२० आश्विन २०८३, मंगलबार | Wed Oct 7 2026

नेपाली कांग्रेसको १५औँ महाधिवेशन: सभापतिमा गगन थापासहित ३ जनाको उम्मेदवारी, शर्मा र भुसाल निर्विरोध



काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि पदाधिकारी पदमा कुल ३० जनाको उम्मेदवारी दर्ता भएको छ। राष्ट्रिय सभागृहमा मङ्गलबार आयोजना गरिएको मनोनयन दर्ता प्रक्रियामा सभापति पदका लागि गगन थापा, श्यामकृष्ण खड्की र किशोरसिंह राठौर गरी तीन जनाले उम्मेदवारी दर्ता गराएका छन्। नेता थापाले मङ्गलबार साँझ आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको हो।

यसैबिच, महाधिवेशनबाट वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित हुनुभएको छ। दुवै पदमा शर्मा र भुसालको मात्र एकल उम्मेदवारी परेकाले उहाँहरू निर्विरोध हुनुभएको हो।

अन्य पदाधिकारी पदहरूमा भने तीव्र प्रतिस्पर्धा हुने देखिएको छ। दुई खुला उपसभापति पदका लागि ९ जनाको उम्मेदवारी परेको छ, जसमा डा. चन्द्र भण्डारी, देवराज चालिसे, सुरेन्द्रराज पाण्डे, मधु आचार्य, डा. मिनेन्द्र रिजाल, दीपक गिरी, धनराज गुरूङ, गोविन्द भट्टराई र डा. चन्द्रमोहन यादव हुनुहुन्छ। त्यस्तै समावेशी उपसभापतिमा जीवन परियार, विनोद चौधरी, फर्मुल्लाह मन्सुर, सीता गुरूङ र रन्जित कर्ण गरी ५ जनाले मनोनयन दर्ता गराएका छन्।

महामन्त्री पदतर्फ खुला महामन्त्रीमा प्रदीप पौडेल, गुरूराज घिमिरे, उदयशमशेर राणा, अमरसिंह पुन, नैनसिंह महर, शंकर तिवारी, डा. सुनिल शर्मा र डा. सन्तोष उपाध्याय गरी ८ जना चुनावी मैदानमा उत्रिएका छन्। महिला महामन्त्रीतर्फ भने डा. डिला संग्रौला, डिना उपाध्याय र रिता खनाल गरी ३ जनाको उम्मेदवारी परेको छ।

केन्द्रीय निर्वाचन समितिले उम्मेदवारी दर्ताका लागि आवश्यक फारम, प्रस्तावक तथा समर्थकको हस्ताक्षर, शुल्क बुझाएको भौचर र महाधिवेशन प्रतिनिधिको प्रमाणपत्र अनिवार्य गरेको थियो। विधान संशोधनपछि यस महाधिवेशनबाट कांग्रेसले २५ पदाधिकारीसहित कुल २९७ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति चयन गर्दै छ।

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलबार  १० : १८ बजे