बीके नेवा
भेनेजुयला र अमेरिकाबीच फेरि विवाद चर्केको छ । अमेरिकाको चाहनाविपरीत भेनेजुयलाले संविधान सभाको चुनाव गरी संविधान संशोधन गरेर राष्ट्रपतिलाई थप अधिकारको बाटो खुलाएपछि दुई मुलुकबीच विवाद चर्केको हो । अमेरिकाले भेनेजुयलामाथि थप नाकाबन्दी लगाएको छ ।
वास्तवमा यो विवाद सँगसँगै ल्याटिन अमेरिकी मुलुक भेनेजुयलामा राजनीतिक र आर्थिक सङ्कट गहिरिदैँ छ । संविधान संशोधनमार्फत् शक्तिशाली बन्नुभएका राष्ट्रपति निकोलस मडुरोले सङ्कट समाधान गर्न नयाँ प्रयास सुरु गर्नु भएको छ । उहाँले मुलुकमा गहिरिँदो आर्थिक सङ्कट सहज बनाउन भन्दै नयाँ कृत्रिम मुद्रा ल्याउने घोषणा गर्नु भएको छ । अब भेनेजुयलाको तेल, ग्यास, सुन र हीरा उद्योगमा ‘पेट्रो’ नाम दिइएको कृत्रिम मुद्राको प्रयोग गरिने छ । तर विपक्षी सांसदहरुले भने यो कदमप्रति असन्तुष्टि व्यक्त गरेका छन् । अमेरिकाले पनि यो कदमको विरोध गरेको छ । अमेरिकी नाकाबन्दीका कारण त्यहाँ तेलबाट उठ्ने राजस्व र विद्यमान मुद्राको भाउमा कमी आएका कारण अर्थतन्त्र नराम्ररी प्रभावित बनेको छ ।
नयाँ कृत्रिम मुद्राले देशको मौद्रिक सर्वाभौमसत्ता, वित्तीय कारोबार र आर्थिक नाकाबन्दीको समस्यालगायत विषयलाई समेट्ने दावी राष्ट्रपतिको छ । १४० अर्ब डलरभन्दा बढी विदेशी क्रृणले थिचिएको भेनेजुयलामा आर्थिक पुनःसंरचना गर्नैपर्ने भएको छ । यसका लागि यो प्रयासले सकारात्मक नतिजा ल्याउने अपेक्षा सरकारले गरेको छ । तर विपक्षी सांसदहरुले भने प्रस्ताविक कृत्रिम मुद्रा योजना अगाडि बढाउन संसद्को समर्थन चाहिने भन्दै विरोध गरेका छन् ।
भेनेजुयलामा संविधान संशोधन गर्न गएको जुलाई ३० संविधानसभाको चुनाव भयो । राष्ट्रपति निकोलस मडुरोले त्यहाँका विपक्षी दलहरु र अमेरिकी चेतावनीलाई बेवास्ता गर्दै संविधानसभाको चुनाव गराउनुभयो । राष्ट्रपति मडुरोविरुद्ध हिंसात्मक आन्दोलन गरिरहेका विपक्षीहरुलाई अमेरिकाको सहयोग र समर्थन छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संविधानसभाको चुनाव गराए थप कडा आर्थिक नाकाबन्दी लगाउने चेतावनी दिनुभयो । तर मडुरोले भने अमेरिकी चेतावनीलाई बेवास्ता गरी संविधानसभाको चुनाव गराउनुभयो । संविधानसभाको चुनाव गराएर थप शक्तिशाली बन्नु भएका राष्ट्रपति मडुरोविरुद्ध अमेरिकाले थप नाकाबन्दीको घोषणा गर्यो । यसले गर्दा अर्थतन्त्र झन् नराम्ररी प्रभावित बनेको छ ।
संविधानसभाको चुनाव गराएपछि अमेरिका र भेनेजुयलाबीच कूटनीतिक तनाव पनि झन् बढेको छ । अमेरिका र त्यहाँका विपक्षी दलहरुको विरोध र अबरोध खडा गरे पनि संविधानसभाको निर्वाचन गराई संसद्को अधिकार संविधानसभाले ग्रहण गरेपछि अहिले राष्ट्रपति मडुरो थप शक्तिशाली बन्नुभएको छ । संविधानसभाको निर्वाचनअघिसम्म विपक्षीको नियन्त्रणमा रहेको संसद् संविधानसभाको निर्वाचनसँगै सत्तापक्षको नियन्त्रण कायम भएको छ । अब राष्ट्रपति मडुरोलाई आफूले चाहे अनुसार संविधान संशोधन गर्न मार्गप्रशस्त भएको छ । यो कुरा त्यहाँका विपक्षी दलहरु र अमेरिकी सरकारलाई पटक्कै मन परेको छैन ।
