‘अमेरिकामा दिनहुँ एक लाख कोरोना संक्रमित थपिन सक्छन्’

२०७७ असार १७, बुधबार १३:१८

 

अमेरिकाको स्वास्थ्य सम्बन्धी उच्च अधिकारीहरुले दिनमा एक लाखसम्मको कोरोना संक्रमित पुग्न सक्ने बताएका छन् । कोरोना टास्कफोर्सका सदस्य समेत रहेका संक्रामक रोग बिशेषज्ञ डा. एन्थोनी फाउचीले उक्त कुरा बताएका हुन् ।

उनले सिनेटलाई सम्बोधन गर्दै अमेरिकाको लागि आगामी दिन अझै संकटपूर्ण हुने चेतावनीसमेत दिएका छन् ।

हाल अमेरिकामा हरेक दिन करिब ४० हजारमा कोरोना संक्रमण देखिंदै आएको छ । बिशेष गरेर दक्षिण र पश्चिमका राज्यहरुमा संक्रमण बढ्दै गएको छ । संक्रमण बढ्दै गएपछि कतिपय राज्यहरुले लकडाउनलाई पुन: कढाई गर्दै लगेका छन् ।

फाउचीले यदि मानिसहरुले सामाजिक दुरीलाई पालना नगरे र मास्क नलगाए अमेरिकाको अवस्था झनै खराब हुने चेतावनी दिएका हुन् ।

कोरोनाबाट अमेरिका विश्वकै सबैभन्दा बढी प्रभावित देश हो । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार अमेरिकामा २६ लाख २९ हजार ३ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने मर्नेको संख्या १ लाख २७ हजार भन्दा धेरै छ ।

 

सम्बन्धित समाचार