५ भाद्र २०८३, शुक्रबार | Sat Aug 22 2026

१५औँ महाधिवेशनमा सहभागी नहुन शशांक कोइरालाको अपिल



काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिले १५औँ महाधिवेशनका लागि अघि बढाइरहेका अधिवेशनका गतिविधिमा सहभागी नहुन पार्टीका नेता तथा कार्यकर्तालाई अपिल गरेका छन्।

शुक्रबार अपराह्न डा. कोइराला निवासमा संस्थापन इतर पक्षका शीर्ष नेताहरूबीच छलफल भएपछि उनले प्रेस विज्ञप्ति जारी गर्दै यस्तो अपिल गरेका हुन्।

विज्ञप्तिमा डा. कोइरालाले नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद अझै विचाराधीन रहेको उल्लेख गरेका छन्। सर्वोच्च अदालतले आधिकारिकतासम्बन्धी मुद्दा पुनः हेर्न अनुमति दिएको स्मरण गराउँदै उनले यस्तो अवस्थामा एकतर्फी रूपमा १५औँ महाधिवेशनका गतिविधि अघि बढाउनु उचित नहुने बताएका छन्।

‘यो अवस्थामा कथित विशेष महाधिवेशनबाट गठित पक्षले १५औँ महाधिवेशन गर्ने निर्णय गरी कार्यतालिका सार्वजनिक गरेको सन्दर्भमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ।

डा. कोइरालाले विशेष महाधिवेशनपछि कांग्रेसको केन्द्रीय कार्यसमिति समानान्तर रूपमा विभाजित अवस्थामा रहेको दाबी गरेका छन्। यस्तो अवस्थामा एकतर्फी रूपमा महाधिवेशनतर्फ अघि बढ्दा आगामी निर्वाचनमा पार्टीलाई नकारात्मक असर पर्ने उनको ठहर छ।

‘गम्भीर विवादको अवस्थामा कथित विशेष महाधिवेशन पक्षले अधिवेशन वा महाधिवेशन गर्‍यो भने पार्टीका सबै तहका संरचनागत रूपमा विभाजनको प्रक्रिया सुरु हुने स्पष्ट देखिन्छ,’ उनले भनेका छन्, ‘आगामी स्थानीय तथा प्रदेश सभा सदस्यको निर्वाचनमा समेत पार्टीलाई झनै नकारात्मक असर पर्दछ भन्ने हाम्रो ठहर छ।’

उनले पार्टीभित्रको विवाद समाधान नगरी महाधिवेशनका गतिविधि अघि बढाउँदा संगठन थप विभाजित हुने चेतावनीसमेत दिएका छन्।

डा. कोइरालाले विशेष महाधिवेशन पक्षले अघि बढाएका अधिवेशन तथा महाधिवेशनका गतिविधि रोक्न र त्यसमा सहभागी नहुन पार्टीका सबै तहका समिति, पदाधिकारी, सदस्य तथा क्रियाशील सदस्यहरूलाई आग्रह गरेका छन्।

‘तथाकथित विशेष महाधिवेशन पक्षका यस्ता अवैधानिक र विभाजनकारी अधिवेशन र महाधिवेशन आयोजना नगर्न/नगराउन तथा यस्ता क्रियाकलापमा सहभागी नहुन पार्टीका सबै तहका समिति, पदाधिकारी र सदस्यहरू तथा क्रियाशील सदस्यहरूमा हार्दिक अपिल गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति : ५ भाद्र २०८३, शुक्रबार  १० : ४३ बजे