१८ आश्विन २०८३, आइतबार | Mon Oct 5 2026

कांग्रेसको १५ औँ महाधिवेशन सौम्य रुपमा सुरु



काठमाडौँ । बाढीपहिरोका कारण मुलुक संकटमा परेको भन्दै कुनै तडकभडक र असरल्ल ब्यानरबिना नै काठमाडौँको खुलामञ्चमा आइतबार नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको सौम्य उद्घाटन सत्र सम्पन्न भएको छ ।

डिजिटलाइज्ड मञ्च र चारतारे झण्डाका बीच पञ्चेबाजा बजाएर देशभित्र तथा प्रवासबाट आएका सात हजारभन्दा बढी प्रतिनिधि, नेता र पाहुनालाई स्वागत गर्दै करिब एक दशकपछि पुनः खुलामञ्चमा कांग्रेसले आफ्नो महाधिवेशन आयोजना गरेको हो ।

अघिल्ला महाधिवेशनहरूमा झैँ चोक–चोकमा गेट र पर्चा–पम्प्लेटको तडकभडक नदेखिए पनि खुलामञ्चमा १८ वर्षका युवादेखि ज्येष्ठ नागरिकसम्मको बाक्लो उपस्थिति थियो । महाधिवेशनस्थलमा उपस्थित प्रतिनिधिहरूबीच कांग्रेसको भावी नीति, नेतृत्व र बदलिँदो स्वरूपबारे तीव्र विमर्श चलेको देखिन्थ्यो। विशेष गरी महाधिवेशनमा पुस्तान्तरण, रूपान्तरण र युवा प्रतिनिधित्वको मुद्दा प्रमुखताका साथ उठेको छ ।

२०१७ सालदेखि नै पार्टीमा सक्रिय रहँदै आएकी चितवनकी ७८ वर्षीया शारदा देवी गुरुङले आफूले लामो समय पार्टीमा योगदान दिएर यसपटक बहिनीहरूलाई प्रतिनिधि बनाएर ल्याएको बताउनुभयो। गुटबन्दीले पार्टीलाई क्षति पुर्याएको उल्लेख गर्दै उहाँले अब बदलिएको र एकताबद्ध कांग्रेस हेर्ने चाहना व्यक्त गरे ।

यसपटकको महाधिवेशनमा युवाको उपस्थिति र उत्साह निकै रोचक देखिएको छ । पार्टीले ३५ वर्षमुनिका लागि २१ जना केन्द्रीय सदस्यको कोटा निर्धारण गरेपछि युवाहरू थप आकर्षित भएका छन् । अघिल्लो पुस्ताको राजनीतिबाट निराश भएर आफैँ मैदानमा उत्रिएको बताउने १८ वर्षीया कान्छी प्रतिनिधि अभिप्सा पौडेलले १५ औँ महाधिवेशनपछि कांग्रेस शक्ति केन्द्रित नभई जनता केन्द्रित हुने विश्वास व्यक्त गरिन् ।

महाधिवेशनमा निवर्तमान सभापति शेरबहादुर देउवाको अनुपस्थितिलाई लिएर केही कार्यकर्ताले असन्तुष्टि पोखेका थिए भने पार्टीभित्रको आन्तरिक विवाद स्थानीय तहको निर्वाचनसम्म सुल्झिनेमा नेता तथा प्रतिनिधिहरू विश्वस्त देखिन्छन् ।

समारोहमा सहभागी धेरैजसो प्रतिनिधिहरूले अबको नेतृत्वबारे खुलेरै धारणा राख्दै कांग्रेसको नेतृत्वमा गगन थापाको निरन्तरता हुनुपर्नेमा जोड दिएका छन् । युवा सहभागिता, संयमित वातावरण र रूपान्तरणको बहसका बीच प्रारम्भ भएको यस महाधिवेशनले कांग्रेसलाई नयाँ ढङ्गले अघि बढाउने आशा र भरोसा प्रतिनिधिहरूले व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १८ आश्विन २०८३, आइतबार  १० : ५१ बजे