कृष्णराज खनाल
राले (नर्थ क्यारोलाइना, अमेरिका) । प्राध्यापक शिवहरि मरहट्टाद्वारा लिखित कविता संग्रह ‘परदेश र अनुभूति’ को यहाँ एक विशेष समारोहका बीच विमोचन गरिएको छ ।
नर्थ क्यारोलाइना नेपाली साहित्य समाजले आयोजना गरेको कार्यक्रममा प्राध्यापक मरहट्टाको पुस्तक ‘परदेश र अनुभूति’ को संयुक्त रूपमा विमोचन गरिएको हो । सो पुस्तकको विमोचन लेखककी पत्नी उमादेवी मरहट्टा, गैरआवासीय नेपाली संघ, भाषा साहित्य समितिका अध्यक्ष राजेन्द्रप्रसाद अर्याल, नर्थ क्यारोलाइना नेपाली साहित्य समाजकी अध्यक्ष गीता बस्नेत, सल्लाहकार ईश्वर देवकोटा, डा. बालकृष्ण शर्मा र नेपलिज कम्युनिटी अफ नर्थ क्यारोलाइनाका अध्यक्ष दिदिङ पाण्डेले संयुक्त रूपमा गरेका हुन् ।
महेन्द्र संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति समेत रहिसकेका प्राध्यापक मरहट्टाले ‘परदेश र अनुभूति’ मा विशेष गरी अमेरिका र अस्ट्रेलिया भ्रमणका अवसरमा देखिएका/भोगिएका विभिन्न पात्र, स्थान र चरित्रको पद्यमार्फत सजीव चित्रण गरेका छन् । यसका साथै पुस्तकमा देशको माया र सम्झनालाई पनि उत्तिकै प्रस्तुत गरिएको छ । यो कृतिमा जम्मा ४४ वटा कविताहरू समावेश छन् ।
सो अवसरमा मदन पुरस्कार विजेता साहित्यकार नीलम कार्की ‘निहारिका’ ले प्राध्यापक मरहट्टाको साहित्यिक साधना र उनले नेपाली भाषा तथा साहित्यको उत्थानमा पुर्याएको योगदानको चर्चा गरेकी थिइन् । त्यसैगरी साहित्यकार डा. ऋषि बस्ताकोटीले प्राज्ञिक व्यक्तित्व मरहट्टाको कृति सार्वजनिक हुनु सबैका लागि गौरवको कुरा भएको बताएका थिए ।
कृतिमाथि टिप्पणी गर्दै उमा शर्मा र डा. शरद पराशर मरहट्टाले यस संग्रहमा लेखकको आत्मानुभूति र जीवनदर्शन प्रतिविम्बित भएको धारणा राखे । कार्यक्रममा साहित्यकार प्रभा पोखरेलले कृतिमा समावेश केही कविताहरू वाचन गरेका थिए ।
नर्थ क्यारोलाइना नेपाली साहित्य समाजकी अध्यक्ष गीता बस्नेतको सभापतित्व तथा एनआरएनका भाषा साहित्य समिति अध्यक्ष राजेन्द्रप्रसाद अर्यालको प्रमुख आतिथ्यमा आयोजित सो समारोहमा समाजका वरिष्ठ उपाध्यक्ष मनोज प्रधानले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको अन्त्यमा लेखक मरहट्टाले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरे ।
भर्चुअल माध्यम (जुम) मार्फत थुप्रै साहित्यकारहरूको उपस्थिति रहेको सो कार्यक्रममा आयोजक नर्थ क्यारोलाइना साहित्य समाजको तर्फबाट लेखक मरहट्टालाई सम्मानपत्र पनि प्रदान गरिएको थियो ।









