२० आश्विन २०८३, मंगलबार | Wed Oct 7 2026

प्रस्तावित १३ राजदूतको संसदीय सुनुवाइ प्रक्रिया सुरु



काठमाडौँ। विभिन्न १३ मुलुकका लागि सरकारद्वारा सिफारिस गरिएका प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया अगाडि बढेको छ। मङ्गलबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित राजदूतहरूविरुद्ध प्राप्त उजुरीका साथै उनीहरूले बुझाएका कार्ययोजना र व्यक्तिगत विवरण (बायोडाटा) समिति सदस्यहरूलाई वितरण गरेको छ।

गत असोज २ गते बसेको मन्त्रिपरिषद् बैठकले १३ देशका लागि राजदूतहरूको नाम सिफारिस गरेको थियो। त्यसपछि असोज ८ गते बसेको संसदीय सुनुवाइ समितिले १० दिनको समयसीमा तोकेर प्रस्तावित राजदूतहरूविरुद्ध उजुरी आह्वान गरेकोमा कुल सात वटा उजुरी परेका छन्।

समितिमा दर्ता भएका उजुरीमध्ये मुख्य रूपमा ‘राजदूत नियुक्तिसम्बन्धी निर्देशिका, २०७५’ को पूर्ण पालना नभएको दाबी गरिएको छ। कूटनीतिक क्षेत्रमा योग्यता, पारदर्शी प्रक्रिया र परराष्ट्र सेवा तथा राजनीतिक/बाह्य क्षेत्रबीच ५०-५० प्रतिशतको सन्तुलन कायम गर्नुपर्ने निर्देशिकाको प्रावधान उल्लंघन गरी नियुक्ति सिफारिस गरिएकाले सम्पूर्ण नामहरू अस्वीकृत गर्नुपर्ने माग उजुरीकर्ताहरूले गरेका छन्।

सामूहिक उजुरीका अतिरिक्त दुई जना प्रस्तावित राजदूतविरुद्ध भने व्यक्तिगत रूपमा गम्भीर आरोपसहितका उजुरी परेका छन्। जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाविरुद्ध तीन वटा उजुरी परेका छन्, जसमा उनले नेपाली नागरिकता त्यागेर विदेशी मुलुकको पीआर लिएको, परिवारसहित विदेशमै बसोबास रहेको र जापानमा घरजग्गा, व्यवसाय तथा बैंकिङ दायित्व रहेको उल्लेख गर्दै अयोग्य ठहराउन माग गरिएको छ।

त्यसैगरी साउदी अरेबियाका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारविरुद्ध दुई वटा उजुरी परेका छन्। जसमा उनीमाथि महिला हिंसा, यातना तथा अनैतिक आचरण र आर्थिक एवं आपराधिक गतिविधिमा संलग्न रहेको आरोप लगाइएको छ। सुनार र थापाबाहेक भारतका लागि प्रस्तावित डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा, संयुक्त राज्य अमेरिकाका लागि चिरनजंग थापा, र संयुक्त अधिराज्य (यूके) का लागि पूर्वप्रधानसेनापति गौरव शमशेर जबरासहित अन्य ११ जना प्रस्तावित राजदूतविरुद्ध भने कुनै पनि व्यक्तिगत उजुरी परेको छैन।

नेपाल सरकारले उच्च प्राज्ञिक, कूटनीतिक र विषयगत दक्षताका आधारमा राजदूतहरूको सिफारिस गरिएको स्पष्ट पारेको छ। भारतका लागि प्रस्तावित डा. पाण्डे दक्षिण एसियाली अध्ययन केन्द्रका निर्देशक एवं परराष्ट्र नीतिका अग्रणी विद्वान् हुन् भने चीनका लागि सिफारिस डा. शर्मा सिनोलोजी र अर्थशास्त्रका विज्ञ हुन्। अमेरिकाका लागि प्रस्तावित थापा सुरक्षा नीति र संकट व्यवस्थापनका अन्तर्राष्ट्रिय विज्ञ हुन् भने बेलायतका लागि सिफारिस जबरा भूतपूर्व प्रधानसेनापति हुन्।

यसैगरी इजरायलका लागि सूचना प्रविधि विज्ञ सुरेशकुमार कर्ण, स्पेनका लागि दिगो विकास विज्ञ प्राप्ति शेरचन, जर्मनीका लागि वैदेशिक रोजगार एवं लिङ्ग विज्ञ सरु जोशी, ओमानका लागि क्याम्ब्रिज विश्वविद्यालयबाट विद्यावारिधि प्राप्त डा. पद्माक्षी राणा, मलेसियाका लागि शिक्षा तथा प्रशासन विज्ञ चुडामणि खरेल, दक्षिण कोरियाका लागि जलसुरक्षा कूटनीतिज्ञ प्रा.डा. संगम श्रेष्ठ र श्रीलंकाका लागि पूर्वआयुक्त एवं सहप्राध्यापक डा. मञ्चला झा प्रस्तावित छन्।

संसदीय सुनुवाइ समितिले प्राप्त उजुरीहरूमाथि अध्ययन गरी तथ्यगत छानबिन गर्नेछ। त्यसपछि प्रस्तावित राजदूतहरूलाई पालैपालो समितिमा बोलाएर उनीहरूको कार्ययोजना सुन्ने र प्रश्नोत्तर प्रक्रिया अघि बढाएपछि मात्र अनुमोदनबारे निर्णय लिइनेछ।

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलबार  १० : ०४ बजे