राष्ट्रपति मडुरोलाई सत्ताबाट हटाउनविपक्षी गठबन्धनले हिंसात्मक आन्दोलन गर्यो । आन्दोलनका क्रममा एक सयभन्दा बढीको ज्यान गयो भने हजारौँ घाइते भए । सरकारलाई चुनौती दिँदै विपक्षीहरुले समानान्तर सत्ताको अभ्यास समेत गरे । यसले गर्दा सरकार र विपक्षीबीच थप अविश्वास बढ्यो । राष्ट्रपतिको आग्रहलाई बेवास्ता गर्दै विपक्षीहरुले अनौपचारिक जनमत सङ्ग्रह गराउनुका साथै नयाँ समानान्तर सरकार गठनदेखि नयाँ न्यायाधीश नियुक्तिसमेत गरी सरकारलाई चुनौती दिए । तर मडुरो सरकार चुनौतीको सामना गर्दै संविधान संशोधनका लागि संविधानसभाको चुनाव गराएरै छाड्यो । संविधान सभाको चुनावपछि थप शक्तिशाली बन्नुभएका राष्ट्रपति मडुरोले आर्थिक सङ्कट समाधानमा ध्यान केन्द्रित गर्दै हुनुहुन्छ ।
राजनीतिक खिचातानीका कारण विश्वकै ठूलो तेलको भण्डार रहेको यो मुलुक चरम आर्थिक तथा राजनीतिक सङ्कटमा फसेको छ । डेढ दशक पहिले पनि यो मुलुकले विपन्नता र चरम असमानता भोग्यो । पछि तत्कालीन राष्ट्रपति ह्युगो चाभेजको नेतृत्वले एकाएक चर्चामा आयो । छोटो अवधिमा समानता र समृद्धिको शिखर चुम्यो । तर, चाभेजको अल्पायुमै निधनसँगै यो मुलुक अहिले चरम हिंसा, अस्थिरता र अराजकताको शिकार बनेको छ । यही अस्थिरमा खेल्दै छ विदेशी शक्ति । कतै यो मुलुक पनि सिरियाजस्तै अकल्पनीय द्वन्द्वमा फस्ने त होइन भनी आशङ्का गर्न थालिएको छ । तर संविधानसभाको चुनावपछि शक्तिशाली बन्नुभएका मडुरोले अब राजनीतिक र आर्थिक दुवै सङ्कट समाधान गरी मुलुकलाई सही निकास दिने प्रण गर्नुभएको छ । उहाँले मुलुकलाई नयाँ निकास दिन संविधानसभा सक्षम हुने विश्वास पनि व्यक्त गर्नु भएको छ ।
संविधानसभाको चुनावमार्फत् नयाँ जनादेश बटुल्नु भएका राष्ट्रपति मडुरोले विपक्षीहरुले असहयोग गरे पनि घोषित आर्थिक कार्यक्रम अगाडि बढाउने बताउनुभएको छ ।उहाँले गराउनुभएको संविधानसभाको चुनाव विपक्षीहरुले बहिष्कार गरे । संविधानसभाको चुनाव गराए सैन्य कारबाही गर्नेसम्मको चेतावनी अमेरिकाले दियो । तर पनि चुनाव रोकिएन । सम्पन्न संविधानसभाको चुनावलाई विपक्षीलगायत अमेरिकाले मान्यता दिएको छैन । यो चुनावले राष्ट्रपतिलाई तानाशाही बनाउने र राष्ट्रपति मडुरो संविधानसभाबाट अधिकार प्राप्त गरी तानाशाह बन्न लागेको भन्दै अमेरिकी राष्ट्रपति ट्रम्पले भेनेजुयलामा प्रजातन्त्र ल्याउन हरसम्भव प्रयास गर्ने र त्यसका लागि सैन्य कारबाहीको विकल्पसमेत खुला गरिएको भन्दै थप कडा आर्थिक नाकाबन्दीको घोषणा गर्नुभयो । उहाँको नाकाबन्दी घोषणासँगसँगै भेनेजुयला सरकारले मुलुकको सुरक्षाका लागि भन्दै लाखौँ सर्वसाधारण नागरिकलाई सैन्य तालिमसमेत दिएको छ । लाखौँ सर्वसाधारण मुलुकको सुरक्षाका लागि भन्दै सैन्य तालिममा सहभागी भए । देशभर सञ्चालन गरिएको सैन्य अभ्यास तालिममा सर्वसाधारणलाई बन्दुक चलाउन सिकाइएको छ । सरकारले दुई लाख सैनिक र सात लाख सर्वसाधारण साथै आवश्यकता अनुसार फौजी जिम्मेवारीमा तैनाथ गर्न सकिने भनिएका व्यक्तिहरु तालिममा सहभागी भए । राजधानी काराकस र अन्य सहर तथा नगरहरुमा आधारभूत सैन्य तालिम लिइरहेका सर्वधारण नागरिकले मुलुकको सुरक्षाका लागि लड्न तयार रहेको बताएका छन् । राष्ट्रपति मडुरोले आफ्नो मुलुकमाथि अमेरिकाले हस्तक्षेप गर्न लागेकाले आम नागरिकलाई सैन्य तालिम दिन थालिएको र आम जनताको बलमै मुलुकको सुरक्षा सम्भव भएको दावी गर्नुभएको छ । उहाँले प्रजातन्त्र र मानव अधिकारको नाममा आफ्नो मुलुकमाथि अमेरिकाले हस्तक्षेप गर्न विपक्षीहरुलाई उचालिरहेको साथै हतियार र आर्थिक सहयोग दिएको आरोप लगाउँदै सो कार्य तुरुन्त बन्द गर्न कडा चेतावनी दिनुभएको छ । राष्ट्रपति मडुरो जस्तोसुकै सङ्कट सामना गर्न पनि सरकार तयार रहेको र अमेरिकी दबाबसामु कहिल्यै नझुक्ने दृढतासमेत व्यक्त गर्नु भएको छ ।