अमेरिकी रक्षामन्त्री पिट हेगसेथविरुद्ध अमेरिकी प्रतिनिधिसभामा महाअभियोग प्रस्ताव पेस भएको छ। रिपब्लिकन पार्टीकै सांसद थोमस मासीले सोमबार रक्षामन्त्री हेगसेथविरुद्ध आठवटा गम्भीर आरोपहरूसहित उक्त महाअभियोग प्रस्ताव दर्ता गराएका हुन्। सांसद मासीले विशेष प्रक्रियाअन्तर्गत यो प्रस्ताव दर्ता गराएका कारण सभामुख माइक जोन्सनले अब दुई कार्यदिवसभित्र यसलाई मतदान वा संसदीय कारबाहीमा लैजानुपर्ने हुन्छ।
दर्ता गरिएको प्रस्तावमा रक्षामन्त्री हेगसेथले आफ्नो पदीय अधिकारको गम्भीर दुरुपयोग गरेको आरोप लगाइएको छ। मुख्य रूपमा, संसद्को पूर्वस्वीकृति नलिई इरानविरुद्ध सैन्य कारबाही अघि बढाएको र युद्धसम्बन्धी कानुनको उल्लंघन गरेको आरोप उनलाई लगाइएको छ। यसका साथै, अवैध आदेश नमान्न सेनालाई आग्रह गर्ने सिनेटर मार्क केली र अन्य अधिकारीहरूमाथि मुद्दा चलाउने धम्की दिँदै अमेरिकी संविधानप्रदत्त अभिव्यक्ति स्वतन्त्रताको अधिकार उल्लंघन गरेको आरोपसमेत प्रस्तावमा समावेश छ। यमन, भेनेजुएला र क्यारिबियन क्षेत्रमा संसद्को अधिकार क्षेत्र बाहिर गई सैन्य बल प्रयोग गरेको तथा गैरकानुनी कारबाहीहरू चलाएको पनि दाबी गरिएको छ।
आफूमाथि महाअभियोग प्रस्ताव दर्ता भएपछि रक्षामन्त्री पिट हेगसेथले आरोपहरूको खण्डन गर्दै कडा आपत्ति जनाएका छन्। उनले महाअभियोगको यो प्रयासलाई राजनीतिक नौटंकी र व्यक्तिगत विनाशको राजनीति भएको संज्ञा दिएका छन्। आफूले गरेका सबै सैन्य फैसलाहरू राष्ट्रिय सुरक्षा र अमेरिकी हितको रक्षाका लागि कानुनसम्मत रूपमा गरिएको दाबी गर्दै यस्ता दबाबले आफ्नो कर्तव्यबाट विचलित नगराउने उनले स्पष्ट पारेका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि हेगसेथको बचाउ गर्दै उनले देश र साझेदार राष्ट्रहरूको रक्षाका लागि सराहनीय काम गरेको प्रतिक्रिया दिएका छन्।
यो प्रस्ताव विशेष प्रक्रियाअन्तर्गत आएकाले प्रतिनिधिसभामा साधारण बहुमतले पारित हुन सक्छ। यद्यपि, प्रतिनिधिसभाबाट मात्रै प्रस्ताव पारित हुँदैमा हेगसेथ स्वतः पदबाट भने हट्ने छैनन्। प्रतिनिधिसभाले पारित गरेको खण्डमा यो मामिला सिनेट (माथिल्लो सदन) मा जानेछ र सिनेटमा दुई-तिहाइ बहुमतले दोषी ठहर गरेमा मात्र उनलाई पदबाट हटाउन सकिने कानुनी प्रावधान रहेको छ। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार यसै साता प्रतिनिधिसभामा यस प्रस्तावमाथि मतदान हुन सक्ने सम्भावना छ।









