१८ आश्विन २०८३, आइतबार | Mon Oct 5 2026

चुनावको मुखमा अमेरिकी बुद्धबुद्धालाई ट्रम्पले गरे ९० डलर दिने घोषणा



अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जेष्ठ नागरिकहरूको स्वास्थ्य बीमा कार्यक्रम ‘मेडिकेयर’ मा आबद्ध दुई करोडभन्दा बढी नागरिकलाई मासिक प्रिमियमको खर्च भार कम गर्न एकमुष्ठ ९० डलरको आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेका छन् ।

शुक्रबार राति सामाजिक सञ्जालमार्फत जानकारी दिँदै ट्रम्पले अमेरिकी संसद्ले मेडिकेयरको सेवा सुधारका लागि विनियोजन गरेको दुई अर्ब डलरको मेडिकेयर सुधार कोषमार्फत सो रकम उपलब्ध गराइने बताएका हुन् । ह्वाइट हाउसले आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको विवरण अनुसार अधिकांश योग्य जेष्ठ नागरिकहरूले अक्टोबरको सुरुआतमै ९० डलर सोझै आफ्नो बैंक खातामा प्राप्त गर्नेछन् ।

आगामी नोभेम्बरमा हुने मध्यावधि अर्थात् संसदीय निर्वाचनको पूर्वसन्ध्यामा ट्रम्पले लगातार आर्थिक सहयोगका कार्यक्रमहरू घोषणा गरेका हुन् । यसअघि ट्रम्प प्रशासनले अफोर्डेबल केयर ऐक्टमार्फत स्वास्थ्य बीमा खरिद गरेका व्यक्तिहरूबाट लिइएको अत्यधिक शुल्क फिर्ता गर्ने जनाएको थियो, जसअन्तर्गत झन्डै १० लाख अमेरिकीहरूले ५०० डलर रकम फिर्ता पाउनेछन् । त्यसै गरी गत महिना मध्यावधि निर्वाचनमा हाउस अफ रिप्रेजेन्टेटिभ्स र सिनेटमा रिपब्लिकनहरूको बहुमत कायम रहेमा सबै वयस्क नागरिकहरूलाई पाँच हजार डलरको चेक प्रदान गर्ने घोषणा समेत गरेका थिए ।

निर्वाचनको पूर्वसन्ध्यामा ल्याइएका यी आर्थिक सहायता कार्यक्रमहरूको विपक्षी डेमोक्रेटिक पार्टीले कडा विरोध गरेको छ । निर्वाचनलाई प्रभावित गर्ने उद्देश्यले यस्ता कार्यक्रमहरू ल्याइएको आरोप विपक्षीहरूले लगाएका छन् भने अर्थशास्त्री, विश्लेषक र संसद्का केही रिपब्लिकन नेताहरूले समेत यी योजनाले चुनाव प्रभावित हुन सक्ने आशंका व्यक्त गरेका छन् ।

हाल अमेरिकी संसद्का दुवै सदन सिनेट र हाउस अफ रिप्रेजेन्टेटिभ्समा ट्रम्पको पार्टी रिपब्लिकनको सामान्य बहुमत मात्र रहेको छ । इजरायल–इरान युद्धका कारण इन्धनको मूल्यमा आएको भारी वृद्धिले अमेरिकीहरूले महँगीको सामना गरिरहेका छन् र यस विषयलाई सम्बोधन गर्न नसकेको भन्दै ट्रम्पको आलोचना भइरहेको छ । विभिन्न सर्वेक्षणहरू अनुसार उनको कार्यसम्पादन अनुमोदन रेटिङ समेत न्यून रहेको अवस्थामा आउँदो निर्वाचनमा रिपब्लिकन उम्मेदवारहरूलाई विपक्षी डेमोक्रेटिक पार्टीले कडा चुनौती दिने अनुमान गरिएको छ ।
–एजेन्सीहरु

प्रकाशित मिति : १८ आश्विन २०८३, आइतबार  १० : ४५ बजे