१० चैत्र २०८१, सोमबार | Mon Mar 24 2025

नीरफूलमा दयाहाङदेखि रेखासम्म, ७० प्रतिशत सुटिङ सम्पन्न


१ भाद्र २०७४, बिहिबार  

0
Shares

काठमाडौ । संचारकर्मी, कवि एवं कथाकार फूलमान वल निर्देशित पहिलो फिल्म ‘नीरफूल’ को यतिबेला छायांकनको अन्तिमतिर पुगेको छ । फिल्म युनिटले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरेर ‘नीरफूल’को ७० प्रतिसत छायांकन पुरा भएको जनाएको छ ।

फिल्ममा नायक दयाहाङ राइदेखि नायिका रेखा थापासम्मको अभिनय रहने छ । भूकम्पले छिन्नभिन्न परिवारले पुर्नमिलनको लागि गर्ने संघर्षमा आधारित फिल्म धादिङस्थित गणेश हिमाल मुनिको रुबी भ्याली र काठमाडौंमा छायांकन भइरहेको छ । मुख्य भुमिकामा नायक दयाहाङ राईले देखिनेछन् ।

स्क्रिप्ट मनपरेकोले अाफुले फिल्ममा अभिनय गरेको उनको प्रतिक्रिय थियो । ‘अचेल म स्क्रिप्ट पारिश्रमिक हेरेर मात्रै काम गरिरहेको छु’ पत्रकार सम्मेलनमा राइले भने, ‘यो फिल्मको कथाबस्तु निकै बलियो र मनछुने छ र यसमा मैले निकै फरक र चुनौतीपुर्ण भुमिका गरेको छु ।’

फिल्ममा विशेष भुमिकामा देखिन लागेकी नायिका रेखा थापाले पनि यसको कथाले नै आफूलाई तानेको बताइन् । फिल्ममा दयाहाङको जोडीको रुपमा अभिनेत्री शान्ती वाइबा देखिंदै छिन् । उनले यसअघि एउटा फिल्मको सानो रोलमा दयाहाङकै पत्नी भएको खेलेको सुनाउँदै ‘नीरफूल’मा भने आफूले मन फुकाएर काम गर्न पाएको बताइन् । उनले रुबी भ्यालीको गोठमा आगो ताप्दै भेंडीको दुध खाएको रोचक अनुभव सुनाइन् । बाल गायिका जिग्मे छ्योइकी घिसिङ फिल्मको मुख्य भुमिकामध्ये एकमा छिन् ।

फिल्मको कथा, पटकथा र गीत निर्देशक वल स्वयंले नै लेखेका छन् । पटकथामा उनलाई एशोसिएट निर्देशक सचिन घिमिरेले पनि साथ दिएका छन् । निर्देशक वलले दुईबर्षअघिको महाभूकम्पपछि दिमागमा कथा क्लिक भएको बताउँदै फिल्ममा राज्य प्रणालीको भ्रष्टता पनि उठाउन खोजिएको बताए । ‘यो धादिङ रुबी भ्यालीको एउटा परिवारको कथा हो’ उनले भने, ‘यो ठाउ“को भूगोल, प्रकृति र संस्कृतिबारे अहिलेसम्म बाहिर आएको छैन । यस हिसाबले यो फिल्मले रुबी भ्यालीलाई पनि चिनाउने छ ।’

फिल्मको निर्माणमा ‘सहकार्यको मोडल’ अपनाइएको उनले जनाए । फ्रेण्ड्स अफ नेपाल–म्यान्मार फ्रेन्डसिप काउन्सिल र अमेरिकास्थित ग्रीनतारा इन्टरटेनमेन्टको सहकार्यमा सेलो प्रोडक्शनले निर्माण गरिरहेको फिल्मको कार्यकारी निर्माता भने डोमा सोनाम हुन् । व्यवसायको सिलसिलामा दुबई रहेकीले पत्रकार सम्मेलनमा उनी उपस्थित हुन सकिनन् । यसबाहेक निर्माताको रुपमा कतारबाट माया केसी, बेलायतबाट दिपक श्रेष्ठ, इजरायलबाट चन्द्रमाया तामाङ, जापानबाट उदय लामा, कोरियाबाट दिनेश लम्तरी मगर र नेपालबाट अशोक थापा छन् ।

फिल्म सामाजिक विषयबस्तुमा आधारित रहेकोले आफूहरुले सहकार्य गरेको नेपाल–म्यान्मार फ्रेण्डसीप काउन्सिलका अध्यक्ष शंकर घिमिरले जनाए । ‘हाम्रो लगानी गैरनाफामुखी हो’ उनले भने, ‘यो फिल्मले समाजको कथा भन्नेछ ।’ फिल्ममा बुद्धि तामाङ, पुस्कर गुरुङ, सरिता गिरी, राजन खतिवडा, सरोज अर्याल, मानस राज, लक्ष्मी बर्देवा, जीवन बराल, रोशन फ्युबा लगायतका कलाकार आबद्ध छन् । एशोयिएट निर्देशक सचिन घिमिरेले पनि पटकथामा सहकार्य गरेका छन् भने प्रमोद कार्कीको छायांकन, अर्जुन पोखरेलको संगीत रहेको कार्यक्रममा बताइयो । फिल्मको ३० प्रतिशत छायांकन बा“की रहेको र आउ“दो माघमा रिलिजको योजना रहेको निर्देशक वलले जनाए ।

प्रकाशित मिति : १ भाद्र २०७४, बिहिबार  ७ : ३८ बजे