काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता गोपाल किरातीले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पत्र लेख्दै एमालेमा माओवादी मिसिनु न्यायोचित नहुने बताएका छन्।
मंगलबार एक भेला बसेपछि किरातीले एक विज्ञप्ती जारी गर्दै उक्त पत्र पेरिसडाँडा पठाएको बताए।
भेलापछिको विज्ञप्ति र पत्र जस्ताको तस्तै
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
आठौं महाधिवेशन समुहको निर्णय
महान सर्वहारा अन्तर्राष्ट्रवादी गुरु माओ त्सेतुङको १२४ औं जन्म दिवसको अवसरमा आयोजित नेकपा (माओवादी केन्द्र)का विभिन्न तहमा कार्यरत कमरेडहरुको भेलाले माओप्रति उच्च श्रद्धा अर्पण गर्दै उहाँले देखाउनु भएको निरन्तर क्रान्तिको वैज्ञानिक बाटोमा अघि बढ्ने संकल्पसहित तत्काल पार्टी महाधिवेशन आयोजनाको माग गर्न यो ‘आठौं महाधिवेशन समुह’ निर्माण गरियो । पार्टी केन्द्रीय सचिवालय सदस्य क. गोपाल किरातीको अध्यक्षतामा सम्पन्न उक्त भेलाले निम्न निर्णयहरु गरेको छ ।
१. आठौं महाधिवेशन समुह सर्वहरावादी आन्दोलन र पहिचान आन्दोलनबीच समायोजनको विज्ञान माक्र्सवाद–लेनिनवाद–माओवादको पथप्रदर्शक सिद्धान्त र वैज्ञानिक समाजवाद स्थापनाको राजनीतिक कार्यदिशामा सहमत देशका सबै क्रान्तिकारी कम्युनिष्टहरुबीच दृढ एकता पक्षधर कमरेडहरुको समुह हो ।
२. हाम्रो समुह माओवादी क्रान्तिकारीहरुको स्वाभिमान रक्षा तथा महान जनयुद्धको उच्च सम्मान, आन्तरिक एकता र नयाँ आधारमा जनसम्बन्ध सुदृढिकरण गरि महान समाजवादी क्रान्तिमा अघि बढ्न आठौं पार्टी महाधिवेशन आयोजनाको पक्षमा अन्तसम्मै अन्तरपार्टी दुईलाईन संघर्ष गर्नेछ । तर, माओवाद र पहिचानको मुद्दा धरापमा पारेर कसैले हाम्रो पार्टीलाई दक्षिणपन्थमा विलय गर्दछ भने त्यससित सम्बध विच्छेद गरि आफ्नो सर्वहारावर्गीय स्वतन्त्रतामा पार्टी पुनर्गठन गरेर अघि बढ्न बाध्य हुनेछ ।
३. देशको विभिन्न तहमा निर्वाचित पार्टीका जनप्रतिनिधिहरु सदन र सरकारको मोर्चामा सक्रिय हुनुपर्दछ । त्यस्तै सडक मोर्चालाई अझ प्रभावकारी तुल्याउन तत्काल पार्टी महाधिवेशन जरुरी छ । अतः पार्टी महाधिवेशन आयोजनाको पक्षमा सशक्त आवाज उठाउँदै गाउँ÷नगर, जिल्ला तथा प्रदेश सम्मेलन आयोजनाको माग गर्न हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र)का क्रान्तिकारी कमरेडहरु समक्ष आठौं महाधिवेशन समुह जोडदार आव्हान गर्दछ ।
४. संघीय गणतन्त्र नेपालको २ नं. प्रदेशमा मधेस सरकार बन्दैछ । त्यसको स्वागत तथा समर्थन गर्दै आठौं महाधिवेशन समुह सोही अनुरुप ताम्सालिङ सरकार, किरात सरकार, लिम्बुवान सरकार, कोचिला सरकार एवं तमुवान सरकार, मगरात सरकार, थरुवान सरकार, खसान सरकार आदि स्वायत्त राज्य सरकार स्थापना गर्न संविधान संशोधन– संयुक्त आन्दोलन निर्माणको आव्हान गर्दछ ।
५. राष्ट्रिय महाधिवेशन आयोजनाको माग गर्दै ०७४ मंसिर २२ गते पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुझाइएको पत्र यसैसाथ सार्वजनिक गर्दछौं ।
लालसलाम सहित !
