धनुषाको विदेह नगरपालिकाबाट अपहरणमा परेका १५ महिने बालक सिधान्त महतोलाई प्रहरीले ११ दिनपछि सकुशल उद्धार गरी अभिभावकको जिम्मा लगाएको छ। बालकको अपहरणमा संलग्न कमला नगरपालिका–९, हथलेट्वाकी ४१ वर्षीया पुनिता देवी पासवानलाई भारततर्फ भाग्दै गर्दा सीमावर्ती दशगजा क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार गत भदौ १८ गते अपरान्ह विदेह नगरपालिका–६, तीनकोरिया निवासी कमलेश महतोका १५ महिने छोरा घरकै आँगनमा खेलिरहेको अवस्थामा गायब भएका थिए। घटनाको खबर पाएलगत्तै प्रहरी उपरीक्षक रुपेश खड्काको कमाण्डमा तालिमप्राप्त कुकुरसहित ६० जनाको विशेष प्रहरी टोली परिचालन गरिएको थियो। साथै, प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनाल र मधेस प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक बबिन्द्र नेम्बाङ्गको संयुक्त अनुसन्धान टोलीले प्राविधिक विश्लेषणसहित सूक्ष्म खोजतलास अघि बढाएको थियो।
अनुसन्धानका क्रममा पुनिता देवी पासवानले बालकको अपहरण गरी नेपाल तथा भारतका विभिन्न स्थानमा ठाउँ परिवर्तन गर्दै लुकाएर राखेको खुलेको छ। प्रहरीले नाकामा २४ सै घण्टा घेराबन्दी र कडा निगरानी बढाएपछि दबाबमा परेकी ती महिलाले भदौ २९ गते अपरान्ह बालकलाई उनको घरभन्दा करिब ३०० मिटर टाढा सडकछेउमा छाडेर भागेकी थिइन्।
प्रहरीले बालकको तत्काल उद्धार गरी स्वास्थ्य परीक्षणपश्चात् परिवारको जिम्मा लगाएको छ। बालकको स्वास्थ्य अवस्था सामान्य रहेको छ। यता बालकलाई छाडेर भारततर्फ भाग्दै गरेकी शंकित महिलालाई विदेह–१, महिनाथपुरस्थित दशगजा क्षेत्रबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डिएसपी ओमप्रकाश खनालले जानकारी दिए । पक्राउ परेकी महिलामाथि अपहरण, शरीर बन्धक तथा मानव बेचबिखन सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।









