संविधान घोषणा भएलगत्तै मधेसमा आन्दोलन सुरु भयो । यही आन्दोलन र नाकाबन्दीकै कारण जनताले सास्ती खेपिरहेका छन् । महिनौं लामो नाकाबन्दीले देशको अर्थतन्त्र खस्केको छ । पटकपटक वार्तामा बसेपनि मधेस आन्दोलनको सुनुवाइ भएको छैन ।
मधेसको माग के हो ? यी माग जायज छन् कि छैनन् ? यो आन्दोलन कहिले टुंगिएला ? थुप्रैपटक वार्तामा बसेपनि समस्या किन सुल्झिएन ? यसैबारे हालै न्युयोर्क आइपुगेका नेपाली कांग्रेस तराई मधेस विभागका प्रमुख उमाकान्त चौधारीसँग एभरेस्ट टाइम्सका आङछिरिङ शेर्पाले जिज्ञासा राखेका थिए:
मधेस आन्दोलित हुनुको खास कारण के हो ?
जब ६२÷६३ सालको आन्दोलनपछि अन्तरिम संविधानमा मधेशको मुद्दा राज्यको प्रत्येक निकायमा समानुपातिक समाबेसी प्रतिनिधित्वको हकहरु सुनिश्चित गर्ने, जनसंख्याको हिसाबले क्षेत्र निर्धारण गर्ने, नागरिकतालगायत मुद्दाहरु अन्तरिम संविधानमा संशोधन भएको थियो । त्यो संसोधन कुनै आन्दोलनबाट भएको होइन त्यो बेला हामी मधेसी नेताहरुको पहलमा भएको थियो । त्यतिखेर मधेसको प्रतिनिधित्व गर्ने सद्भावना पार्टी बाहेक अहिलेको तराइ मधेस लोकतान्त्रिक पार्टी थिएन । त्यतिखेर हामीले ७ बुँदे माग राखेर ४१ दिन सदन अवरुद्ध ग¥यौं । त्यसपछि चार बुँदे सहमति भयो । त्यही बुँदाभित्र राज्यको हरेक निकायमा समाबेसी प्रतिनिधित्व गर्ने, जनसंख्या र भुगोलको आधारमा खास गरेर मधेसमा निर्वाचन क्षेत्र निर्धारण गर्ने र नागरिकता लगायतको बुँदामा संशोधन भएकै हो । तर अहिले निर्माण भएको संविधान अन्तरिम संविधानमा संसोधन भएको बुँदाहरु नसमेटेकामा म निकै आश्चार्यमा परे । अन्तरिम संविधानमा भएको व्यवस्थाको आधारमा दुई पटक संविधान सभाको निर्वाचन भएको हो तर अन्तरिम संविधानमै रहेको मधेसको मुद्दाहरु हटाएपछि सबै मधेसी जनतालाई निराशित तुल्यायो । हामीहरुको पहिलो प्रश्न नै अन्तरिम संविधानमा संसोधन भएको बुँदाहरु कुन आधारमा निकालेर फालेको हो ? अहिले आदिवासी जनजाति र मधेसले उठाएको मुख्य मुद्दा भनेकै यही हो । हामीलाई संविधानले दिएको अधिकार कसरी हटाउन मिल्छ ? यसैको कारणले मधेसको आन्दोलन भएको हो ।
दोस्रो संविधानसभाको चुनावपछि कांग्रेस सबैभन्दा ठुलो दल बनेको छ, तपाई यही पार्टीको तराई मधेश विभागको प्रमुख हुनुहुन्छ, पार्टीमा यो समस्या समाधानका लागि कस्तो भूमिका खेल्नुभयो ?