गोपाल किराती
संयोजक, नेकपा (माओवादी केन्द्र)
आठौं महाधिवेशन समुह
प्रचण्डलाई सम्बोधन गर्दै चिठी
आदरणीय कमरेड प्रचण्ड,
अध्यक्ष, नेकपा (माओवादी केन्द्र)
राष्ट्रिय महाधिवेशन आयोजक समिति ।
विषयः आठौं राष्ट्रिय महाधिवेशन आयोजना गरियोस् ।
उपलब्धी र कमजोरीसहितको संविधान कार्यान्वयन गर्ने निर्वाचन सम्पन्न भइसकेको पृष्ठभूमिमा स्वतन्त्रतापूर्वक माओवादी आन्दोलनको समीक्षा र नेपाली समाजवादी क्रान्तिको रणनीति र कार्यनीतिमा विकास तथा आम स्पष्टताका निम्ति पार्टीको राष्ट्रिय महाधिवेशन वस्तुगत आवश्यकता बनेको छ । बृहत कम्युनिष्ट केन्द्र बनाउने लोकप्रिय नारामा माक्र्सवाद–लेनिनवाद–माओवाद (मालेमा) को पथप्रदर्शक सिद्धान्तमाथि प्रश्न उठेको छ, समाजवादी क्रान्तिको महान जनआधार इलाका पहिचानको मुद्दा हल गर्ने कार्यदिशामा प्रश्न उठेको छ र पार्टीमा जनवादी केन्द्रीयताबारे प्रश्न उठेको छ । नेपाली सर्वहारावर्ग र उत्पीडित जनसमुदायलाई गणतन्त्रसम्म ल्याईपु¥याउने माओवादी आन्दोलनको समीक्षा बेगरै पार्टीलाई संसदवादमा विलय गर्ने दक्षिणपन्थी भड्काव विरुद्ध प्रश्न उठेको छ । नेकपा (माओवादी केन्द्र) को जीवनमा यी असाधारण प्रश्नहरु हुन् । यी प्रश्नहरुको वैज्ञानिक जवाफ निर्माण गर्न र निर्णय प्रक्रियामा नेतृत्वलाई सहयोग गर्न पार्टीको सर्वोच्च निकाय राष्ट्रिय महाधिवेशन आयोजना एक मात्र सही समाधान हो ।
पार्टीको विद्यमान केन्द्रीय निकाय राष्ट्रिय महाधिवेशन आयोजक समिति हो र महाधिवेशन आयोजना गर्नु यस समितिको प्रमुख कर्तव्य हो । वृहत कम्युनिष्ट केन्द्र बनाउने प्रश्नमा पनि के आधारमा एकता र के को निम्ति एकता?माओवादी धाराको स्वतन्त्र जवाफ जरुरी छ । पार्टी एकता संयोजन समितिको ६ बुँदे पत्र र निर्वाचनको संयुक्त घोषणापत्रमा मालेमाको उल्लेखसम्म छैन । मालेमा र पहिचान मुद्दालाई धरापमा पारेर एमालेसित एकता महाधिवेशन आयोजक समिति गठन गर्दा पनि एमालेहरु दशौं महाधिवेशन भन्नेछन् भने माओवादी केन्द्रको इतिहासमा आसन्न महाधिवेशन आठौं हुनेछ । ४०–६० को उम्मेद्वार अनुपात संगठनमा पनि लागु हुँदा माओवादी केन्द्रको भागमा आयोजक समिति र महाधिवेशन प्रतिनिधि ४०% तथा एमालेको भागमा ६०% हुनेछ । जबकि ५१% ले नीति र नेतृत्व ठेगान लगाउँछ । अतः विकसित दुनियाँमा मालेमाको रक्षा,प्रयोग र विकास तथा पहिचान मुद्दा सम्बन्धी यावत प्रश्नहरुको जवाफ महाधिवेशनले निर्माण गर्न पाउनु पर्छ र मालेमावादी वैचारिक–राजनीतिक तथा संगठनात्मक स्वतन्त्रतासहित नेकपा (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशन अपरिहार्य आवश्यक छ ।
