४ श्रावण २०८३, सोमबार | Mon Jul 20 2026

बर्खायामसँगै ८० राजमार्ग जोखिममा, पहिरो पन्छाउन २७७ उपकरण तयारी अवस्थामा



काठमाडौं । बर्खायाम सुरु भएसँगै देशभरका करिब ८० वटा राजमार्गका विभिन्न खण्डमा पहिरोको जोखिम बढेको छ। लगातारको वर्षासँगै पहिरो खस्दा सवारी आवागमन प्रभावित हुने सम्भावना बढेपछि सडक विभागले जोखिमयुक्त क्षेत्रमा उपकरण र जनशक्ति तयारी अवस्थामा राखेको जनाएको छ।

सबैभन्दा बढी संवेदनशील मानिएको नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत तुइनखोलामा दैनिकजसो पहिरो खस्ने गरेको छ। पहिरो खसेलगत्तै एक्स्काभेटर र अन्य उपकरण परिचालन गरी सडक खुलाउने काम भइरहेको विभागले जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाले भारी वर्षाको सम्भावना औँल्याएपछि जिल्ला प्रशासन कार्यालय चितवनले सुरक्षाका लागि नारायणगढ–मुग्लिन तथा नागढुंगा–मुग्लिन सडकखण्डमा रातिको समयमा सवारी आवागमन अस्थायी रूपमा रोक्ने निर्णयसमेत गरेको छ।

सडक विभागका अनुसार बर्खायाममा कान्ति राजमार्ग, बीपी राजमार्ग, नागढुंगा–मुग्लिन सडक, कोशी, कर्णाली र कालीगण्डकी करिडोर, साँफे–मार्तडी सडक, भालुबाङ–प्यूठान सडक, सुर्खेत–नेपालगन्ज सडक, मेची राजमार्ग, नारायणगढ–मुग्लिन तथा गल्छी–त्रिशूली–स्याफ्रुबेंसी–रसुवागढी सडक लगायतका मार्गमा पहिरोको जोखिम उच्च रहने गरेको छ।

निर्माणाधीन नागढुंगा–मुग्लिन सडक अन्तर्गत फुर्के खोला, झ्याप्ले खोला, चारकिलो, रातमाटे, शीतलबजार, ज्यामिरेघाट, मौवा खोला र घोप्टेभीरलगायत क्षेत्र विशेष जोखिममा रहेका छन्। सडक निर्माण भइरहेकाले पहिचान गरिएका स्थानबाहेक नयाँ–नयाँ ठाउँबाट समेत पहिरो खस्ने चुनौती रहेको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयका प्रमुख सौजन्य नेपालले बताए।

उनका अनुसार हालसम्म पहिरोका कारण लामो समय सडक अवरुद्ध हुने अवस्था आएको छैन। “पानी रोकिएलगत्तै मेसिन परिचालन गरेर सडक खुलाइँदै आएको छ। तर लगातार भारी वर्षा भए जोखिम बढ्न सक्छ,” उनले भने।

उता अरनिको राजमार्गको कोदारी खण्ड मा सडक भासिनुका साथै पहिरोका कारण आवागमन बारम्बार प्रभावित भइरहेको छ भने कान्ति राजमार्ग अन्तर्गत ललितपुर र मकवानपुरका काल्चे, टाकुचे, भैंसे, भालुखोला, भट्टेपाखा, सिमात र ठिंगन क्षेत्रमा दैनिकजसो पहिरो खस्ने गरेको छ। यस मार्गबाट राजधानीमा दूध तथा तरकारी ढुवानी हुने भएकाले यसको अवरोधले आपूर्ति व्यवस्थामा समेत असर पर्ने गरेको छ।

यस्तै, मेची राजमार्ग अन्तर्गत इलामको राजदुवाली खण्डमा ठूलो पहिरो खसेपछि एक सातादेखि सडक पूर्ण रूपमा बन्द रहेको छ। सडक डिभिजन कार्यालय इलामका अनुसार मर्मत कार्य जारी रहे पनि सडक खुल्न अझै करिब एक साताको समय लाग्नेछ। हाल तिल्केनी–सिमलगोला सडकलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गरिएको छ।

पहिरो व्यवस्थापनका लागि सडक विभागले देशभर १५५ वटा उपकरण विभिन्न राजमार्गमा परिचालन गरिसकेको छ भने थप १२२ वटा उपकरण तयारी अवस्थामा राखिएको छ। विभागसँग कुल २७७ वटा हेभी उपकरण रहेको यान्त्रिक महाशाखाले जनाएको छ।

सडक विभागका उपमहानिर्देशक एवं यान्त्रिक महाशाखा प्रमुख भुवन अधिकारीका अनुसार जोखिमयुक्त क्षेत्रमा आवश्यकताअनुसार एक्स्काभेटर, लोडर, टिपर र ट्रक तैनाथ गरिएका छन्। उनका अनुसार अहिलेसम्म हटाउन नसकिने प्रकृतिको पहिरो भने कतै गएको छैन, तर लगातारको वर्षा जारी रहे राजमार्गहरूमा थप जोखिम सिर्जना हुन सक्ने भएकाले यात्रुहरूलाई मौसमको जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरिएको छ।

प्रकाशित मिति : ४ श्रावण २०८३, सोमबार  १२ : २७ बजे