काठमाडौं । निर्वाचन आयोगले प्रदेशसभा सदस्यतर्फको समानुपातिक सिट बाँडफाँट गरेको छ। प्रदेशसभातर्फ सबैभन्दा धेरै नेकपा एमालेले सिट पाएको छ।
नेकपा एमालेले ७५ सिट पाएको छ भने कांग्रेसले ७२ र माओवादी केन्द्रले ३५ सिट पाएको छ। पाँच वटा प्रदेशमा नेकपा एमालेले धेरै सिट पाएको छ। प्रदेश २ मा समानुपातिक सिटमा चौथो दल भएको एमाले प्रदेश ७ मा भने नेपाली कांग्रेससँग बराबरीमा छ ।
कुन प्रदेशमा कसले कति पाए?
प्रदेश १
यस प्रदेशले समानुपातिकबाट ३७ सांसद पाएको छ। नेकपा एमालेले १५ सिट हात पारेको छ। नेपाली कांग्रेले १३ र माओवादी केन्द्रले ५ सिट पाएको छ ।
प्रदेश २
प्रदेश नम्वर २ मा समानुपातिकबाट ४३ सांसदले प्रदेश सभामा प्रवेश पाउने छन्। यस प्रदेशमा कांग्रेसको उपस्थिति बलियो छ। यसमा नेपाली कांग्रेसले ११, राष्ट्रिय जनता पार्टी नेपालले १०, नेकपा एमालेले ७, माओवादी केन्द्रले ५ र संघीय समाजवादी पार्टीले ९ सिट हात पारेको छ।
प्रदेश ३
प्रदेशसभातर्फ धेरै समानुपातिक सिट पाउनेमा यो प्रदेश पर्छ। प्रदेश तीनले ४४ सांसद पाएको छ । नेकपा एमालेले १६, कांग्रेसले १४ र माओवादीले ८ सिट पाएको छ ।
प्रदेश ४
प्रदेश ४ ले २४ समानुपातिक सांसद पाउने छ। नेकपा एमालेका १०, नेपाली कांग्रेसका ९ र माओवादी केन्द्रका ३ जनाले प्रदेश सभामा सांसद बन्न पाउने भएका छन्।
प्रदेश ५
यस प्रदेशमा नेकपा एमालेले १३, नेपाली कांग्रेसले १२ र माओवादीले ६ सिट पाएको छ। यस प्रदेशले जम्मा ३५ जना समानुपातिक सांसद पाउने छ ।
प्रदेश ६
यस प्रदेशमा समानुपातिकतर्फबाट सबैभन्दा कम सांसद हुनेछन्। १६ जना सांसद रहने यस प्रदेशमा एमालेले ६ सिट पाएको छ। नेपाली कांग्रेसले ५ र माओवादीले ४ सिट पाएको छ।
प्रदेश ७
प्रदेश ७ मा २१ जना सांसद हुनेछन्। यस प्रदेशमा नेकपा एमाले र नेपाली कांग्रेसले बराबरी सिट पाएका छन्। नेकपा एमालेले ८, नेपाली कांग्रेसले ८ र माओवादी केन्द्रले ४ सिट हात पारेको छ।