विद्यमान ४ हजार जनाको आयोजक समितिमा बहुसंख्यक युवा कमरेडहरु हुनुहुन्छ । माओवादी केन्द्रको राजनीतिक तथा संगठनात्मक जीवनमा उहाँहरुले के सिक्ने ? मुख्यतः पार्टीले उहाँहरुलाई के सिकाउने ? अतः ४ हजार जनाको आयोजक समिति र त्यस मातहत लाखौं पार्टी सदस्यलाई सर्वहारा क्रान्तिको दिशामा प्रशिक्षित एवं परिचालन गर्नुका अतिरिक्त माओवादी स्वाभिमानको रक्षा तथा आन्तरिक एकता र पार्टी पुनःनिर्माणका निम्ति आठौं महाधिवेशन अत्यावश्यक छ ।
पार्टीको सर्वोच्च निकायद्वारा उपरोक्त प्रश्नहरुको संस्थागत संवोधनका निम्ति केन्द्रीय कार्यालयसमक्ष तत्काल आठौं राष्ट्रिय महाधिवेशनको मिति निश्चित गर्न माग गर्दछु । त्यस निमित्त तत्काल गर्नुपने संगठनात्मक काम र वैचारिक–राजनीतिक प्रश्नहरु समेत यहाँ समावेश गरेको छु ।
तत्काल गर्नुपर्ने संगठनात्मक कामहरु
१.पार्टीको केन्द्रीय सचिवालय वा पोलिटव्युरो बोलाई आठौं महाधिवेशनको मिति, स्थान र प्रतिनिधि निर्वाचन कार्यक्रम निर्धारण गर्ने । आयोजक समिति मातहत विभिन्नउप–समितिहरु गठनगरी ठोस कार्य विभाजन गर्ने ।
२. तीन तहको निर्वाचनमा केन्द्रीत हुँदा बाँकी रहन गएका गाउँ÷नगर सम्मेलनहरु तुरुन्त सम्पन्न गर्ने । जिल्ला र प्रदेश सम्मेलनको मिति र कार्यक्रम ठोसगरी सम्पन्न गर्न युद्धस्तरमा लाग्ने ।
३. पार्टीको स्थानीयदेखि केन्द्रीय समितिसम्म निर्माण गर्दा ‘नेकपा (माओवादी केन्द्र) को संगठनात्मक कार्यविधि–२०७३’ अनुसार गर्ने । पार्टीको हरेक तहको सम्मेलन प्रतिनिधि र महाधिवेशन प्रतिनिधि निर्वाचित गर्दा पार्टी समर्थित प्रत्येक जनवर्गीय संगठन र प्रत्येक राष्ट्रियमोर्चा संगठनबाट एक महिलासहित २ जना अनिवार्य प्रतिनिधित्व गराउने ।
४. वैचारिक–राजनीतिक प्रतिवेदन र विधान समितिले तुरुन्त काम शुरुगरी स्थानीय पार्टी सम्मेलनमा उक्त प्रतिवेदनहरु उपलब्ध गराउने । मूल प्रतिवेदनमा मतभेद राख्ने सदस्यहरुले स्वतः फरक मतको प्रतिवेदन प्रस्तुतगर्ने छन् ।
वैचारिक–राजनीतिक प्रश्नहरु
१. मानव मुक्तिको सर्वोच्च विज्ञान, २१ औं शताब्दीमा सर्वहारावर्गको वैचारिक हतियार मालेमाको पथप्रदर्शक सिद्धान्तलाई दह्रोगरी पक्डेर यसको रक्षा, प्रयोग र विकास गर्दै साम्यवादको लक्ष्यमा दृढतापूर्वक अघि बढ्ने कि संसदवादतर्फ आत्मसमर्पण गर्ने ? के आत्मसमर्पणवादी योजनामा विगत १२ वर्षमा कुनै बैचारिक काम र कार्यकर्ताको संस्थागत व्यवस्थापन नगरिएको त होइन ?
२. मालेमाको विज्ञान नै हो, जसले नेपालमा महान जनयुद्धको रुपमा कम्युनिष्ट आन्दोलन उठायो र सामन्ती राजतन्त्र अन्त्य ग¥यो । यस विज्ञानको, माओवादी कम्युनिष्ट आन्दोलनको भूमिकाबारे संश्लेषण नगरी आन्दोलन विसर्जन गर्न खोज्नु ऐतिहासिक भौतिकवाद हुन्छ?
३. पहिचानको मुद्दालाई वर्गसंघर्षको जनआधार इलाकामा स्थापित नगरी कसरी हुन्छ नेपालमा समाजवादी क्रान्ति? उत्पीडित समुदायको आन्तरिक राष्ट्रिय मुक्तिको अभावमा दिइने बाह्य राष्ट्रियता र आर्थिक समृद्धिको नाराले कुन वर्ग–समुदायको सेवा गर्छ ?
