भोटेकोसी नदीमा आएको भीषण बाढीका कारण तीन वटा जिल्लाका झण्डै ३३ हजार मानिस प्रभावित भएको प्रारम्भिक आकलन गरिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शुक्रबार साँझसम्म बाढीमा परेर एक हजार ३८६ जनाको मृत्यु भइसकेको छ। मृतकमध्ये १०४ जनाको शव पहिचान गरी परिवारलाई हस्तान्तरण गरिएको छ भने बाढीपछि पाँच हजार १३० जना अझै सम्पर्कविहीन रहेका छन्। बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्य निरन्तर जारी छ।
प्राधिकरणको प्रारम्भिक क्षति तथा आवश्यकता आकलन प्रतिवेदनअनुसार भोटेकोसी बाढीका कारण तीन जिल्लाका आठ हजार ३१७ परिवारका ३२ हजार ९३६ जना प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। बाढीले सात हजार ५७० वटा निजी भवनमा क्षति पुर्याएको छ। विपद्बाट सबैभन्दा बढी चार वटा स्थानीय तह प्रभावित बनेका छन्। जसमध्ये नुवाकोटको विदुर नगरपालिकाका तीन हजार ४५१, रसुवाको गोसाइँकुण्डका एक हजार १५६, धादिङको बेनीघाट रोराङका एक हजार १४९ र नुवाकोटकै किस्याङका ७२१ परिवार रहेका छन्।
बाढीले व्यापक रूपमा भौतिक तथा सामाजिक पूर्वाधारमा ध्वस्त बनाएको छ। प्राधिकरणको तथ्यांक अनुसार १३ वटा जलविद्युत् आयोजना, ६८ झोलुंगे पुल, ३७ मोटरेबल पुल, ६९ किलोमिटर सडक र ४४३ किलोमिटर खानेपानीको पाइपलाइनमा क्षति पुगेको छ। यसैगरी चार हजार आठ सय व्यावसायिक प्रतिष्ठान, १७ बैंक शाखा, एक हजार ८०६ हेक्टरमा लगाइएको बाली र ६९७ हेक्टर सिञ्चित कृषि क्षेत्र नष्ट भएको छ। साथै ४८ वटा सार्वजनिक भवन, ३० वटा सम्पदा स्थल, १९ वटा विद्यालय र सात वटा स्वास्थ्य संस्थामा पनि क्षति पुगेको छ। बाढीका कारण प्रभावित क्षेत्रका ९७.२२ प्रतिशत मानिसहरूको जीविकोपार्जनमा प्रत्यक्ष असर परेको छ।
प्रारम्भिक अनुमान अनुसार भोटेकोसी बाढीले सबै क्षेत्रमा गरी कुल चार खर्ब आठ अर्ब रूपैयाँ बराबरको ठूलो आर्थिक क्षति पुर्याएको छ। अहिले प्रभावित क्षेत्रमा तत्काल राहत तथा व्यवस्थापनका लागि आठ अर्ब ७३ करोड रुपैयाँ लाग्ने देखिएको छ। दीर्घकालीन पुनर्निर्माण र पुनर्स्थापनाका लागि भने सात खर्ब २३ अर्ब रुपैयाँ लाग्ने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आकलन छ।









