काठमाडौं । बिना अध्ययन र समुदायसँगको परामर्शबिना नै नेवार समुदायका विभिन्न थरलाई दलित सूचीमा समावेश गरिएको भन्दै उपत्यकाका नेवार समुदायले सरकारको विरोध गरेका छन् । उनीहरूले शनिबार काठमाडौंको असन डबलीमा भेला भई सरकार र राष्ट्रिय दलित आयोगको निर्णयविरुद्ध विरोध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागी सुशन वैद्यका अनुसार सरकारले नेवार समुदायका ४० वटा थरलाई दलित सूचीमा समावेश गरेको छ । राष्ट्रिय दलित आयोगले सम्बन्धित समुदायसँग कुनै छलफल नगरी र वैज्ञानिक अध्ययनबिना नै हचुवाको भरमा यस्तो घोषणा गर्नु अन्यायपूर्ण र विभेदकारी रहेको वैद्यले बताए । नेवार समुदायभित्र दलित वा उपेक्षित वर्ग नरहेको दाबी गर्दै उनले सरकार समाज बिगार्ने दिशामा लागेको आरोप लगाए र उक्त निर्णय आफूहरूलाई स्वीकार्य नहुने स्पष्ट पारे ।
विरोध प्रदर्शनमा सहभागी नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. अमिता प्रधान शाक्यले सरकारको यो कदमलाई नेवारहरूको सांस्कृतिक पहिचानमाथिको आक्रमणका रूपमा व्याख्या गरिन् । नेवार समुदायमा दलित भन्ने वर्ग नै नरहेको उल्लेख गर्दै उनले जीवित देवी (कुमारी) को थरसमेत दलित सूचीमा परेको भन्दै असन्तुष्टि जनाइन् । सम्बन्धित पक्ष र समुदायसँग समन्वय गरेर अघि बढ्नुपर्नेमा सरकारले गैरजिम्मेवार रवैया देखाएको आरोप लगाउँदै उनले यस्ता निर्णयले भविष्यमा जातीय द्वन्द्व निम्त्याउन सक्ने चेतावनीसमेत दिइन् ।
त्यसैगरी, नेपाली कांग्रेसकै अर्की केन्द्रीय सदस्य सपनाराज भण्डारी जोशीले सरकारले राजपत्रमा प्रकाशित गरेको उक्त विषय बिना अध्ययन र अनुसन्धान ल्याइएको बताए । समुदायसँग परामर्श नगरी गरिएको निर्णयले नागरिकको भावना र आत्मसम्मानमा ठेस पुर्याएको उनको भनाइ छ । राज्यले नागरिकको आत्मसम्मानमा आँच पुर्याउन नहुने बताउँदै जोशीले यो विरोध आगामी दिनमा अझ सशक्त आन्दोलनका रूपमा अघि बढ्ने चेतावनी दिए ।
प्रदर्शनकारीहरूले राष्ट्रिय दलित आयोग खारेज गर्नसमेत माग गरेका छन् । उनीहरूले ‘ऐतिहासिक तथ्य र पहिचानको सम्मान गर्’, ‘आयोगको काम सिफारिस गर्ने, हचुवामा होइन, प्रमाण हेर्ने’, ‘न अध्ययन, न अनुसन्धान, हचुवाको भरमा शासन सञ्चालन’, ‘विरोध र द्वन्द्व हिंसाको लागि होइन, अधिकार र पहिचानको लागि’, ‘सरकारको स्वेच्छाचारी निर्णय बन्द गर’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।









