ब्रिटेनका राजा चार्ल्सले आफ्ना भाई राजकुमार एन्ड्रूका सबै राजकीय उपाधि खोस्ने र उनलाई विन्डसरस्थित राजदरबारबाट निष्कासन गर्ने प्रक्रिया सुरु गरेका छन् । यौन अपराधी जेफ्री एप्स्टिनसँगको एन्ड्रूको सम्बन्धबारे दशकौं लामो विवादपछि शाही परिवारभित्र देखिएको यो सबैभन्दा ठुलो कदम मानिएको छ ।
सीएनएनका अनुसार बकिङ्घम दरबारले यस कदमलाई “आवश्यक अनुशासनात्मक कारबाही” भन्दै पुष्टि गरेको छ । यसले पछिल्लो केही दशकमा ब्रिटिश राजपरिवारभित्र देखिएको सबैभन्दा गहिरो विभाजनलाई औपचारिक रूप दिएको बताइन्छ ।
एन्ड्रू (६५) पछिल्ला १५ वर्षदेखि एप्स्टिनसँगको मित्रताको कारण आलोचनामा थिए । भर्जिनिया जिउफ्रेले हालै प्रकाशित आफ्नै आत्मकथामा एन्ड्रूले आफू किशोरी हुँदाखेरि यौन शोषण गरेको आरोप लगाएकी थिइन् । एन्ड्रूले ती आरोपहरू अस्वीकार गर्दै आएका छन् । जिउफ्रेले गत अप्रिलमा ४१ वर्षको उमेरमा आत्महत्या गरेकी थिइन् ।
जिउफ्रेको परिवारले विज्ञप्तिमा भनेको छ, “आज एउटा साधारण अमेरिकी केटीले आफ्नो सत्य र साहसद्वारा एक ब्रिटिश राजकुमारलाई झुकाएको छ ।” उनका दाजु स्काइ रोबर्ट्सले सीएनएनसँग भनेका छन्, “यो खुशी र दुःख दुबै मिश्रित दिन हो ।”
दरबारले जारी गरेको वक्तव्यमा भनिएको छ कि एन्ड्रूले अब विन्डसर दरबारबाट सरेर निजी आवासमा बस्नुपर्नेछ । वक्तव्यमा भनिएको छ, “अबदेखि उनलाई ‘एन्ड्रू माउन्टब्याटन विन्डसर’ नामले चिनिनेछ । उनको लिज समाप्त गरिएको छ र उनी वैकल्पिक आवासमा सर्नेछन् ।”
एन्ड्रू अब लण्डनदेखि करिब एक सय माइल उत्तरमा रहेको स्यान्ड्रिङ्घम दरबार परिसरभित्रको सम्पत्तिमा बस्नेछन्, जसको खर्च राजा चार्ल्सले व्यक्तिगत रूपमा व्यहोर्नेछन् ।
एन्ड्रूले यसअघि नै आफ्ना शाही उपाधिहरू प्रयोग नगर्ने घोषणा गरेका थिए, तर त्यसले सार्वजनिक आलोचना रोक्न सकेन । सन् २०२२ मा उनले जिउफ्रेलाई गरेको भनिएको करोडौँ डलरको सम्झौतापछि उनका आर्थिक स्रोतबारे पनि प्रश्न उठेको थियो ।
दरबारको निर्णय अनुसार अब एन्ड्रूका सबै शाही उपाधिहरु खोसिएका छन् । “राजा र रानीका भावना सधैँ दुर्व्यवहारका सबै पीडित र जीवित बचेका व्यक्तिहरूप्रति रहनेछन्” वक्तव्यमा भनिएको छ ।
यसबीच रिपब्लिक नामक राजतन्त्रविरोधी समूहले एन्ड्रूविरुद्ध यौन अपराध र सार्वजनिक पदको दुरुपयोगका आरोपमा निजी अभियोजन सुरु गर्ने तयारी गरेको जनाएको छ । समूहका प्रमुख ग्राहाम स्मिथले भने, “सिर्फ उपाधि गुमाउनु न्याय होइन । एन्ड्रूलाई कानूनी रूपमा जिम्मेवार ठहर गरिनुपर्छ ।”
एन्ड्रूकी पूर्वपत्नी साराह फर्गुसन पनि विन्डसर दरबारबाट सर्नेछिन् । उनका दुई छोरीहरू राजकुमारी बीट्रिस र यूजिनी भने आफ्ना उपाधि कायम राख्नेछन्, किनभने उनीहरू सत्तारूढ सम्राटका सन्तान हुन् ।
बकिङ्घम दरबारका अनुसार यो निर्णयमा ब्रिटिश सरकारले पनि सहमति जनाएको छ। इतिहासकारहरूका अनुसार अन्तिमपटक कुनै राजकुमारको उपाधि खोसिएको घटना सन् १९१७ मा भएको थियो, जब रानी भिक्टोरियाका नाति चार्ल्स एडवर्डबाट डुक अफ अल्वानीको उपाधि खोसिएको थियो ।
राजा चार्ल्सको यो निर्णयले न केवल शाही परिवारमा ऐतिहासिक दरार पारेको छ, तर ब्रिटिश राजसंस्थाको विश्वसनीयतामाथि परेको प्रश्नलाई शान्त पार्ने प्रयास पनि गरेको छ ।









