३ बैशाख २०८३, बिहिबार | Thu Apr 16 2026

ट्रम्प प्रशासनद्वारा ४१ देशका नागरिकलाई यात्रा प्रतिबन्ध लगाउने तयारी



अमेरिकी प्रशासनले दर्जनौं देशका नागरिकहरूलाई लक्षित गर्दै नयाँ यात्रा प्रतिबन्ध लागू गर्ने योजना बनाइरहेको छ । रोयटर्सका अनुसार आन्तरिक स्मरणपत्र (मेमो) अनुसार यस प्रस्तावित प्रतिबन्धमा ४१ देशलाई तीन समूहमा विभाजन गरिएको छ ।

पहिलो समूहमा रहेका अफगानिस्तान, इरान, सिरिया, क्युबा, उत्तर कोरिया लगायत १० देशका नागरिकहरूको भिसा पूर्ण रूपमा निलम्बन गरिने सम्भावना रहेको छ ।

दोस्रो समूहमा रहेका इरिट्रिया, हैटी, लाओस, म्यानमार, दक्षिण सुडानका नागरिकहरूका लागि आंशिक प्रतिबन्ध लगाइने छ। यस प्रतिबन्ध अन्तर्गत पर्यटक तथा विद्यार्थी भिसासहित अन्य आप्रवासी भिसामा केही अपवादबाहेक रोक लगाइनेछ।

तेस्रो समूहमा रहेका २६ देश, जसमा बेलारुस, पाकिस्तान, तुर्कमेनिस्तान लगायतका देशहरू समावेश छन्, ती देशहरूले ६० दिनभित्र आफ्नो सुरक्षा जाँच प्रक्रिया सुधार नगरेमा आंशिक रूपमा अमेरिकी भिसा रोक लगाइनेछ।

एक अमेरिकी अधिकारीका अनुसार यो सूची अझै अन्तिम नभएको र अमेरिकी विदेशमन्त्री मार्को रुबियोसहित प्रशासनको स्वीकृतिको पर्खाइमा रहेको छ ।

यो कदम ट्रम्पको पहिलो कार्यकालमा सात मुस्लिम-बहुल राष्ट्रमाथि लगाइएको यात्रा प्रतिबन्धको निरन्तरता रहेको मानिएको छ, जुन अमेरिकी सर्वोच्च अदालतद्वारा २०१८ मा अनुमोदित भएको थियो । ट्रम्पले जनवरी २० मा जारी गरेको कार्यकारी आदेशअनुसार अमेरिकी प्रवेश प्रक्रियामा सुरक्षा जाँचलाई थप कडा बनाइनेछ ।

प्रकाशित मिति : २ चैत्र २०८१, आइतबार  १ : १२ बजे