१९ मंसिर २०८०, मंगलबार | Tue Dec 5 2023

न्यूयोर्कमा प्रथम उत्तर अमेरिका तामाङ सम्मेलन हुँदै


२८ पुस २०७४, शुक्रबार  

0
Shares

मच्छे गुरुङ / न्युयोर्क

प्रथम उत्तर अमेरिका तामाङ सम्मेलन २०१८ न्यूयोर्कमा हुँदैछ । सम्मेलन यही जनवरी १३ र १४ तारिखमा हुँदैछ । उत्तर अमेरिकाभरि छरिएर रहेका तामाङ समुदायलाई एकै ठाउँमा समेटेर लाने उद्देश्यले र संस्थागत एकताको लागि सम्मेलन गर्न लागेको सम्मेलनका कन्भेनर एवं तामाङ सोसाइटी अफ अमेरिका (टिएसए)का अध्यक्ष शान्ता थोकरले जानकारी दिएका छन् । सम्मेलनको नारा ‘बलियो समाज निर्माणको लागि सँगै अघि बढौं’ भन्ने रहेको छ ।

संयोजक थोकरका अनुसार विभिन्न राज्यमा रहेका तामाङहरुको संस्थाले नेपालमा सन् २०१५ मा गएको भूकम्प पीडितका लागि छुट्टाछुट्टै गरेर एक लाख डलर सहयोग गरे पनि त्यो रकमको सही सदुपयोग नभएको निष्कर्ष निकाल्दै, एकद्वार प्रणालीबाट पठाएको भए उपलब्धीमुलक हुने भन्ने ठानेर सबै तामाङहरुलाई समेट्ने साझा संस्थाको आवश्यक्ता महसुस गरेर यो सम्मेलनको अवधारणा आएको हो । छरिएर विभिन्न मुलुकमा बसोबास गरिरहेका तामाङहरुको आर्थिक, शैक्षिक, साँस्कृतिक, विकासमा योगदान गर्ने उद्देश्यले तामाङहरुलाई एउटै साझा घरमा समेट्नका लागि यो सम्मेलन उपलब्धीमूलक हुने आयोजकको दावी छ ।

टिएसएका अध्यक्ष शान्ता थोकरले उत्तर अमेरिका तामाङ सम्मेलन गर्ने एजेन्डा अघि सार्दै गतबर्ष जनवरी २७ तारिखमा तयारी बैठक राखेका थिए । त्यो बैठकबाट थोकरकै संयोजकत्वमा २५ सदस्यीय तदर्थ समिति गठन गरिएको थियो । त्यही तदर्थ समितिले उत्तर अमेरिका तामाङ सम्मेलनको लागि आवाश्यकीय ब्यवस्थापन गरेको हो । यो समितिले विधान बनाउने, प्रतिनिधी र पर्यवेक्षक छान्ने र नयाँ नेतृत्व चयन गर्ने छ ।

यो सम्मेलनले नयाँ नेतृत्व कसले गर्दछ भन्दा पनि तामाङहरुको एउटा ऐतिहासिक साझा घर बन्दै छ, जुन घर बनाउनको लागि र यो एकताको सम्मेलनलाई सफल बनाउनको लागि सबै तामाङहरुलाई सम्मेलनमा उपस्थित हुन संयोजक थोकरले आव्हान गरेका छन ।

सम्मेलनमा अमेरिकाका १३ वटा राज्य, नेपाल, जापान र कुवेतबाट सहभागी हुँदैछन । अन्तर्राष्ट्रिय ७ सहित कूल १ सय २४ जना प्रतिनिधिी र १३ जना पर्यवेक्षक सहित १ सय ३७ जना सहभागी हुँदैछन ।

१३ तारिख शनिबारका दिन सम्मेलनको उदघाटन सत्र र दोश्रो दिन बन्द सत्रको कार्यक्रम छ । पहिलो दिन उदघाटनपछि विभिन्न बिषयमा कार्यपत्रहरु प्रस्तुत गरिदै छ । पूर्व राजदुत डा. गणेश योञ्जनले तामाङको सामाजिक, राजनीतिक अवस्थाको बारेमा, भाषाविद अमृत योञ्जनले तामाङ भाषा र लिपीको बारेमा र मिङमार तामाङले तामाङको आर्थिक पक्षको बारेमा कार्यपत्र प्रस्तुत गरिने संयोजक थोकरले जानकारी दिए । दोश्रो दिन बन्द सत्रमा विधान संसोधन गर्ने, १५ सदस्यीय नयाँ नेतृत्व चयन गर्ने र साँझमा साँस्कृत कार्यक्रम डम्फु साँझ आयोजना गरिने छ । डम्फु साँझ साँस्कृतिक कार्यक्रमका लागि नेपालबाट गायक सागर वाइवा न्युयोर्क आईपुगेका छन् । कार्यक्रममा गायक संजोग योञ्जन लगायत स्थानिय कलाकारहरुको प्रस्तुति रहने छ । सम्मेलनको अन्त्यमा ग्लोबल तामाङ कन्फेरेन्स गर्ने अवधारणा सहित न्यूयोर्क घोषणापत्र २०१८ जारी गरिने छ l

प्रकाशित मिति : २८ पुस २०७४, शुक्रबार  ६ : ४३ बजे