१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025

भजनकीर्तनमा सौखिन कमलबहादुर


४ जेष्ठ २०७४, बिहिबार  

0
Shares

न्युयोर्क । फोक्सो प्रत्यारोपणको पर्खाईमा रहेकी नेपाली चेली प्रशा तुलाधरको सहयोगार्थ एकल भजन कार्यक्रमका आकर्षण थिए कमलबहादुर खड्का । ८० वर्ष पुग्दै गर्दा पनि खड्काले जोशका साथ भजन गाएका थिए । भजनकीर्तनमा सौखिन खड्काले आफ्नो जीवनयात्राबारे हामीसँग खुलेर बताएका छन् ।
विसं १९९२ साल चैत २५ गते कलंकीमा जन्मेका खड्काको जीवनबाट पछिल्लोपुस्ताले सिक्नुपर्ने धेरै उदाहरण पनि रहेछ । पछिल्लो समय समाजसेवा र भजनकीर्तनमा समय बिताईरहेका उनी सबैको भलो सोच्नुपर्ने, दीनदुःखीको सहयोग गर्नुपर्ने र सबैसँग मेलमिलापको भाव राख्नुपर्ने बताउछन् ।
१० वर्षसम्म भक्तपुर बाँसघारीमा मावलीमा बसेका उनले त्यसपछिका दिनमा घर पुगेर पढाई सुरु गरे । कक्षा ६ सम्म पढाई गरेर उनी नोकरीतिर लागेका रहेछन् । चार भाईमध्ये साईला कमलबहादुरका पिता जुद्धसमसेरका एडिसी थिए । उनका ससुरा पनि त्रिभुवन मुमा बडामहारानीका एडिसी । मुम्बईमा जुद्धशमशेरको फ्याक्ट्री खुलेको थियो । यो सम्बन्धका कारण सेनामा रहेका उनका दाजु चित्रवहादुरसँग उनी जुद्धशमशेरकत्त फ्याक्ट्रीमा काम गर्न पुगे ।

shreemathi ra budika sathw kamal
२०१६ सालमा काम गर्न मुम्बई पुगेका उनी १४ वर्षपछि नेपाल फर्के । आउनेजाने चलिरह्यो । उनलाई नेपालै प्यारो लागेछ र उनी परिवारका साथ नेपालमै बस्न थाले । ‘मातापीताको सपना छोराछोरीले पढ्दिए हुन्थ्यो भन्ने थियो तर मैले ६ भन्दा माथि पढ्न सकिनँ,’ कमलबहादुरले भने, ‘भाई कान्छोले भने एसएलसी दिएर थोरै इज्जत वढाईदिएको थियो ।’

कमलबहादुर छोराछोरीलाई भेटन कहिले अस्ट्रेलिया त कहिले अमेरिकामा पुग्छन् । उनका पिता दोस्रो विश्वयुद्धमा लडेको बताउने कमलबहादुरका छोरा अस्ट्रेलियामा छन् भने छोरी अमेरिकामा ।

खड्का गाउँमा आफ्नै सक्रियतामा स्थापना गरेको स्थाणापती मन्दिरमा भजन गाउने गर्दछन् । सोखले घर र मन्दिरमा भजन गाउदै हिडेपनि कुलबहादुरको स्वर भने व्यवसायिक गायक भन्दा कम छैन ।

यसपटक अमेरिकामा फोक्सो प्रत्यारोपणको पर्खाईमा रहेकी नेपाली चेली प्रशा तुलाधरको सहयोगार्थ एकल भजन कार्यक्रमबाट उनको खास परिचय खुलेको थियो ।

सामाजिक सेवामा समर्पित कमलबहादुर मिठो स्वरका गायक पनि रहेछन भन्ने अमेरिकाका नेपालीले थाहा पाए । उनको स्वरलाई एल्बममा व्यवसायिकीकरण गर्ने योजनासमेत रहेको उनकी छोरी गीता खत्री बताउँछिन् ।
गीता आफै साहित्य र गीत लेखनमा परिचय बनाएकी अमेरिकी नेपाली हुन् । कुराकानीकै क्रममा कमलबहादुर पुराना हिन्दी फिल्मका गीत निकै मनपर्ने बताउदै हामीलाई हिन्दी गीत पनि सुनाउन भ्याए–दशलाख भन्ने हिन्दी चलचित्रको । पछिल्लो समय सामाजिक सेवामा डुबेका उनले आफ्ना मातापिताको सम्झनामा मन्दिर, पाटी र इन्द्रवती खोला नजिकको गोरेटो बाटो ढलान गरिदिएका छन् । मातापिताकै सेवाभावमा उनले वृद्धवृद्धालाई लत्ताकपडाहरु पनि बेलाबेलामा सहयोग गर्दै आएका कमलबहादुरको अव स्कुलको पहँुचभन्दा वाहिर रहेका वाववालिका र शिक्षामा उत्कृष्टहरुलाई हौसला प्रदान गर्ने समाजसेवाको योजना छ ।

राजाहरुको नजिक भएर केही मुनाफासमेत पाएका कमलबहादुरले हिजोका राजाहरुदेखि अहिलेका राजनीतिक नेताहरु सबैले आआफ्नो दुनो सोझ्याउनेबाहेक केही काम नगरेको अनुभवसहितको टिप्पणी निर्धक्क सुनाए ।

राजा महेन्द्रको पालामा विकास र कानुनको पक्ष जति राम्रो थियो त्यो अहिले नरहेको उनले थपे । विदेशमा घुमेको उनको अनुभवमा पनि नेपालमा भन्दा विदेशमा जनताको सुरक्षा र रोजगारीका कुरा व्यवस्थित छन् । नेपालमा वेरोजगारी र सामाजिक सुरक्षा कमजोर छ । यहाँका नेपालीहरु सवैजना मिलेरबसेको सुनेको र देखेको बताउने कुलबहादुरले मेलमिलाप सबैभन्दा राम्रो पक्ष रहेको बताउदै सबैले राम्रो सोचे, गरे सबैको भलो हुने सन्देश हामीमार्फत सुनाए ।

प्रकाशित मिति : ४ जेष्ठ २०७४, बिहिबार  ३ : ०३ बजे