११ चैत्र २०८१, मंगलबार | Tue Mar 25 2025

अमेरिकामा ल्होछारः तामाङ भेला र कल्चर सेन्टरका लागि सहयोग जुटाउन


४ जेष्ठ २०७४, बिहिबार  

0
Shares

तामाङ सोसाइटी अफ अमेरिकाका अध्यक्ष शान्तबाबु थोकरको नेतृत्वमा यस संस्थाले यतिखेर दुई महत्वपूर्ण कार्यहरु गर्न लागेको छ । सन् २००२ मा स्थापना भएको सोसाइटीको नयाँ नेतृत्वले पहिलोपटक ऐतिहासिक उत्तर अमेरिकी तामाङ सम्मेलनको तयारी बैठक आयोजना गर्न लागेको छ ।

करिब १५ विभिन्न राज्यमा रहेका ८० जना प्रतिनिधि आउन लागेको यस बैठकले उत्तर अमेरिकाको तामाङको साझा संयन्त्र निर्माणको बारेमा छलफल गर्नेछ । उत्तर अमेरिकी तामाङ सम्मेलनसँगै न्युयोर्कमा चाँडै तामाङ कल्चर सेन्टर बनाउन लागेका सोसाइटीका अध्यक्ष शान्त बाबु थोकरसग एभरेस्ट टाइम्सले गरेको कुराकानीः
ल्होछारमा उत्तरी अमेरिकी तामाङ भेला पनि हुदै छ, यसको उद्देश्य के हो ?
उत्तर अमेरिकामा बसोबास गर्दै आइरहेको तामाङहरुबीच पहिलोपटक एक ठाउँमा भेला भई एउटा साझा संयन्त्र निर्माणको लागि गरिने सामुहिक छलफल र प्रतिबद्धतानै यो भेलाको मुख्य उद्देश्य हो । यो भेलाले अहिलेसम्म हुन नसकेका महत्वपूर्ण छलफलहरु मार्फत सबैको भावनाअनुरुप उत्तर अमेरिकी तामाङ सम्मेलन गर्ने निर्णय गरिने छ ।
बैठकमा प्रतिनिधि गर्नेहरु संस्थागत हुन्छन् कि व्यक्तिगत ?
पहिलो प्रथामिकता संस्था भएको राज्यहरुबाट संस्थागत रुपमा आमन्त्रण गरेका छौं । संस्था नभएको ठाँउबाट व्यक्तिलाई पनि निम्तो दिएका छांै । तर कतिपय ठाउमा संस्थानै भए पनि त्यो संस्थालाई महत्वपूर्ण योगदान दिने व्यक्तित्वलाई पनि आमन्त्रण गरिसकेका छौं ।

तयारी कस्तो भइरहेको छ ?
पहिलोपटक हुन लागेको यो ऐतिहासिक भेलामा प्रतिनिधित्व गर्ने आमन्त्रित पाहुनाका लागि हामीले होटलको व्यवस्था गरिसकेका छौं । भेलाको बैठक गर्नकै लागि स्थान पनि बुक गरिसकेका छांै । बैठकमा आउनु हुनेलाई फर्कंदा पनि बिदाई कार्यक्रम गर्ने योजना बनाइरहेका छौ । भेलालाइ सफल बनाउन सोसाइटीले एक बेग्लै कमिटीसमेत बनाएको छ ।

भेलामा कुन एजेन्ड प्रथामिकतामा पार्ने तयारी गर्नुभएको छ ?
उत्तर अमेरिकाभरीबाट आउने तामाङ प्रतिनिधिहरुबीचको बैठकले पहिलोपटक हुन लागेको उत्तर अमेरिकी तामाङ सम्मेलनकै सेरोफेरोमा छलफल र सरसल्लाह हुनेछ । त्यही बैठकले सम्मेलनमा कति जना प्रतिनिधि आउने, कहिले सम्मेलन गर्ने र विधान कस्तो बनाउनेबारे छलफल हुनेछ ।

भेलापछि तामाङ सम्मेलन गर्नुको उद्देश्य पनि प्रस्टाइ दिनुहोस न ?
हामी उत्तर अमेरिकन तामाङहरुबीच एकता भई अब विश्वभरिको तामाङमा पनि एकता कायम हुन पर्छ र हौओ भन्नका लागि पहिलो उत्तर अमेरिकी तामाङ सम्मेलन गर्न लागेका हौं । हाम्रो समुदायको भाषा, धर्म र संस्कृतिको संरक्षणसँगै विश्वभरिको तामाङबीच भाइचारा अभिवृद्धि होस, भावनात्मक रुपमा नजिक होस र आपसमा दुःखसुखमा साथ दिन सकोस भन्ने लक्ष्यकासाथ एकता गराउने अर्को उद्देश्य हो ।

न्युयोर्कमा तामाङ कल्चर सेन्टर पनि छिट्टै बन्दैछ भन्ने सुनिन्छ, यसको तयारी कस्तो छ ?
पहिलोपटक उत्तर अमेरिकी सम्मेलनसँगै चाँडै न्युयोर्कमा तामाङ बुद्धिस्ट कल्चर सेन्टर बनाउनका लागि हामी लागी परेका छौ । यसैका लागि अहिलेसम्म हामीले एक लाख डलर नगद जम्मा गरिसकेका छौ । अबको ल्होसारमा डेढट लाख बनाएर त्यसमाथि एक लाख कल्चर सेन्टरको संयोजक इन्द्र तामाङको सहयोग लिएर दुई लाख ५० हजारमा यही वर्षभित्र किन्ने सोच बनाएका छौं ।

तामाङ कल्चर सेन्टर कस्तो हुनेछ ?
हामीले बनाउन खोजेको तामाङ कल्चर सेन्टर मौलिक तामाङ जातिको इतिहासमा आधारित संग्रहनीय केन्द्र बनाउन लागेको हो । यो केन्द्र तामाङ जातिको बारेमा अध्ययन गर्नका लागि संग्रहनीय कुराहरुको साथमा अरु समुदायलाई पनि काम लाग्ने गरी पार्टी हल पनि बनाउने योजना छ ।

तामाङ सोसाइटीले प्रवासमा भाषा संस्कृति जोगाउन कस्तो पहल गरिरहेको छ ?
अहिलेसम्म भाषा संस्कृति नै जोगाउने भनेर खासै सोचे जस्तो काम गर्न सकेको छैन । तर अब एउटा ठाउँ लिएर तामाङ भाषा सिकाउने योजना बनाएका छौं । अनलाइनबाट पनि भाषा प्रशिक्षण दिनेबारे सरसल्लाह गरिरहेका छौं ।
तामाङ सोसाइटीले विश्वको विभिन्न मुलुकको संस्थाहरुसँग कस्तो सहकार्य गर्न लागेको छ ?
हामी तामाङ जातिको हकहित र अधिकारको पक्षमा लाग्ने जुनै संस्थासग पनि सहकार्य गर्न तयार छौ । तर तामाङ जातिबाहेक अन्य संस्थाहरुसँग भने सहयोगी भुमिका भने हुनेछ ।

प्रकाशित मिति : ४ जेष्ठ २०७४, बिहिबार  ८ : ३७ बजे