२३ कार्तिक २०८३, आइतबार | Mon Nov 9 2026

लक्ष्मीपुजाको पीक टाइममा १८१३ मेगावाट खपत, ५८७.३० मेगावाट भारत निर्यात



प्राकृतिक विपद्का कारण विद्युत् उत्पादन तथा प्रसारण प्रणालीमा गम्भीर क्षति पुगे पनि नेपाल विद्युत् प्राधिकरणले यस वर्षको लक्ष्मीपूजाका दिन देशभरको विद्युत् माग सफलतापूर्वक व्यवस्थापन गरेको छ। बाढी-पहिरो र विपद्का कारण रसुवा क्षेत्रबाट उत्पादन हुने करिब ४५० मेगावाट विद्युत् प्रणालीबाट बाहिर रहेको चुनौतीपूर्ण अवस्थाका बाबजुद प्राधिकरणले आन्तरिक माग चुस्त रूपमा पूरा गर्दै भारततर्फ विद्युत् निर्यातसमेत गर्न सफल भएको छ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार लक्ष्मीपूजाका दिन (आइतबार) साँझ ६ बजेर १५ मिनेटमा राष्ट्रिय विद्युत् प्रणालीमा विद्युत्को उच्चतम (पिक) माग १ हजार ८१३ मेगावाट पुगेको थियो। सोही समयमा कुल प्रणालीको पिक भार २ हजार ४००.३० मेगावाट पुगेकोमा आन्तरिक खपत पूरा गरी बाँकी रहेको ५८७.३० मेगावाट विद्युत् भारततर्फ निर्यात गरिएको थियो। चाडपर्वको विशेष समयमा पनि प्रणालीमा विद्युत् आपूर्ति अवरोध शून्य मेगावाट कायम रहेको प्राधिकरणले जनाएको छ।

अघिल्ला वर्षहरूको तुलनामा यस वर्ष विद्युत् खपतमा उल्लेख्य वृद्धि देखिएको छ। प्राधिकरणको तथ्यांक अनुसार २०८२ सालको लक्ष्मीपूजामा १ हजार ७४५ मेगावाट र २०८१ मा १ हजार ६०२ मेगावाट उच्चतम माग रहेकोमा यस वर्ष गत वर्षको तुलनामा ६८ मेगावाट बढी विद्युत् खपत भएको छ। विशेष गरी काठमाडौं उपत्यकामा विद्युत् माग ह्वात्तै बढेको छ। गत वर्ष ४०२ मेगावाट रहेको उपत्यकाको माग यस वर्ष बढेर ४८९ मेगावाट पुगेको छ।

उक्त दिन प्रणालीमा विभिन्न स्रोतहरूबाट विद्युत् आपूर्ति मिलाइएको थियो। जसअनुसार स्वतन्त्र ऊर्जा उत्पादकहरूबाट १ हजार ५३६.५० मेगावाट, प्राधिकरणका सहायक कम्पनीहरूबाट ४९९.२० मेगावाट, प्राधिकरणका नदी प्रवाही तथा अर्धजलाशययुक्त आयोजनाहरूबाट ३४२.३० मेगावाट र जलाशययुक्त आयोजनाबाट २२.३० मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा उपलब्ध गराइएको थियो।

यसैबीच ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले लक्ष्मीपूजाका दिन साँझ ऊर्जा सचिव, प्राधिकरण सञ्चालक समितिका सदस्य तथा उच्च व्यवस्थापनसहित स्युचाटारस्थित भार प्रेषण केन्द्र (एलडिएस) पुगेर विद्युत् माग र आपूर्तिको प्रत्यक्ष जानकारी लिएका थिए। विगत तीन वर्षको तथ्यांक विश्लेषण गर्दै मन्त्री श्रेष्ठले यस्तो प्राकृतिक विपद्को कठिन परिस्थितिमा पनि माग व्यवस्थापन हुनु ठूलो सकारात्मक उपलब्धि भएको बताए। उनले सुरक्षित र मितव्ययी रूपमा विद्युत् प्रयोग गर्दै उज्यालोको पर्व मनाएकोमा आम उपभोक्तालाई धन्यवाद दिएका छन् भने प्रणालीलाई सुचारु राख्न अहोरात्र खटिने प्राविधिक, कर्मचारी र प्राधिकरण व्यवस्थापनको उच्च प्रशंसा गरेका छन्। मन्त्री श्रेष्ठले आगामी दिनमा पनि विद्युत् आपूर्तिलाई सुरक्षित, भरपर्दो र नियमित बनाउन प्रतिबद्ध भएर लाग्न निर्देशन दिएका छन्।

प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठका अनुसार चाडपर्वमा विद्युत् प्रणालीलाई अविच्छिन्न राख्न देशभरका प्राविधिक टोलीहरूलाई २४ सै घण्टा उच्च सतर्कताका साथ परिचालन गरिएको थियो। सम्भावित प्राविधिक समस्या जुनसुकै बेला आउन सक्ने भएकाले आवश्यक ट्रान्सफर्मर, उपकरण र जनशक्ति पूर्वतयारी अवस्थामा राखिएको र कुनै पनि स्थानमा समस्या देखिए १५ मिनेटभित्रै समाधान गर्ने गरी द्रुत टोली खटाइएको उनले जानकारी दिए।

प्रकाशित मिति : २४ कार्तिक २०८३, सोमबार  १२ : २३ बजे