेताहरूको भनाइ छ।
मन्त्रिमण्डल हेरफेरको चर्चा
आन्तरिक असन्तुष्टि बढ्दै गएपछि रास्वपाभित्र मन्त्रिमण्डल पुनर्गठनको सम्भावनाबारे पनि चर्चा सुरु भएको स्रोतले जनाएको छ। यद्यपि तत्काल अर्थमन्त्री परिवर्तन हुने सम्भावना कम रहेको नेताहरूको बुझाइ छ।
पार्टी स्रोतका अनुसार धुलिखेलमा भएको लामिछाने–वाग्ले भेटमा प्रधानमन्त्रीसँग देखिएको दूरी, बजेटप्रतिको असन्तुष्टि, सरकार–पार्टी समन्वय तथा आगामी राजनीतिक रणनीतिबारे गम्भीर छलफल भएको अनुमान गरिएको छ। यद्यपि यसबारे रास्वपाले औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन।