मधेसको भावनाअनुरुप अन्तरिम संविधानमा व्यवस्था भएअनुसार राज्यको प्रत्येक निकायमा समानुपातिक समावेशी प्रतिनिधित्वको सुनिश्चित गर्ने, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने र नेपाली कांग्रेसको महासमितिको बैठकबाट पास गरेका सीमाङ्कनको विषयलाई लिएर संविधान घोषणा गर्नु अगावै हामीले पार्टी सभापतिलाई पनि आग्रह गरेका थियौ । त्यतिखेर मधेसबाट प्रतिनिधित्व गर्ने हामी ४५ जनाले लिखित रुपमा पनि पार्टी सभापतिलाई अनुरोध पत्र बुझाएको थियो । संविधान घाृषणा हुनु केही दिन बाकी हुदा हामीले पाटी सभापतिलाई मधेसको मुद्दालाई सम्बोधन गरेर मात्र संविधान घोषणा गर्नु भनेर निकै आग्रह गरेको थियो । अन्य दलका प्रमुखरुलाई पनि यसबारेमा मधेसको कुरा राखेका थिए । हामी त्यतिखेर सकेसम्म संविधानमा समेटने कोसिस गरु । समेटन नसके शीर्षस्थ नेताहरुबाट संविधान घोषणा गर्नुअघि संशोधन गर्ने भन्ने प्रतिबद्धताको हामीले अपेक्षा गरेका थियौ । तर हाम्रो भावनालाई आफ्नै पार्टी, सरकार र अरु पार्टीहरुले वेवास्ता गरे ।
त्यसो भए तपाइ पनि मधेस आन्दोलनको समर्थक हुनुहुदों रहेछ, हामीलाई भनिदिनुहोस कि मधेस आन्दोलन अब कता जादैछ ?
तराई मधेसी समुदायको साझा भावना भनेको अहिले यतिखेर पनि संविधान संशोधन भएन भने अब कहिल्यै पनि हुदैन आन्दोलन गर्नुपर्छ भन्ने हो । त्यही भावना बोकेर सबै मधेसी जनता आन्दोलनमा लागीसकेका छन् । यतिखेरको आन्दोलनको मुख्य नारा र मर्म भनेकै ‘अभि नाइ तो कवि नाही’ हो । अहिले भएन भने कहिल्यै हुदैन लाग्नुपर्छ भन्ने यो नारा र मर्म लिएर सवै तराई मधेसी दलका नेता तथा सबै कार्यकर्ताहरु एक भएर आन्दोलनमा अघि बढेका छन् । यतिको लामो संघर्षपूर्ण आन्दोलनले पनि सरकारले अब मधेसी जनताको माग पुरा गरेन भने अबको आन्दोलन मधेश दलको पकडबाहिर जान्छ ।
कसरी र कहिले टुङ्गिएला यो आन्दोलन ?
यतिखेर मधेसी दल र अन्य दलहरुबीच मधेसको समस्या समाधानबारेमा छलफल भइरहेको छ । यसबारेमा सरकार कतिको संवेदनशील छ त्यसमा भर पर्छ । मधेसको यो जायज मुद्दालाई कसैले पनि चिढाउनु हुदैन । यो मुद्दा मधेसीको मात्र होइन नेपालभित्र मुद्दा हो । मधेसी जनताले राखेको मुख्य तीन मुद्दाहरु सरकारले सम्बोधन गर्ने वित्तिकै मधेसको आन्दोलन रोकिन्छ ।
देशले नाकाबन्दी खेपिरहेको छ, नाकाबन्दी मधेस आन्दोलनकै श्रृखला हो ?
