काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफूले तत्कालीन राजा ज्ञानेन्द्र शाहलाई समेत प्रजातन्त्रविरुद्ध कुनै कुरा स्वीकार नगर्ने स्पष्ट रूपमा बताएको स्मरण गरेका छन्।
शुक्रबार काठमाडौंको सुकेधारास्थित मिराज पार्टी प्यालेसमा आयोजित कांग्रेसको इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै देउवाले पूर्वराजा ज्ञानेन्द्रसँग भएको भेटवार्ता स्मरण गर्दै आफूलाई त्यतिबेला शाही आयोगमार्फत जेल हालिएको बताएका हुन् । विदेशबाट फर्किएपछि देउवाको यो पहिलो सार्वजनिक राजनीतिक सम्बोधन हो ।
पूर्वराजा ज्ञानेन्द्रसँगको आफ्नो तस्बिर सामाजिक सञ्जालमा राखेर प्रश्न उठाइएको विषयबारे आफू जानकार रहेको उल्लेख गर्दै देउवाले जनताले ल्याएको गणतन्त्रलाई अब कसैले समाप्त गर्न नसक्ने दाबी गरे।
‘मैले राजालाई सरकारबाट जे हुकुम हुन्छ, म मान्न तयार छु। प्रजातन्त्रको खिलापमा कुनै कुरा मान्न सक्दिनँ भनेकै हो,’ देउवाले भने।
आफूले यस्तो धारणा राखेपछि राजाले शाही आयोग गठन गरेर जेल हालेको उनले बताए। ‘प्रजातन्त्रको खिलाप कुनै कुरा मान्दिनँ भनेपछि मलाई राजाले जेल हाल्यो। शाही आयोगले मलाई जेल हाल्यो। न्यायबाट मलाई न्याय मिलेको हो,’ उनले भने।
देउवाले विद्यार्थी जीवनदेखि नै पटक–पटक जेल परे पनि अदालतबाट न्याय पाउँदै आएको स्मरण गर्दै अहिले पनि न्यायालयले आफूलाई न्याय दिने विश्वास व्यक्त गरे।
‘अहिले पनि मलाई न्यायालयले न्याय दिने विश्वास छ,’ उनले भने।
‘जनताले ल्याएको गणतन्त्र कसैले मास्न सक्दैन’
देउवाले गणतन्त्रबारे कुनै शंका नगर्न आग्रह गर्दै जनताले ल्याएको गणतन्त्रलाई कसैले समाप्त गर्न नसक्ने बताए।
आफूले तत्कालीन राजालाई बेलायतको उदाहरण दिँदै संवैधानिक भूमिकामा सीमित हुन आग्रह गरेको उनले बताए। ‘बेलायतको उदाहरण दिएर राजालाई संवैधानिक हुन सम्झाएको हुँ। राजाले संवैधानिक हुन सकेन त के गरूँ? उल्टो मलाई जेल हालिदियो,’ देउवाले भने।
‘मुलुक कठिन परिस्थितिबाट गुज्रिरहेको छ’
देउवाले मुलुकको वर्तमान राजनीतिक, आर्थिक, सामाजिक र कूटनीतिक अवस्था संवेदनशील रहेको बताए।
‘मुलुकको राजनीतिक अवस्था अत्यन्त संवेदनशील देखिएको छ। राजनीतिक, आर्थिक, सामाजिक, कूटनीतिक रूपमा मुलुक कठिन परिस्थितिबाट गुज्रिरहेको छ,’ उनले भने।
यस्तो अवस्थामा सबै राजनीतिक शक्ति मिलेर अघि बढ्नुपर्नेमा जोड दिँदै देउवाले समाजमा देखिएको निराशालाई आशामा बदल्ने जिम्मेवारी नेपाली कांग्रेसले लिनुपर्ने बताए।
‘समाजमा निराशा देखिएको छ। त्यसलाई आशामा बदल्नुपर्दछ। त्यो दायित्व पनि सबभन्दा पुरानो पार्टीको नाताले नेपाली कांग्रेसले लिनुपर्छ,’ उनले भने।
इतिहासबाट पाठ सिकेर गन्तव्य निर्धारण गर्न सके मात्र सही बाटो पहिल्याउन सकिने उनको भनाइ थियो।
देउवाले मुलुकमा ‘केही पनि भएन’ भन्ने भाष्य निर्माण भइरहेको भन्दै त्यसलाई चिर्नुपर्ने बताए। ‘केही भएन भन्ने भाष्यले क्षणिक फाइदा त होला तर मुलुक झन्–झन् कमजोर हुँदै जानेछ,’ उनले भने।
कांग्रेस एकजुट बनाउन पहल गर्ने
कांग्रेसभित्र देखिएको विवाद समाधानका लागि आफूले पहल गर्ने देउवाले बताए। उनले बृहत्तर राजनीतिक सहमति खोजेर मुलुकलाई निकास दिने प्रयास गर्ने प्रतिबद्धता जनाए।
‘बृहत्तर राजनीतिक सहमति खोजेर निकास दिने पहल गर्नेछु,’ देउवाले भने।
विशेष महाधिवेशनका कारण कांग्रेसमा विग्रहको अवस्था आएको उनको दाबी थियो। पार्टीलाई कमजोर बनाउने गरी विधि र विधान मिचिएको आरोप लगाउँदै उनले सर्वोच्च अदालतबाट आफूहरूलाई न्याय हुनेमा विश्वस्त रहेको बताए।
‘बीपीले देखाएको बाटोमा हिँडिरहनेछु’
देउवाले आफू विद्यार्थी जीवनदेखि नै प्रजातन्त्र, लोकतन्त्र, मानव अधिकार, प्रेस स्वतन्त्रता र नागरिक सर्वोच्चताको पक्षमा संघर्ष गर्दै आएको बताए।
अब जीवन रहेसम्म पनि देश र जनताका लागि काम गरिरहने प्रतिबद्धता व्यक्त गर्दै उनले भने, ‘विद्यार्थीकालदेखि लडेको मान्छे हुँ। बीपी कोइरालालगायतका नेताले देखाएको बाटोमा हिँडेको मान्छे हुँ, हिँडिरहनेछु।’









