राष्ट्रिय वाणिज्य बैंकको ५३ औं वार्षिकोत्सव सम्पन्नः सबै स्थानीय तहमा शाखा पुर्‍याउँदै

२०७४ माघ ११, बिहीबार ०९:१९

शुभप्रभात राई/काठमाडौं

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड यही माघ १० गतेबाट ५२ वर्ष पूरा गरी ५३ औं बर्षमा प्रवेश गरेको छ । यसै अवसरमा वुधबार राष्ट्रिय वणिज्य बैंक केन्द्रीय कार्यलय परीसर, सिंहदरबार प्लाजामा ५३ औं वार्षिकोत्सव सम्पन्न भयो ।

समारोहका प्रमुख अतिथि अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की थिए । सभापति राष्ट्रिय बाणिज्य बैंक लिमिटेड सञ्चालन समितिको अध्यक्ष डा रविन्द्र प्रसाद पाण्डे, विषेश अतिथि नेपाल सरकारका अर्थ सचिव टंकप्रसाद अधिकारी, नेपाल राष्ट्रिय विभागका कार्यवाहक गभर्नर चिन्तनमनि शिवाकोटी, विगत २ बर्षदेखि कार्यकारी प्रमुख अधिकृत किरणकुमार श्रेष्ठ लगायत बैंक सम्वन्धित कार्यकरी कर्मचारीहरु अतिथिको रुपमा उपस्थित थिए ।


कार्यक्रममा अर्थमन्त्री कार्कीले मुलुक संघीय संरचनामा प्रवेश गरिसकेकाले सोही अनुरुप बैंकले सेवा विस्तार गर्नुपर्ने सुझाव दिए । ‘मुलुकको दिगो आर्थिक विकासका लागि कृषि, पर्यटन, जलस्रोत पूर्वाधारमा लगानी बढाउनु आवश्यक छ,’ अर्थमन्त्री कार्कीले भने ।

चालु आर्थिक वर्षमा स्थानीय तहमा नयाँ शाखा र पुनःस्थापना हुनेगरी ४५ नयाँ शाखा खोल्ने सञ्चालन समितिको अध्यक्ष डा पाण्डेले बताए ।

बैंकले तत्कालै १५ शाखा सञ्चालनको तयारी अवस्थामा रहेको र जनशक्ति आपूर्ति हुनासाथ ती शाखा तुरुन्त सञ्चालनमा आउने जनाएको छ । राज्यको पुनःसंरचनापछि अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले ७५३ वटै स्थानीय तहमा बैंकको शाखा सञ्जाल पुर्याउन सबै वाणिज्य बैंकहरुलाई निर्देशन र जिम्मेवारी दिइसकेको छ ।

विसं २०२२ माघ १० गते स्थापना भएको वाणिज्य बैंकले हाल ६९ जिल्लामा १८० शाखा कार्यालय, १३० एटिएम, १७ स्थानमा एक्टेन्सन काउन्टर, ९२ स्थानमा शाखारहित बैंकिङ शाखामार्फत सेवा प्रवाह गरिरहेको छ ।

बैंकले विसं २०७५ असारसम्म थप ४५ शाखा कार्यालय, ७० एटिएम र २० स्थानमा शाखारहित बैंकिङ सेवा सञ्चालन गर्ने तयारी गरेको छ ।

समारोहमा राष्ट्र बैंकका कार्यवाहक गभर्नर चिन्तामणि शिवाकोटीले ७५३ स्थानीय तहमध्ये ३३२ मा मात्र वाणिज्य बैंकहरुका शाखा रहेको बताउँदै सरकारले जनतालाई दिने सेवा सहजतका लागि पनि सबै नेपालीको बैंक खाता हुनुपर्ने धारणा व्यक्त गरे ।

मुलुकभर हाल १४९ बैंक तथा वित्तिय संस्थाका पाँच हजार २६७ शाखा रहेको बताउँदै उनले बैंक तथा वित्तिय सुधारका लागि हालसम्म १५८ बैंक तथा वित्तिय संस्थालाई ४० संख्यामा मर्जर गरिएको जानकारी गराए ।

समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले विसं २०७४ पुस मसान्तसम्म कूल निक्षेप एक खर्ब ४९ अर्ब र कूल कर्जा एक खर्ब १० अर्ब रुपैयाँ पुगेको जानकारी गराउँदै यो वर्ष मात्र बैंकभित्र करिब ५०० नयाँ कर्मचारी भित्र्याइएको र ५७१ कर्मचारी विज्ञापन भई भर्ना प्रक्रियामा रहेको बताए ।

बैंकका ३० लाखभन्दा बढी ग्राहक छन् । बैंकले विसं २०७४ पुससम्म  दुई अर्ब ७४ करोड रुपैयाँ अनुदानसहितको कृषि कर्जा र १७ करोड भूकम्पपीडित कर्जा प्रदान गरिसकेको छ ।

 

सम्बन्धित समाचार