४. एमालेसित एकताबाट गरिने समाजवादी क्रान्तिको दार्शनिक आधार र वैचारिक–राजनीतिक दिशा के हो ? के को निम्ति एकता? वैज्ञानिक समाजवादको निम्ति कि मरणासन्न संसदवादको निम्ति?
५. वैज्ञानिक समाजवादको निम्ति हो भने मालेमाको पथप्रदर्शक सिद्धान्त स्वीकार गर्न एमाले समूह तयार छ ? अन्तर्राष्ट्रिय गैरसरकारी संस्था निर्भर एमाले समूह दलाल तथा नोकरशाही पुजी हठात राष्ट्रियकरण गर्न तयार छ ? बिना मुआब्जा भूमिसुधार गर्न तयार छ ?एमालेसित एकीकृत पार्टीको सम्पत्ति स्वामित्वबारे नीति के हुनेछ ?
६. श्रमिकवर्गको स्वामित्वमा राष्ट्रिय पुजी निर्माण गर्न वाम गठबन्धनले चुनावमा भनेको समाजवादले विश्व बैंक, अन्र्तराष्ट्रिय मुद्रा कोष जस्ता वित्तीय साम्राज्यवादी चंगुलबाट नेपाली अर्थतन्त्रलाई मुक्त गर्छ? गर्छ भने कुन सिद्धान्तको आाधारमा गर्छ र गर्दैन भने त्यो कसरी हुन्छ श्रमिकवर्गको समाजवाद?
७. माओवादी केन्द्रको संगठनात्मक सिद्धान्त जनवादी केन्द्रीयता हो कि प्रचण्ड केन्द्रीयता?के प्रचण्ड केन्द्रीयताले स्टालिन र माओको कमजोरीबाट शिक्षा लिएर निरन्तर क्रान्तिको मार्गदर्शन गर्छ ?
८. क. नारायणकाजी श्रेष्ठको ‘प्रतिक्रान्तिको शिक्षासहितको माक्र्सवाद’ अब के हुन्छ?मालेमावादी बल प्रयोगको सिद्धान्तमा प्रतिबद्धता तथा एकता महाधिवेशनबाट कार्यदिशा संश्लेषण गर्ने तेह्रबुँदे आधारपत्रबारे क. बादलको जवाफ के ? क. मातृका यादवको आन्तरिक उपनिवेश विरुद्धको लडाई कसरी लड्ने ?
९. ताजा इतिहासको महान तथा गौरवशाली माओवादी आन्दोलनलाई सर्वहारा साँस्कृतिक क्रान्ति विपरीत चरित्रमा धकेलेर डाइनोसरउन्मुख गराउन पार्टीका अधिकांश नेताहरुको सम्भ्रान्तवर्गीय जीवनशैली र तदर्थवादी कार्यशैली कति जिम्मेवार छ ?
१०. के आफ्नो सर्वहारावर्गीय स्वतन्त्रतासहित इतिहासको अर्को चरण माओवादी नै भएर लड्ने विचारले कात्रो बेरेकै हो ? कि हरेक पार्टी सदस्यसम्म कठोर सार्वजनिक आत्मसमीक्षाको सर्वहारा साँस्कृतिक आन्दोलन चलाएर पार्टी पुनःनिर्माणको निर्णायक योजनामा माओवादी केन्द्रलाई बोल्सेभिक शक्ति बनाएरै छाड्ने संकल्प गर्ने हो ?
उपरोक्त प्रश्नहरुको मालेमावादी जवाफ आम जनदिशा आधारित आठौं महाधिवेशनमा खोज्नु पर्छ । हामीलाई लाग्छ, नेपाली सर्वहारावर्ग र उत्पीडित समुदायको साथमा माओवादी नै भएर अघि बढ्न तथा समाजवादी क्रान्तिको नेतृत्व गर्न सम्भव छ । सर्वहारा साँस्कृतिक रुपान्तरणको शर्तमा नेपालबाट विश्वक्रान्तिको सेवा सम्भव छ ।
लालसलाम सहित !
गोपाल किराती
नेकपा (माओवादी केन्द्र), सचिवालय सदस्य
२२ मंसीर २०७४