तराई मधेसमा बस्नेहरुले नेपाल हाम्रै देश हो भनेपनि देशको राज्यसत्तामा बस्नेहरु र पार्टीले उनीहरुलाई चिन्न सकेन । लामो समयदेखि निकै अन्याय र उत्पीडनमा परेका उनीहरुले आन्दोलन गर्दा धेरै मधेसीहरुकले ज्यान गुमाएका छन् । मधेस आन्दोलनको क्रममा सदियौदेखि बस्दै आएका थारुहरुको सद्भावलाई बिथोल्ने प्रयास गरियो । तराईमा मधेसी थारुहरुले भोग्नु परेको पीडाहरु घामजस्तै छर्लाङ्ग छ । विशेष गरी तराई मधेसबाट प्रतिनिधित्व गर्ने पहाडे नेताहरु यसबारेमा बढी जानकार छन् । मैले मधेसको बारेमा भन्नु भन्दा पनि तराईबाटै प्रतिनिधित्व गर्ने विभिन्न दलका पहाडी नेताहरु छन् उनीहरुले जे भन्छ त्यही अनुसार गरोस न त । त्यति लामो संघर्षपूर्ण आन्दोलन हुदाँ पनि सरकार र पार्टीहरुले मधेसको जायज मागलाई किन सुन्न र चिन्न नसकेको ? नाकाबन्दी मात्र भयो भनेर मधेसीलाई मात्र गाली गर्ने ? सबैले किन र कसरी नाकाबन्दी भयो भनेर किन बुझ्न नसकेको ?
मधेस आन्दोलनसंगै राष्ट्रवाद र विखण्डनको अविव्यक्तिहरु आइरहेका छन् नि, के भन्नुहुन्छ तपाई ?
मधेसले गरेको आन्दोलन नेपाली जनताल ेनै गरेको हो । यो कुनै अन्य देशको नागरिकले विखण्डनका लागि गरेको होइन । यो त हाम्रो घरभित्रको मुद्दा हो । बास्तवमा सरकारले यो मुद्दालाई सम्बोधन गर्न सक्नुपथ्र्यो । अहिले मधेश आन्दोलनको क्रममा एकतिर मुलुकको प्रधानमन्त्री केपी ओली जस्तो नेताहरु राष्ट्रवादको नाममा मनपरी बोल्दै हिडेका छन् भने अर्कोतिर सिकेलाल जस्तो व्यक्तिहरुले विखण्डनको भाषा बोल्दै हिडनु राम्रो होइन । म यो दुबैको घोर विरोधी हुँ । सर्वप्रथम हामी जहाँ गएपनि नेपाली हौ । त्यही नेपालभित्र तराईमधेसको भुगोलमा बस्ने मधेसी हो भने पहाडमा बस्ने पहाडे र हिमालमा बस्ने हिमाली हुन् । कसैले अधिकार माग्दैमा गलत मान्नु हुदैन । मधेस आन्दोलनको क्रममा भएको नाकाबन्दीलाई लिएर एकले अर्कोलाई जातीय द्वन्द्व फैलाउने अभिप्रायले आरोप प्रत्यारोप गर्नुहुदैन ।
मधेसको एउटा ठुलो हिस्सा थारु समुदायको मागलाई तपाईहरुले कसरी हेर्नुभएको छ ?
नेपालमा मधेसलाई चिनाउने तराईको २२ जिल्लामा सबैभन्दा धेरै जनसंख्या भएको समुदाय नै थारु समुदाय हो । आदिवासी जनजातिभित्र पनि धेरै ठुलो जनसंख्या भएको समुदायको रुपमा थारुलाई चिनिन्छ । तर थारुलाई हेर्ने देशले हेर्ने दृष्टिकोण भने थारुलाई मधेसीको रुपमा हेर्ने गरिन्छ । तराईमा जलजंगलको मालिक भनेकै थारु थियो । बिडम्बना आज त्यही थारु तराईमा कमलरी र कमैया बनाएको छ । हिजो त्यही थारुहरु तराईको जमिनदार हुन तर आज उनीहरुलाई शोषण र उत्पीडनको सिकारमा परेर उनीहरु कमैया बनाएको छ । देशमा कमैया मुक्ती भनेपनि सरकारको दृष्टिकोण थारुहरुमाथि स्पष्ट नीति नभएकोले मुक्ता कमैया बनेपनि थारुहरुले भुमि पाएकै छैन । पछिल्लो मधेस आन्दोलनमा पनि मधेसका दलहरुले थारुलाइ नै बढी प्रयोग गरेका छन् ।