दक्षिण कोरियामा कार्यरत एपी तेन्जिङ शेर्पा सामाजिक अभियन्ता हुन् । फुर्सदमा केहि न केहि रच्नात्मक काम गर्न रुचाउँने शेर्पाले हालै रुपकी रानी बोलको गीत सिर्जना गरी रेकर्ड गराएका छन् । बिएसबिएफ गोरखा रेडियो नियमित सुन्ने एक्टिभ लिस्नर शेर्पाले रेडियोकै माध्यमबाट बिश्वभरी धेरैजनासँग चिनजानी बढाएका छन् । सोलुखुम्बु जिल्लाको लिखु पिके गाउँ पालिका अन्तरगत पर्ने खारे गाउँमा स्थाई घर भएको शेर्पाले सामाज सेवाको कामलाई आफ्नो दायित्व नै मान्दछन् । उनले हालै कोरियामा कार्यरत साथीभाईहरुमाझ अनुरोध गरी रु ६२,२०० (बैसठी हजार दुई सय रुपैया) सोलुखुम्बु काँकुका मृगौला रोगी मदन तामाङलाई अार्थिक सहयोग उपलब्ध गराए ।
दुई मसिना बालबालिकाका बुबा २७ बर्षिया मदन तामाङको दुईटै मृगौलाले काम नगरे पछि उनी बिगत केहि बर्ष देखि उपचारको क्रममा छन् । उपचारमा संलग्न डाक्टरले मृगौला फेर्नु पर्ने बताएपछि आर्थिक अभावमा त्यो महँगो उपचार बिधी मदनको लागि असम्भव देखिदै गयो । जे जसो होला घरमै होस् भनेर हरेस खाएका आमा बुबाले घरमै फर्काउँन खोजे । तर साउदी अरबमा कार्यरत मदनका दाई राजुले हिम्मत गरेर सहयोगका लागि सबैतिर अनुरोध राखे । यही अनुरोधलाई आधार बनाई शेर्पाले कोरियामा सहयोग उठाउँन पहल गरेका थिए ।
मृगौला दाता भेट्टाएको खण्डमा प्रत्यारोपण अहिले नेपालमै निशुल्क हुन्छ । त्यसो त मदनलाई आर्थिक सहयोग किन चाहियो भन्ने सन्दर्भमा मृगौला दाताको लागि ठुलो खर्च हुने राजुले बताए । उनका अनुसार भक्तपुर स्थित मानव अँग प्रत्यारोपण केन्द्रमा मदनको पालो ३३ जना पछि परेको छ । मृगौला दाताको ब्लड समुह बिरामीकोसँग मिल्ने चाहिन्छ र पहिलेबाटै खोजेर तयारीमा राख्नु पर्ने हुन्छ । मृगौलादाताको लागि लाग्ने खर्च र प्रत्यारोपण पछि बिरामीको नियमित फलो अप उपचारमा ठुलो खर्च हुने गर्दछ ।