काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका मन्त्री तथा सांसदहरूलाई संसद्मा मर्यादित रूपमा प्रस्तुत हुन र सरकारका कामकारबाही प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।
रास्वपाको संसदीय दलको कार्यालय सिंहदरबारमा बुधबार बसेको संसदीय दलको बैठकमा लामिछानेले मन्त्री तथा सांसदहरूलाई सरकार सञ्चालन, संसदीय भूमिका र आपसी समन्वयका विषयमा सुझाव तथा निर्देशन दिएका हुन् ।
लामिछानेले सांसद र मन्त्री दुवैले आफ्नो व्यवहार र गतिविधिमा संसदीय मर्यादा कायम गर्नुपर्नेमा जोड दिएका थिए । उनले अमर्यादित गतिविधि गरेर रमिता नदेखाउन आग्रह गर्दै जनताले सांसदलाई र सांसदले मन्त्रीलाई प्रश्न गरिरहेको अवस्थालाई आफूले बुझेको बताएका थिए ।
उनले योग्यताक्रम र समावेशितालाई ध्यानमा राखेर अघि बढ्नुपर्ने भन्दै घमण्ड त्यागेर आपसी समन्वय र संवादका आधारमा काम गर्नुपर्ने बताए । सांसद र मन्त्रीबीच प्रभावकारी सहकार्य र समन्वय भए मात्रै सरकार प्रभावकारी बन्ने उनको भनाइ थियो ।
लामिछानेले प्रतिनिधिसभामा बोल्ने विषयमा मुख्य सचेतक कबिन्द्र बुर्लाकोटी तथा सचेतकहरू प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई जानकारी गराउन पनि सांसदहरूलाई निर्देशन दिए । संसद्मा बोल्ने विषय, भ्रमण, भेटघाटलगायत गतिविधि पारदर्शी बनाउनुपर्ने भन्दै उनले पार्टीलाई आवश्यक जानकारी गराउन आग्रह गरे ।
‘राजनीति पाँच वर्ष मात्रै गर्ने हो भने फूलमाला लगाएर बिदाइ गर्छु’
लामिछानेले संसद्को यो कार्यकाल मात्रै राजनीति गर्ने सोचका साथ आएका नेताहरूलाई ससम्मान बिदाइ गर्ने टिप्पणी पनि गरे । उनले सांसदहरूलाई जिम्मेवारीपूर्वक काम गर्न आग्रह गर्दै लगानीबिना पद प्राप्त भएको जस्तो ठान्ने प्रवृत्तिबाट मुक्त हुनुपर्ने बताए ।
उनले विगतमा रास्वपाको आलोचना र घृणा गर्नेहरू अहिले आफूभन्दा ठूलो रास्वपा बन्न खोजिरहेको दाबीसमेत गरे । रास्वपाको चुनाव चिह्न ‘घण्टी’प्रति आकर्षण बढेको संकेत गर्दै उनले पार्टीको आलोचना गर्नेहरू नै अहिले त्यही राजनीतिक धारमा आउन थालेको बताएका थिए ।
मन्त्री परिवर्तन नगर्ने, कार्यशैली सुधार्ने आश्वासन
बैठकमा सांसदहरूले मन्त्रीहरूको कार्यशैलीप्रति गुनासो तथा आलोचना गरेका थिए । सांसदहरूको गुनासो सुनेपछि लामिछानेले आगामी दिनमा मन्त्रीहरूको कार्यशैली परिवर्तन हुने तर तत्काल मन्त्रीहरू परिवर्तन नहुने स्पष्ट पारे ।
उनले पार्टीले आवश्यक परे निर्णय गर्ने भए पनि अहिले मन्त्रीहरू परिवर्तन नहुने भन्दै मन्त्रीहरूलाई ढुक्क भएर प्रभावकारी रूपमा काम गर्न निर्देशन दिए । सांसदहरूले उठाएका विषयहरूलाई सम्बोधन गर्दै सरकारका समस्या सामूहिक रूपमा सामना गर्नुपर्ने उनको भनाइ थियो ।
लामिछानेले मन्त्री र सांसदहरूलाई प्रचारमुखी गतिविधिभन्दा कामको परिणाममा ध्यान दिन पनि आग्रह गरे ।
सरकारका कामबारे प्रश्न गर्न सांसदलाई छुट
लामिछानेले सरकार तथा मन्त्रीका कामकारबाहीबारे संसद्मा सांसदहरूले प्रश्न गर्नुपर्ने बताएका थिए । सरकारको कामको समीक्षात्मक रूपमा टिप्पणी गर्न सांसदहरू स्वतन्त्र रहेको तर त्यस्तो भूमिका निर्वाह गर्दा संसदीय मर्यादा कायम गर्नुपर्ने उनको भनाइ थियो ।
मन्त्रीहरूले आश्वासन दिएका काम पूरा नगरे आफूलाई जानकारी गराउन पनि उनले सांसदहरूलाई आग्रह गरे ।
साथै, विपक्षी दलका सांसदहरूले संसद्मा उठाएका विषयलाई लिएर तत्काल प्रतिवादमा उत्रिन पनि उनले आफ्ना सांसदहरूलाई निर्देशन दिएनन् । विपक्षी दलका सांसदहरूले आफ्नो भूमिका निर्वाह गरिरहेको भन्दै रास्वपाका सांसदहरूले पनि आफ्नो जिम्मेवारीमा केन्द्रित हुनुपर्ने उनले बताएका थिए ।
अर्को बैठक प्रधानमन्त्री शाहको उपस्थितिमा
लामिछानेले संसदीय दलको आगामी बैठक दलका नेता तथा प्रधानमन्त्री वालेन्द्र शाहको उपस्थितिमा बस्ने जानकारी पनि गराए । त्यसबारे प्रधानमन्त्री शाहसँग आफूले कुराकानी गरिसकेको उनले सांसदहरूलाई बताए ।
सरकार शक्तिशाली भए पनि विपक्षी दलहरू एकताबद्ध भएर संसद्मा प्रस्तुत भइरहेको उल्लेख गर्दै लामिछानेले पार्टी, सांसद र सरकारबीचको समन्वय अझ मजबुत बनाउनुपर्नेमा जोड दिए ।
संसदीय दलको विधान संशोधन गर्न कार्यदल
रास्वपाको संसदीय दलको बैठकले संसदीय दलको विधानमा सामयिक संशोधन गर्न कार्यदल गठन गरेको छ ।
मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीको संयोजकत्वमा गठित कार्यदलमा सचेतकहरू प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताल तथा सांसद गणेश कार्की सदस्य रहेका छन् । कार्यदलले संसदीय दलको विधानमा आवश्यक संशोधनका विषयमा अध्ययन गरी सुझाव दिनेछ ।









